Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-भोजपुर सडकमा दुर्घटनाः बाँचेकाहरु भन्छन् ‘कोचाकोच यात्रु, खराब सडकमा हल्लिएको गाडी कुदाइरहँदा दुर्घटना भयो’

हाम्रो कोशी आवाज
चैत्र २ २०८०, शुक्रबार
धरान-भोजपुर सडकमा दुर्घटनाः बाँचेकाहरु भन्छन् ‘कोचाकोच यात्रु, खराब सडकमा हल्लिएको गाडी कुदाइरहँदा दुर्घटना भयो’

धरानः नन्दहरुसँग भेटघाट र घुमघामका लागि भोजपुरको हतुवागढी गाउँपालिका–५ की कुलबुङ राई आफ्ना श्रीमान् किसन राईसँगै फागुन २३ गते इटहरी झरेकी थिइन् ।
रमाइलो भेटघाट र घुमघाम सकेपछि बिहीबार इटहरीबाट बोलेरो जीप चढेर घर फर्किने क्रममा उदयपुरको मैनामैनीमा दुवैजना दुर्घटनामा परे । श्रीमान् श्रीमती दुवै घाइते भएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । उपचारका क्रममा उनका श्रीमान् किसनको निधन भयो । हात खुट्टा र छातीमा चोट लागेर सख्त घाइते कुलबुङको भने प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रतिष्ठानको आकस्मिक कक्षको शैयामा उपचाररत उनले भनिन्, ‘सवारी साधनभरि यात्रु थिए, एक्कासी गाडी तल झरयो । सडक नै खराब भएकाले यस्तो घटना हुन पुग्यो । मैले श्रीमान गुमाउन पुगें ।’
उनीजस्तै भोजपुर हतुवागढीका १७ वर्षीय सुनिल परियार काकाको बिहे भोज खान आमासँगै फागुन २१ गते उदयपुरको रामपुर झरेका थिए । बिहे सकेर बिहीबार बिहान घर फर्किने क्रममा उनी पनि दुर्घटनामा परे । उनकी आमा ३१ वर्षीया सबिना परियारपनि घाइते भइन् । दुवै आमाछोराको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
घाइते सुनिलका अनुसार सवारी चालकसमेत गरी अगाडीको सिटमा ४ जना अटिनअटी बसेका थिए । पछाडि पनि यात्रु टनाटन थिए । ‘म सवारी साधनको अन्तिम सिटमा बसेको थिएँ । धुलैधुलो र खाल्डाखुल्डी भएको बाटोमा गाडी तीन चार पल्ट हल्लिए जस्तो भयो ।’ उनी घटनाबारे सुनाउँदै भन्छन्, ‘त्यसरी बोलेरो गाडी हल्लिँदै सडकबाट झर्न खोजिरहेको थियो तर चालकले त्यसमा ध्यान नदिइ गाडी हाँकिरहेका थिए । एकैछिनमा गाडी खस्यो । त्यसपछि मैले चाल नै पाइनँ ।’
घटना सपना जस्तै लागिरहेको भन्दै उनले होस आउँदा आफू भीरमुनि बारीको कान्ला जस्तो ठाउँमा रहेको थाहा पाएको बताए । उनी भन्छन्, ‘म होशमा आउँदा त आमा पनि मेरो छेऊमा घाइते हुनुभएको रहेछ । आफू घाइते भएपनि आमाले मलाई बोलाइरहनु भएको रहेछ ।’
दुर्घटनामा सुनिलको एउटा खुट्टा भाँच्चिएको छ भने आमा सविनाको खुट्टा र निधारमा गहिरो चोट लागेको छ । घाइते सुनिल अहिले मैनामैनीको बाटो सम्झिँदा नै डर लागिरहेको बताउँछन् । उनी भन्छन्, ‘सडक राम्रो भएको भए, सायद यस्तो दुर्घटना हुँदैनथ्यो । हामी घाइते हुँदैनथ्यौ अनि अरुले पनि ज्यान गुमाउनु पर्दैनथ्यो ।’
बिहीबार उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । सुनसरीको धरानबाट भोजपुरको घोडेटारतर्फ जाँदै गरेको को१ज २५९३ नम्बरको बोलेरो मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर अचानक दुर्घटना हुँदा बोलेरोमा सवार रहेका चालक हतुवागढी गाउँपालिका–२ का ४२ वर्षीय मानबहादुर बस्नेत, हतुवागढी गाउँपालिका–२ की ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, चन्द्र प्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका–९ का ६८ वर्षीय पदमबहादुर थापा, हतुवागढी गाउँपालिका–५ की ३० वर्षीया रामकुमारी राई, र सुनसरीको इटहरीका ४५ वर्षीय कमल अधिकरीको घटनास्थलमै मृत्यु भएको थियो ।
यस्तै, हतुवागढी गाउँपालिका–५ का ४२ वर्षीय किसान राईको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो । सो दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका–५ का ३७ वर्षीय विशेष पराजुली, आमचोक गाउँपालिका–६ भोजपुरकी २० वर्षीया मिनु राई, सोही स्थानकी ३६ वर्षीया सावित्रा राई, हतुवागढी गाउँपालिका–२ की ३२ वर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका–१ का १७ वर्षीय सुनिल परियार, सोही स्थानकी १७ वर्षीया सविना परियार, इटहरी–१७ सुनसरीकी ३४ वर्षीया गायित्री कट्वाल, उनकै ८ वर्षकी छोरी निकिता कटवाल र इटहरी–१७ की २९ वर्षीया रमा थापाको उपचार भइरहेको छ ।
सडकको अवस्था
भोजपुरको दक्षिणी क्षेत्रका बासिन्दाका लागि तराईका जिल्लाहरुमा आउजाउ गर्ने छोटो दुरीको यो सडक निक्कै अफ्ठ्यारो छ । सुनसरीका धरान वा इटहरीबाट चतराघाट हुँदै कोशीपुल तरेर उदयपुरको कोठूबाट सप्तकोशी नदी पारिको भीरको यो बाटो मैनामैनी दुधकोशी किनारको चुहारसम्म पुग्छ । चुहारमा २ वर्षमा सक्ने गरी पक्कीपुलको ठेक्का लागेको तीन वर्ष हुँदा समेत आधा काम पनि सकिएको छैन । पक्की पुल नभएपछि तराईबाट भोजपुर जाने गाडी उदयपुरको चुहार पुलवारिसम्म मात्र पुग्छन् । भोजपुरका वासिन्दाले दुधकोशीको झोलुङ्गे पुल तरेर फेरि अर्को गाडीमा चढ्नपर्छ गन्तव्यमा पुग्न ।
चुहार पुल समयमा नबनेपछि त्यहाँसम्म पुग्ने कच्ची सडकपनि राम्रोसँग बन्न सकेको छैन । भएको कच्ची सडक पनि खाल्डाखुल्डी र धुलोले अस्तव्यस्त छ । त्यही अस्तव्यस्त सडकमा पुराना जीप र बोलेरोमा टनाटन यात्रु कोचेर ल्याउने लैजाने गरिएको व्यवसायी रमेश हतुवाली बताउँछन् । दुर्घटना थाहा पाउने बित्तिकै एम्बुलेन्स लिएर घटनास्थल पुगी उद्धार गरेर घाइतेलाई अस्पताल पुरयाएका व्यवसायी हतुवाली सडक र पुलका विषयमा पटक पटक आवाज उठाउँदा पनि सुनुवाई नहुँदा अहिले यस्तो दुर्घटना भोग्नु परेको बताउँछन् । चुनावका बेला चुहारमा पक्की पुल बनाउने विषय र यो सडकको विषयलाई प्रमुख एजेन्डाका रुपमा प्रस्तुत गर्ने दल र नेताहरुले ठेकेदारले लापरबाही गर्दा समेत ध्यान नदिएको उनको गुनासो छ । ‘यो क्षेत्रमा सडकको दुरावस्था छ, त्यसमाथि पुराना गाडीमा भरिभराउ यात्रु हालेर कुदाउने चलन छ । यो अवस्था सुधार नगर्ने हो भने अझै दुर्घटनाको सम्भावना उत्तिकै छ ।’ उनी भन्छन् ।
चुहारमा पक्की पुल निर्माण भए विशेषगरी भोजपुरको दक्षिणीभेगमा पर्ने हतुवागढी, रामप्रसाद राई र आमचोक गाउँपालिका तथा खोटाङको साकेला गाउँपालिकाका बासिन्दाका लागि तराईका जिल्ला आवतजावत गर्न आधा दुरी छोटिन्छ । दक्षिण भोजपुरको केन्द्र घोडेटारबाट चतरा हुँदै धरान आइपुग्न ५९ किलोमिटर दुरी पर्छ । त्यस्तै, भोजपुर सदरमुकामबाट घोडेटार, चतरा हुँदै धरान आइपुग्न ९५ किलोमिटर पर्छ । तर घोडेटार बजारबाट भोजपुर सदरमुकाम, धनकुटा हुँदै धरान आइपुग्न करिब २ सय किलोमिटर यात्रा गर्नु पर्छ ।
दक्षिण भोजपुरका वासिन्दालाई सुविधा पुरयाउने उद्देश्यले कोशी प्रदेश सरकारले गौरवको योजना अन्तर्गत २०७७ सालमा चुहार पुलको ठेक्का लगाएको थियो । २०७७ असोज २६ मा प्रदेशका तत्कालीन मुख्यमन्त्री शेरधन राईबाट शिलान्यास भएको चुहार पुल दुई वर्षभित्र अर्थात् २०७९ कात्तिकसम्ममा निर्माण सम्पन्न गर्ने गरी कालिका प्यासिफिक जेभीले २१ करोड २३ लाख १२ हजार चार सय सात रुपैयाँमा ठेक्का पाएको थियो ।
तोकिएको समयमा पुल निर्माण नभएपछि २०७९ चैत ६ गते कोशी प्रदेश सभा सदस्य सिर्जना राई, पूर्व मुख्यमन्त्री शेरधन राई, यातायात पूर्वाधार निर्देशनालय इटहरीका निमित्त प्रमुख जितेन्द्रकुमार कर्ण, ठेकेदार कम्पनीका प्रतिनिधि ठाकुरप्रसाद कँडेललगायतका सरोकारवालाहरूबीच भएको बैठकले चार बुँदे निर्णय गर्दै २०८० असोज १३ सम्ममा काम सक्ने गरी तत्काल निर्माण अघि बढाउने सहमति गरेको थियो । तर दोस्रो पटकको म्याद पनि सकिएपनि पुल अलपत्र अवस्थामा छ ।

प्रकाशित मिति: चैत्र २ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend