धरानः संखुवासभाको सभापोखरी गाउँपालिका–२ ज्यामिरेमा खुकुरी प्रहरबाट एकजनाको मृत्यु भएको छ ।
स्थानीय विक्रम राईको घरमा धामी राखेको ठाउँमा गएका स्थानीय २९ वर्षीय रविन चाम्लिङ राई र २६ वर्षीय सहनसिंह राईबीच आपसी विवाद शुरु भएको थियो । उनीहरु साथी रहेको प्रहरीले जनाएको छ ।
विवादका क्रममा सहनसिंह राईले रविन चाम्लिङ राईमाथि धारिलो हतियार खुकुरी प्रहार गरेका थिए । उनी रविनलाई घाइते बनाई फरार समेत भएका थिए । खुकुरी प्रहार हुँदा शरीरको विभिन्न भागमा चोटपटक लागेर गम्भीर घाइते बनेका रविनको जिल्ला अस्पताल संखुवासभामा उपचारपश्चात् थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी धुपुबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न सहनसीललाई पक्राउ गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।