विराटनगरः मोरङको पथरीशनिश्चरे-७ लामाटोलीस्थित शौचालय गएकी १५ वर्षीया किशोरी ज्ञानमति थुलुङ राईको हत्याका आरोपी पक्राउ परेका छन् ।
मोरङ ग्रामथान गाउँपालिका घर भई बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई मंगलबार पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
पक्राउ परेका उनलाई प्रहरीले सार्वजनिक गरेको छ । राईको हत्या आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका घर भई मोरङ ग्रामथान गाउँपालिका बस्ने ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । हत्यापछि फरार बनेका उनलाई बेलबारीस्थित भाउन्नेको जङ्गलबाट सोमबार राति २ बजे पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिए ।
हत्या आरोपमा पक्राउ परेका चौधरी र राई डेढ वर्षदेखि माया प्रेममा रहेको प्रहरीले जनाएको छ । किशोरीको परिवारले चौधरीसँग विवाह नगरिदिने बुझेपछि हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए । चौधरी विवाहित हुन् । उनका श्रीमती चार वर्षदेखि कतारमा रोजगारमा रहेका छिन् । श्रीमतीसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक सञ्जालमार्फत किशोरीसँग चिनजान र नजिकिएको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए । किशोरीको परिवारले विवाह गर्न नमान्दा उनको हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।
‘चौधरी र राईबीच डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेछ । केटीको परिवारले विवाह नगरिदिने बुझेपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ एसपी कार्कीले भने । पक्राउ परेका चौधरीको १४ वर्षको छोरा रहेको छ । एकपटक भारत जान लाग्दा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाले नियन्त्रणमा लिएर उनीहरूलाई परिवारको जिम्मासमेत लगाएको थियो ।
उनले घटनामा आफ्नो संलग्नता स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । खोटाङको ऐंसेलु खर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया राईको सोमबार राति निर्मम तरिकाले हत्या गरिएको थियो । ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएको खुलेको प्रहरीको भनाइ छ
‘उनी पथरीमा हत्या गरेर हिँड्दै बेलबारीको भाउन्ने आएका थिए । बालिकालाई धारिलो हतियार प्रहार गर्दा लगाएको कपडासमेत उनले फेरेर भाग्दै रहेछन्,’ उनले भने, ‘मध्यरातमा एक्लै हिँड्दै गरेको देखेपछि सोधीखोजी गर्दा उनी हत्यामा संग्लग्न रहेको पुष्टि भएको हो ।’
चौधरीको साथमा ६ हजारभन्दा बढी रकमसमेत फेला परेपछि थप प्रमाण जुटेको उनले बताए । उनी कक्षा ७ मा अध्ययरत थिइन् । उनी मामाको घरमा बसेर पढ्दै गरेकी थिइन् । उनका बुबा दानबहादुर राईको निधन भएको थियो ।
मृतक बालिकाको नाममा फेसबुक, इन्स्टाग्राम, इमो लगायतमा आफै एकाउण्ट बनाई चौधरीले चलाउने र सोही माध्यमबाट बालिकालाई दुःख दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।