धरानः धरानका सामाजिक व्यक्तित्व तथा धरान सरोकार समाज काठमाडौंका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठको निधन भएको छ ।
‘वादको विवाद नगरौं, धरानको विकास निर्विवाद गरौं’ भन्ने सन्देश बोकेर काठमाडौंमा रहेका धरानेहरु जुटाएर धरानको विकास निर्माणमा हातेमालो गर्ने उद्देश्यले स्थापित धरान सरोकार समाजका अध्यक्ष उनी धरानको विकास निर्माणका लागि दौडधुप गर्ने व्यक्तित्व थिए । उनले धरानको विकास, निर्माणमा सहयोग पुरयाउन धरान सरोकार समाज गठन गरेका थिए ।
मृगौला रोगबाट पीडित उनको सोमबार दिउँसो निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको केही समयअघिदेखि दुवै मिर्गौला खराब भएको चिकित्सकले जानकारी दिएका छन् । धरान–२ पुरानो बजारस्थित आफ्नै निवासमा मृगौलाको डायलासिस गराइरहेका उनी घरमै लडेपछि उनको टाउकोमा चोट लागेको र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । उनको उपचारका क्रममा निधन भएको स्थानीय सौरभ श्रेष्ठले जानकारी दिए ।
आर्थिक, भौतिक, सामाजिक हिसाबले उनी धरानको विकासका लागि काठमाडौंमा बसेरै भएपनि चाँजोपाँथो मिलाउने गर्दथे । धरानमा एडिबी खानेपानी योजना ल्याउन उनले नै भूमिका निभाएका थिए । यस्तै, धरानमा मालपोत कार्यालय ल्याउन पनि उनको ठूलो हात छ ।
यस्तै, धरानमा सिटी हस्पिटलको खोल्नका लागि उनले प्रक्रियाका लागि दौडधुप समेत गर्दै आएका थिए । धरानमा निम्न वर्गका सर्वसाधारणले उपचार सहज होस् भनेर उनी सो हस्पिटल निर्माण अभियानमा जुटेका थिए । सिटी हस्पिटलका लागि १० करोडको योजना बनेको उनको भनाई छ ।
उनलाई सबैले ‘प्रभु दाइ’ भनेर सम्बोधन गर्दथे । अत्यन्तै मिलनसार, सबैलाई मिलाउन सक्ने क्षमता भएका उनी जहिल्यै धरान सोंचेर हिँडिरहेका भेटिन्थे । धरानका मेयर, सांसद वा ठूला नेतालाई भेटेर धरानको बारेमा चिन्ता व्यक्त गरिरहने उनको धरानको खेलकुदको विकासमा पनि योगदान रहँदै आएको छ । उनी यसअघि राष्ट्रिय खेलकुद परिषद्को सदस्य, टेबलटेनिसको राष्ट्रिय कोच, धरान जेसीज १९८१ मा अध्यक्ष समेत भइसकेका उनी धरानको विकासका लागि मरिमेट्ने गर्दथे ।
अलविदा सबैका प्रभु दाइ !