Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान एक्स्पोले व्यवसायी उत्साहित

हाम्रो कोशी आवाज
फाल्गुन २२ २०८०, मंगलबार
धरान एक्स्पोले व्यवसायी उत्साहित

धरान: स्थानीय उत्पादन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको धरान एक्स्पोमा रु नौ करोडको कारोबार भएको छ । यही फागनु ११ गतेदेखि सुरु भएको एक्स्पोमा आजसम्ममा रु नौ करोडको कारोबार भएको र एक लाख पाँच हजारजनाले अवलोकन गरेका सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र प्रधानले जानकारी दिए ।
गत वर्षको तुलनामा यसपटकको एक्स्पोमा व्यापार–व्यवसायमा विविधता रहेकाले सहभागीहरु पनि उत्साहित बनेको महासचिव प्रधानले बताए । उनले भने, “यसपटक स्थानीय कृषि उत्पादनदेखि देश–विदेशका औद्योगिक उत्पादनसम्म समेटिएकाले व्यापारी र ग्राहक दुवै सन्तुष्ट रहेको पाएका छौँ ।”
एक्स्पोमा स्थानीय रुपमा उत्पादित स्ट्रबेरी, किबी, बेसार र साबुनका स्टल राखिएका छन् । त्यसैगरी, धरानको खेल पर्यटनलाई प्रवद्र्धन गर्न जिपलाइनदेखि प्याराग्लाइडिङ र विभिन्न खेल समावेश गरिएका थिए । त्यसैगरी, विभिन्न खानेकुरा, नर्सरी, गाडी र मोटरसाइकलका स्टलहरु एक्स्पोमा राखिएका छन् । व्यापारमा विविधतासँगै व्यवसायीहरु पनि उत्साहित भएका छन् ।
विराटनगरबाट साबुनको व्यापार गर्न आएका व्यापारी मदन मास्के धरान एक्स्पोमा राम्रो व्यापार भइरहेकामा उत्साहित रहेका छन् । धेरै वर्षअगाडि देखि मार्केटिङको काम गर्दै आएका उनले अहिले धरान एक्स्पोमा बम्पर अफरसहित साबुन र सर्फ बिक्री गरिरहेका छन् ।
उनको स्टलमा निकै भीड लाग्ने गरेको छ । एक्स्पोमा तीनजना स्टाफ राखेर व्यापार गरिरहेका उनी खुसी हुँदै भन्छन्, “एक दर्जन कपडा धुने साबुन किन्दा एक दर्जन साबुन निःशुल्क दिएको छु, सर्फ पनि एक प्याकेट किन्दा एक प्याकेट सित्तैमा दिएको छु । त्यसो गर्दा मेरो स्टलमा राम्रो व्यापार भइरहेको छ ।”
उनले दैनिक रुपमा रु एक लाखदेखि एक लाख ८० हजारसम्मको व्यापार गर्दै आएको बताए । धरान एक्स्पोमा जुम्लाबाट अर्ग्यानिक स्याउ लिएर आएकी गङ्गादेवी राउत पनि व्यापार राम्रो भइरहेको बताउँछिन् । दश वर्षअगाडि देखि यसरी नै प्रत्येक हाटबजार र उत्सवतिर गएर व्यापार गर्दै आएको राउत धरान एक्स्पोमा सोचेभन्दा राम्रो व्यापार भएको बताउँछिन् ।
दैनिक ४० देखि ५० हजारको स्याउ बिक्री भइरहेको बताउँदै उनी भन्छन्, “धेरै ठाउँमा व्यापार गर्दै आएकी छु तर अहिले धरानमा जस्तो व्यापारमा उत्साहित चाहिँ पहिला कहिले भएकी थिइनँ ।” उनले एक्स्पोमा जुम्लाबाट ल्याएको अग्र्यानिक स्याउ, मार्सी चामल, गहुँको चामल, सिलाजित, दाललगायत जुम्लाका स्थानीय उत्पादन बेचिरहेकी छन् ।
यही फागुन २३ गतेसम्म सञ्चालन हुने धरान एक्स्पोमा पाकिस्तान, भारतलगायत देशका विभिन्न उत्पादन पनि बिक्री भइरहेका छन् । रोटे पिङलगायत खेलका साथै हरेक साँझ साङ्गीतिक कार्यक्रम पनि भइरहेको छ । विगतको वर्षभन्दा यसपटकको एक्स्पो कारोबारका हिसाबले राम्रो रहेको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले बताए ।
उनले भने, “धरानभित्र र कोशी प्रदेश क्षेत्रका उत्पादनसँगै देशका अन्य जिल्लादेखि विदेशका समान पाइने भएकाले एक्स्पोले ग्राहकका लागि आवश्यक पर्ने सबै कुरा एकै ठाउँमा जुटाइदिएको छ । त्यसैले पनि ग्राहक र व्यापारी दुवै उत्साहित छन् ।”

प्रकाशित मिति: फाल्गुन २२ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend