इटहरीः विद्यार्थीबीच बढ्दै गएको असमानता मध्यनजर गरेर इटहरी उपमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोशाक लागू गर्ने भएको छ ।
नयाँ शैक्षिक सत्रका लागि अभिभावकले विद्यालय पोशाक खरिद गर्ने बेला इटहरी उपमहानगरले यस्तो निर्णय लिएको हो । इटहरीमा १३४ निजी र ३६ सामुदायिक गरी १७० वटा विद्यालय छन । ६३ हजार ५ सय २६ विद्यार्थी एउटै पोशाकमा विद्यालय जानेछन् । नगर शिक्षा समिति इटहरीले विद्यार्थीको पोशाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउन यस्तो निर्णय गरेको हो ।
इटहरीभित्रका निजी तथा सबै सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीले एकैखालको पोशाक लगाउनुपर्ने गरी नियम बनाएका छौं,’ इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले भने ।
विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने निर्णय गरेको हो । अब इटहरीका विद्यालयमा टाइ देख्न पाइने छैन । ‘पोशाक देखेर इटहरीका विद्यालयको विद्यार्थी रहेछ भनेर सबैले चिनून् भन्ने उद्देश्य पनि हो,’ उपमहानगरका प्रमुख पौडेलले भने, ‘निजी स्कुलहरुले ड्रेस पनि बढी मूल्यमा आफ्नै स्कुलबाट बिक्री गर्ने गरेका छन् त्यो रोक्ने हाम्रो अभियान पनि हो ।’
उपमहानगरका कर्मचारी र जनप्रतिनिधिहरुको छोरा छोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरेको हो । स्कुलहरुले आफ्नो लोगो भने राख्न पाउँछन् । निजी स्कुलहरुमा मोचा टाइ समेत बित्रीm गर्ने गरेको भन्दै त्यो रोक्न कदम चालिएको हो । विद्यालय मातहतमा कुनै स्टेशनरी बेच्न नपाइने र भर्ना शुल्क वापत एक पटक लिएपछि सो विद्यालयमा पढ्ने बिधार्थी वापत पटक पटक कक्षा चड्दा भर्ना शुल्क लिन नपाइने भएको हो ।
विद्यालय आफैंले किताब बेच्न नपाउने विद्यालय आफैले किताब बेच्ने गरेको गुनासो बढेपछि इटहरी उप महानगरपालिकाले विद्यालय आफैले किताब बेच्न नपाउने निर्णय गरेको छ । विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री–वितरण गर्न रोक लगाएको हो । बैठकले उप महानगरभित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो निर्णय गरेको मेयर हेमकर्ण पौडेलले बताए । विद्यालय आफैले किताब तथा स्टेशनरी राखेर बिक्रि गर्ने प्रतिबन्ध गरिएको मेयर पौडेलको भनाई छ ।