Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको फोहोरबाट ग्याँस र मल उत्पादन हुने स्थानमा धरानको विष्णु स्कुलका विद्यार्थी, फोहोरबाट मल र ग्याँसबाट टेम्पो चल्न थालेछ

हाम्रो कोशी आवाज
असोज २७ २०८०, शनिबार
धरानको फोहोरबाट ग्याँस र मल उत्पादन हुने स्थानमा धरानको विष्णु स्कुलका विद्यार्थी, फोहोरबाट मल र ग्याँसबाट टेम्पो चल्न थालेछ

धरानः धरानको फोहोरबाट ग्याँस र मल उत्पादन हुने गरेको फोहोर प्रशोधन केन्द्रमा धरान–९ स्थित विष्णु मेमोरियल स्कुलका विद्यार्थी अवलोकनका लागि पुगेका छन् ।
फोहोरबाट बायो ग्याँस र मलसमेत उत्पादन गर्ने गरी धरान–६ पानबारीमा निर्माण गरिएको सो स्थानमा पुगेर विद्यार्थीले व्यवहारिक ज्ञान सिकेका हुन् । किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान पनि सिकाउने उद्देश्यले प्रशोधन केन्द्रको भ्रमण गराइएको मावि कोअर्डिनेटर शम्भु रेग्मीले जानकारी दिए । अवलोकनका लागि पुगेका विद्यार्थीले विभिन्न जिज्ञासा राखेका थिए ।
कक्षा–९ का सार्थक निरौलाले ग्याँसबाट टेम्पो चलेको सुनिसकेको र प्रत्यक्ष हेर्न पाउँदा गौरवको महसुस गरेको बताए । उनले पेट्रोलको भाउ अत्याधिक बढेको र यसका लागि यसले केही सहज गर्न सक्ने बताए । कक्षा–९ कै छात्रा सान्भी अग्रवाल र स्वेच्छा आचार्यले विज्ञान विषयको ज्ञान बटुल्न पाएको बताए । स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले व्यवहारिक ज्ञान सिक्न विद्यार्थीहरु केन्द्रमा पुगेको बताए ।
धरान उपमहानगरपालिकाको फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्याँस र मल उत्पादन गर्ने लक्ष्य लिएर सो केन्द्र निर्माण गरिएको भेन्चर वेष्ट टु इनर्जीका प्रविधि प्रमुख हरि उप्रेतीले विद्यार्थीलाई जानकारी दिएका थिए । सो केन्द्रबाट उत्पदित जैविक ग्याँसलाई शुद्धिकरण गरी कम्पोज नेचुरल ग्याँसको रुपमा धरानमा रहेका तीनपाङ्ग्रे सवारी साधन (टेम्पो) मा प्रयोग हुन थालेको उनले जानकारी दिए । हाल प्रशोधन केन्द्रबाट उत्पादित ग्याँस धरानमा चलिरहेका टेम्पोहरूमा प्रयोग हुन थालिसकेको समेत उनले बताए । ‘धरानमा करिब ४ सय ५० टेम्पोमा सिलिण्डरसहितको टेम्पो कुदाउने लक्ष्य राखिएपनि सवारी दर्ताको प्रक्रियाले हाल २५ वटा टेम्पो मात्रै सञ्चालनमा ल्याउन सफल भएका छौं ।’ उनले थपे । यसमा उपमहानगरको कुनैपनि लगानी नभएको उनले जानकारी दिए । उनका अनुसार यसका लागि हिमालयन पेट्रोल पम्प नजिकै खहरे खोलाको छेउमा रिफिल स्टेसन बनाइएको छ ।
भेन्चर वेष्ट टु इनर्जीले धरान उपमहानगरपालिका–६ स्थित पानवारीमा प्रशोधन केन्द्र बनाएको थियो । प्रशोधन केन्द्र धरान उपमहानगरपालिका र प्रालिबीच धरानको फोहर मैला व्यवस्थापनको लागि सम्झौता भएर सञ्चालनमा आएको हो । प्रधानमन्त्री देउवा शेरबहादुर देउवाले सो केन्द्रको उद्घाटन गरेका थिए ।
२० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी प्रशोधन केन्द्र सञ्चालन भइरहेको हो । हाल कम्पनीले पानबारीमा एक बिघा दुई कट्ठा जमिन खरिद गरेर प्लान्ट सञ्चालनमा ल्याएदेखि हालसम्म २७ करोड बढी लगानी भइसकेको कम्पनीका प्रविधि प्रमुख उप्रेतीले जानकारी दिए ।
नेपालकै पहिलो शहरी फोहोर व्यवस्थापनमा निजी सार्वजनिक साझेदारी अवधारणाअनुसार निजी क्षेत्रबाट स्थापित आयोजना हो । हालसम्म धरान नगरको फोहर संकलन गरेर चारकोशे जंगल नजिकै सेउती खोला किनारमा अस्थायी व्यवस्थापन गर्ने गरिएको छ । केन्द्र शु्रु भए पछि फोहर व्यवस्थापनमा भोग्नु परेको समस्याहरु, वाधा र विरोधलाई सजिलै समाधान गर्न सकिने भनिएपनि हाल खोला किनारमै फोहोर असरल्ल छरिएको देख्न सकिन्छ । प्रशोधन केन्द्रमा भने दैनिक ५० मेट्रीक टनसम्म फोहोर व्यवस्थापन गर्न सक्ने क्षमता भएपनि त्यो सम्भव भइरहेको छैन ।
धरानमा दैनिक २० देखि २२ टन फोहोर उत्पादन हुने अनुमान छ ।

प्रकाशित मिति: असोज २७ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend