Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तपाईको छाला त ठीक छ ? सही उपचार नपाउँदा थप जोखिम बढ्ला है !

हाम्रो कोशी आवाज
माघ १७ २०८०, बुधबार
तपाईको छाला त ठीक छ ? सही उपचार नपाउँदा थप जोखिम बढ्ला है !

धरानः मानिसको स्वास्थ्यसँगै सौन्दर्य पनि त्यत्तिकै महत्व राख्ने विषय हो । समाजमा हामी छालाका विभिन्न समस्याबाट ग्रसित व्यक्तिहरु देख्ने गर्दछौं । उपचारको लागि भौंतारिनेहरु पनि हुन्छन् । सही परामर्श र उपचार नपाएर छालाको समस्यालाई कम गर्नुको सट्टामा थप समस्या थपिने जोखिम रहेको हुन्छ । छालाका विभिन्न समस्याहरु र त्यसको उपचारको लागि अल्ट्राभाइलेट थेरापीको विषयमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलका छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. मनिष प्रधान संग गरिएको कुराकानीको सार संक्षेपः
सेतो दुवी
डा. मनिष प्रधानका अनुसार छालामा हुने मेलानिनको कमीले गर्दा छालाको रङ्ग, रौंको रङ्गमा फिक्का पन आउने गर्दछ जसलाई सेतो दुवी भनिन्छ । छालामा मेलानिन उत्पादन गर्ने कोषिकाहरु मरेको खण्डमा वा उत्पादनमा कमी भएको अवस्थामा मेलानिन कम हुन जान्छ र सेतो दुवी देखा पर्दछ । यसको आकार विस्तारै बढ्दै जान सक्छ । छालाको रङ्गमा हुने परिवर्तनले गर्दा मानसिक तनाव हुने गर्दछ । उनका अनुसार यो समस्या मानिसको जीवनलाई नै जोखिममा पार्ने प्रकारको समस्या भने होइन तर यसले मानिसलाई मानसिक तनावमा पार्ने गर्दछ ।
एक्जिमा
छालाका अन्य समस्याको बारेमा कुरा गर्दै डा. प्रधानले भने मानिसलाई दुःख दिने अर्काे समस्या भनेको एक्जिमा पनि हो । छाला सुख्खा भई फुस्रो हुने, चिलाउने र सुख्खा पन बढेमा चिलचिलाउने क्रममा पनि वृद्धि भई कनाउँदा कनाँउदा रगत आउनेसम्मको समस्या हुन सक्दछ । एक्जिमा धेरै प्रकारको हुने र विभिन्न कारणहरुले हुन सक्दछ । यो बंशानुगत पनि हुन सक्दछ । कसैमा रोग प्रतिरोधात्मक क्षमता अत्याधिक हुँदा पनि यो समस्या देखा पर्न सक्छ भने वातावरणको कारणले गर्दा पनि हुन सक्छ ।
सिरोयासिस
डा. प्रधानका अनुसार सिरोयासिस छालाको एउटा त्यस्तो समस्या हो जुन मानिसको रोग प्रतिरोधात्मक क्षमतासँग सम्बन्धित छ । रोग प्रतिरोधात्मक क्षमता बढी सक्रिय भएको कारण कोषिकाको वृद्धि सामान्य भन्दा छिटो हुन्छ र यो समस्या भएको मानिसको छालाको रङ्ग रातो वा सेतो हुन्छ, सुन्निएको हुन्छ । यो हात, कुहिना, खुट्टा, ढाड, खोपडीमा देखा पर्दछ र अन्य भागमा समेत हुन सक्छ । सिरोयासिस दीर्धकालीन समस्या हो र केही समय देखा परेर हराउने गर्दछ र केही समयपछि फेरी आउने गर्दछ ।
लाइकन प्लानेस
छालामा दाग आउने, चिलाउने र यो समस्या देखिएको छालाको भाग रातो वा बैगुनी रङ्गको हुने समस्यालाई लाइकन प्लानेस भनिने र यो समस्या लामो समयसम्म हुने डा. प्रधान बताछन् । यो कुनै औषधीको प्रतिक्रियाले वा संक्रमणले हुन सक्दछ । मानिसको रोग प्रतिरोधात्मक क्षमताको अस्वाभाविकपनाले पनि यो हुन सक्दछ । यो एक वर्ष भन्दा बढी समय सम्म रहन सक्ने र आफै हराए पनि फेरी बल्झिने हुन्छ ।
छालाको समस्याको अल्ट्राभाइलेट प्रकाशबाट उपचार
डा. प्रधानका अनुसार सेतो दुवी, एक्जिमा, सिरियोसिस, लाइकन प्लानेस जस्ता छालाको समस्याको लागि अल्ट्राभाइलेट प्रकाशबाट उपचार गर्नु धेरै प्रभावकारी हुन्छ । हुन त अल्ट्राभाइलेट रे भन्दा मानिसहरुमा यो हानीकारक हुन्छ भन्ने लाग्दछ तर यो पद्धतीमा प्रकाशमा भएको हानिकारक रे लाई हटाई फाइदाजनक र सुरक्षित रे को प्रयोग गरी छालाको समस्या भएका मानिसलाई सेक्ने गरिन्छ । अल्ट्राभाइलेट प्रकाशयुक्त सानो कोठा जस्तो क्याविनेटमा मानिसलाई फोटोथेरापी दिने गरिन्छ । यो प्रविधिबाट उपचार गराउने बिरामीलाई हप्ताको दुई दिन थेरापी दिने गरिन्छ । सुरुमा दुई मिनट थेरापी दिइने र त्यसको प्रभाव बढ्दै गई छालाको समस्यामा कमी आउन थालेपछि क्रमश थेरापीको समय कम गर्दै जाने उनको भनाई छ । नोवेलमा उपलव्ध यो प्रविधीले गर्दा छालाका समस्या भएका बिरामीहरुको उपचारमा सहज भएको छ ।
बिरामी दर्तामा शुल्क नलाग्ने, छाला रोग विशेषज्ञबाटै निःशुल्क जाँच र परामर्श हुने, त्यस्तै अल्ट्राभाइलेट प्रविधिको शुल्क पनि सस्तो भएकोले बिरामीहरुलाई उपचारमा धेरै सहुलियत पुग्ने गरेको नोवेल शिक्षण अस्पतालका महाप्रवन्धक दीपेश राईले बताए ।

प्रकाशित मिति: माघ १७ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend