संखुवासभाः संखुवासभाको खाँदवारी नगरपालिका–११ घर भई खाँदबारी नगरपालिका–७ मा बस्दै आएका ३१ वर्षीय मंसिरे शेर्पालाई बिनाकुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
सिलिचोङ गाउँपालिका–२ घर भई लिभिङ टुगेदरमा शेर्पासँगै बस्दै आएकी २६ वर्षीय बिनाकुमारी राई र शेर्पाबीच फागुन १८ गते घरायसी विषयमा वादविवाद हुँदा रिसको आवेगमा शेर्पाले मृतक राईलाई जथाभावी कुटपिट गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाएलगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले आरोपित शेर्पालाई खोजतलास गर्ने क्रममा फागुन २४ गते संखुवासभा नगरपालिका–७ को एक घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका शेर्पाको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।