यसरी शुरु भयो हरिबोधनी एकादशी मेला (२५ तस्वीर र भिडियोसहित)
धरानः सुनसरीको प्रसिद्ध धाम बराहक्षेत्र धाममा मेला लाग्न शुरु भएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र मन्दिरमा बिहीबारदेखि हरिबोधिनी एकादशी मेला लागेको हो । प्रत्येक वर्ष बराहक्षेत्र धाममा लाग्ने मेला यसवर्ष यही मङसिर ७ गतेदेखि मङसिर ११ गते पूर्णिमासम्म लाग्ने बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिए ।
मेला भर्नका लागि विशेषतः भारतीय भक्तजनहरुको घुइँचो लाग्ने गरेको उनले जानकारी दिए । बराह भगवानलाई उनीहरुले विशेष मान्ने गरेको उनको भनाइ छ । बिहीबार भारतका विभिन्न स्थान र नेपालका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु आइपुगेका थिए । बिहीबारदेखि नै भारतको बिहारका भक्तजनको ओइरो लागेको उनको भनाइ छ । ‘यसवर्ष भक्तजनको लर्को लाग्यो’, उनले भने, ‘बिहीबार रातिदेखि नै झापा, मोरङ, सुनसरीलगायतका जिल्लादेखि भारतको बिहारसम्मका भक्तजन ओइरिए, विशेषतः भारतका भक्तजन नै बढी आएको पाइयो ।’
कार्तिक पूर्णिमाका अवसरमा भारतबाट भक्तजन ओइरिन्छन् भने र मकर सङ्क्रान्तिका पहाडी समुदायका मानिसहरु मकर नुहाउन पुग्ने गरेका छन् । बराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्वपूर्ण र प्रख्यात तीर्थस्थल मानिन्छ । बराहक्षेत्रमा सालैभर मानिसहरूको आवतजावत र जमघट हुने नै गर्दछ भने विशेषतः कार्तिक पूर्णिमा र मकर सङ्क्रान्तिमा विशेष भीड लाग्ने गर्दछ ।
ब्रहमपुराण, बराहपुराण अनि स्कन्दपुराणमा समेत उल्लेख गरिएको सनातन संस्कारको बहुतै अलौकिक अनि प्राचीन थोरैमात्र धामहरुमा बराहक्षेत्र पनि पर्दछ । महाभारतमा समेत उल्लेख भएको यो पवित्रस्थल नेपालमा अवस्थित सबैभन्दा पुरानो, पवित्र र चर्चित देवस्थलमध्ये एक हो ।
सुनसरीको धरानबाट करिब २५ किमी पर रहेको यस धाम कोकाहा र कौसीका नदीको पवित्र सङ्गम भएको कारण पनि अलौकिक नै छ । बराह अर्थात् सुँगुर, भगवान विष्णुको सुँगुरको अवतार भएको यस ठाँउको अहिलेको मन्दिरको स्वरुप भनें विसं १९९१ सालमा निर्माण गरिएको हो र यस पुर्ननिर्माण जुद्ध शम्शेरको पहलमा गरिएको तथ्य छ ।
बराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यबराह, कोकाबराह र नागेश्वर लगायतका ९ वटा मन्दिर र थुप्रै धर्मशाला छन् । त्यहाँ आजभन्दा करिब १५०० वर्ष अगाडि देखिका मूर्तिहरू पाइएका छन् ।
विशेषतः सडक पहिला नै बनेपछि अहिले भत्किएर केही ठाउँ अप्ठयारो अवस्था हुँदा पनि राज्यले ध्यान दिन नसकेको व्यवस्थापन समितिको गुनासो छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

























