धरानः ट्राफिक चाप बढ्दै जाँदा इटहरीमा आधुनिक बसपार्क निर्माण सुरु भएको छ । इटहरीको पुरानो बसपार्क क्षेत्रमै नगर विकास कोषसँगको साझेदारीमा बसपार्क निर्माण सुरु भएको हो ।
बसपार्कको शिलान्यास भएको हो । २०८२ असारसम्ममा निर्माण सम्पन्न हुने बसपार्क बन्दै गरेको वडाका वडाध्यक्ष जितेन्द्र थापाले बताए । ठेकेदारले समयमै काम नसक्ने गरेको भन्दै इटहरी प्रमुख हेमकर्ण पौडेलले तोकिएकै समयमा निर्माण सक्न निर्माण कम्पनीलाई निर्देशनसमेत दिएका छन् ।
बसपार्क निर्माणका लागि ९ करोड ४८ लाख ८३ हजार ५ सय ५६ रुपैयाँमा ठेक्का लगाइएको छ । इटहरी उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर व्यवस्थित बसपार्क बनाउन लागेको हो । झण्डै दुई दशकअघि निर्माण भएको बसपार्क अव्यवस्थित भएका कारण नमुना बसपार्क निर्माणको काम सुरु भएको नगरप्रमुख पौडेलको भनाइ छ ।
बसपार्क निर्माणमा नगर विकास कोष काठमाडौंको ७० प्रतिशत र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ । उपमहानगरपालिका इन्जिनियर जीवन घिमिरेका अनुसार एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लो तलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतिक्षालय, सभाहल, रेस्टुरेन्ट रहनेछन् ।
१८ महिनाभित्र बसपार्कको निर्माण पूरा हुनेछ । ५० वटा बस अट्ने क्षमताको बसपार्क बनाइन लागेको उपमहानगरपालिकाले जनाएको छ ।