धरानः धरानमा फूलपाति भित्रयाइएको छ । धरान–१४ स्थित दन्तकाली शक्तिपीठमा पनि बाजागाजाका साथ फूलपाति भित्रयाइएको हो ।
धरान–१४ विजयपुरमा रहेको दन्तकाली मन्दिरमा फूलपाति भित्रयाएसँगै अब सर्वसाधारणको घर–घरमा दशैं भित्रिएको आभाष भएको छ ।
नवरात्रीको सातौं दिन फूलपाति भित्रयाइने गरिन्छ । दन्तकाली शक्तिपीठमा पनि बाजागाजासहितको टोलीले फूलपाति भित्रयाएको छ । नेपालीहरुको फूलपाति भित्रयाएसँगै घर घरमा दशैं भित्रिएको परम्परागत मान्यता रहेको छ ।
शनिबार फूलपातिको रुपमा नौ पत्र अर्थात अशोक, दारिम, धान्य, बेल, केचु, माने, हरिद्रार (बेसार), जयन्ति, कोलालाई विधिवत पूजाआजा गरी फूलपाति भित्रयाइने गरिएको धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।
सम्पूर्ण व्यवस्थापन दन्तकाली मन्दिर व्यवस्थापन समिति र १४ नम्बर वडा समितिले गरेको थियो । नेपाली सेनाको बैण्डबाजा, सशस्त्र प्रहरी, जनपथ प्रहरी, नगर प्रहरीको, भुपु नेपाल प्रहरीहरु, नेपाल स्काउटका टोली, एनसीसी टोली, धिमेवाजाको टोली र धरानका वडाका जनप्रतिनिधिहरु समेत कार्यक्रममा सहभागिता थियो ।
नेपाली सेना समेतको टोलीले दन्तकाली शक्तिपीठबाट बाझागाजासहित पहिला बुढासुब्बामा पुगेर सेनाद्वारा सलामी अर्पण गरेपछि पिण्डेश्वर मन्दिरमा रहेको फूलपातिलाई विधिवतरुपमा पूजाआजा गरेर दन्तकालीमा ल्याएर भित्रयाइएको वडाध्यक्ष भट्टराईले जानकारी दिए ।
मन्दिरका प्रमुख पुजारी विश्वप्रकाश शर्माले नौ पत्र अर्थात् अशोक, दारिम, धान्य, बेल, केचु, माने, हरिद्रार (बेसार), जयन्ति, कोलालाई विधिवत पूजा अर्चना गरी दन्तकालीमा भित्रयाएको बताए । फूलपाति भित्रयाएसँगै दन्तकालीमा सर्वसाधारणले बोका बली दिने प्रचलन छ । दन्तकाली देशभरको शक्तिपीठमध्येको एक हो ।
तस्वीरहरुः लक्ष्मण थापा







