Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा सुटुक्क गर्न खोजेको सिनेट बैठक स्थगित

हाम्रो कोशी आवाज
माघ २९ २०८०, सोमबार
धरानको बीपी प्रतिष्ठानमा सुटुक्क गर्न खोजेको सिनेट बैठक स्थगित

धरानः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज (सोमबार)का लागि बोलाइएको सञ्चालक परिषद्को ४५ औँ सभा (सिनेट) स्थगित भएको छ।
प्रतिष्ठानका पदाधिकारीबीचको विवाद छताछुल्ल भएपछि प्रतिष्ठानका कायममुकायम उपकुलपति प्राडा प्रह्लाद कार्कीले गए राति सिनेट अनिश्चितकालका लागि स्थगित भएको सूचना जारी गरेका हुन्।
स्वास्थ्य मन्त्रालयमा सोमबार बिहान ११ बजे बस्ने गरी कार्कीले सिनेट बोलाएका थिए। तर, त्यसप्रति प्रतिष्ठानका रजिस्ट्रार प्राडा सूर्यप्रसाद संग्रौलासहितका पदाधिकारीले विमति जनाएका थिए।
रजिस्ट्रार संग्रौलाले आइतबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई पत्र लेखेर प्रतिष्ठानका कायममुकायम उपकुलपति कार्कीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
उनले सिनेटको एजेन्डाबारे आफूलाई कार्कीले केही जानकारी नगराएको र आफ्नो अख्तियारी एक महिनाअघि नै खोसिदिएको गुनासो पनि संग्रौलाले गरेका थिए। सदस्यसचिवका हैसियतमा आफूले पाउनुपर्ने जानकारी नै नपाएकाले कार्कीले एकमना शैलीमा बोलाएको सिनेट बैठकले वैधता नपाउने संग्रौलाको तर्क थियो।
कार्कीले बढुवासहितका माग राखेर एक महिनादेखि प्रदर्शनरत प्रतिष्ठानका शिक्षक तथा कर्मचारीसँग शनिबार हतारहतार ६ बुँदे सम्झौता गरेर आजको लागि सिनेट आह्वान गरेका थिए।
प्रतिष्ठानमा भएको आर्थिक अनियमिततालाई वैधता दिन कार्कीले हतारहतार सिनेट बोलाएको भन्दै चौतर्फी आलोचना भएको थियो।
प्रतिष्ठानको कार्यकारिणी समितिका सम्पूर्ण सदस्यलाई पत्र पठाउँदै कार्कीले आजको लागि बोलाइएको सिनेट स्थगित भएको सूचना दिएका छन्। पत्रमा सहकुलपति स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा सिनेट स्थगित गरिएको उल्लेख छ।
‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालक परिषद्को ४५ औँ सभाको बैठक मिति २०८० माघ २९ गते सोमबार बिहान ११ बजे बस्ने तय भएकोमा विशेष कारणवस अर्को मिति तय नहुन्जेल उक्त बैठक स्थगन भएको व्यहोरा सहकुलपतिज्यूको निर्देशानुसार जानकारीको लागि अनुरोध छ,’ कार्कीले पठाएको पत्रमा भनिएको छ, ‘यसबाट पर्न गएको असुविधाका लागि हार्दिक क्षमाप्रार्थी छु। यहाँहरूको सदैव सहयोगको अपेक्षासहित धन्यवाद ज्ञापन गर्न चाहन्छु।’

प्रकाशित मिति: माघ २९ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend