Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘धरान एक्स्पो-२०८०’ शुरु, पर्यटनमन्त्रीले गरे उद्घाटन

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०८०, शुक्रबार
‘धरान एक्स्पो-२०८०’ शुरु, पर्यटनमन्त्रीले गरे उद्घाटन

धरानः ‘धरान एक्स्पो–२०८०’ सुरु भएको छ । सुनसरी उद्योग वाणिज्य संघले आयोजना गरेको एक्स्पोको शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले उद्घाटन गरेका हुन् ।
एक्स्पोलाई सम्बोधन गर्दै मन्त्री किराँतीले धरान पर्यटनको केन्द्र बन्ने क्रममा रहेको बताए । उनले धरानलाई पर्यटनको केन्द्रका रूपमा विकास गरी स्वदेशी उत्पादनको बजारीकरणको केन्द्र बनाउन सकिने बताए । मन्त्री किरातीले पर्यटनको विकासबाट आर्थिक क्रियाकलापमा अभिवृद्धि गरी रोजगारी सिर्जना हुने समेत बताए । ‘यसले गरिबी निवारण, क्षेत्रीय विकास तथा आर्थिक वृद्धि हासिलमा सहयोग पुग्नेछ,’ उनले भने ।
कोशी प्रदेश भरिका उद्योगी व्यवसायीलाई आमन्त्रण गरी सुरु गरिएको धरान एक्स्पोमा प्रदेशका स्वदेशी उत्पादनहरूसहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवद्र्धन एवं विकासमा जोड दिनुका साथै यस क्षेत्रका आर्थिक गतिविधिहरूलाई गतिशील बनाउने उद्देश्य रहेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । एक्स्पोले आर्थिक क्षेत्रको गतिविधिहरूको सम्वर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यस्तै, उद्घाटन समारोहमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पर्यटन मन्त्री किराँतीलाई धरानमा एयरपोर्ट बनाउन पहल गरिदिन आग्रह गरे । मेयर साम्पाङले धरान उपमहानगरपालिका–१७ मा हवाई मैदान निर्माणका लागि यती इन्करपोरेटेड प्रालिबाट जग्गा खरिद गरी हालसम्म एयरपोर्ट निर्माण नभएको गुनासो पोखे ।
रैथाने (सुनसरी र धरान क्षेत्रका), नेपाल, भारत, बंग्लादेश र पाकिस्तानका गरी एक सय स्टल प्रदर्शनी भइरहेको एक्स्पोमा बाल उद्यान, मनोरञ्जनका लागि रेटेपिङ, नाउ लगायत खेल सामग्री सञ्चालन गरिएको छ । साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमबाहेक एक्स्पो अवधिभर ‘स्वरोजगार तालिम’ र ‘पर्यटन गोष्ठी’ आयोजना गरिने आयोजकले जनाएको छ ।
एक्स्पोमा बिहानदेखि बेलुका ४ बजेसम्म प्रवेश नि:शुल्क हुने र बेलुका ५ बजेपछि प्रवेश टिकट १०० देखि २०० रुपैयाँसम्म रहने बताइएको छ । एक्स्पोमा १५० वटा स्टल राखिएको छ। ५ लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा  छ । फागुन २३ गतेसम्म सञ्चालन हुने एक्स्पोबाट धरानको व्यापार व्यवसाय सञ्चालनमा थप सहयोग पुग्ने आयोजकले जनाएको छ।

 

 

 

प्रकाशित मिति: फाल्गुन ११ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend