धरानः फाल्गुनन्द गाउँपालिका सिलौटीमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको शालिक नराख्न किराती समुदायले माग गरेका छन् ।
पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं. २ र ३ तथा फिदिम नगरपालिका वडा नं. ३ को संगमस्थल सिलौटीमा राष्ट्रिय विभूति फाल्गुनन्दको शालिक सो क्षेत्र संरक्षण गर्दै आएका किराती समुदायले माग गरेका हुन् ।
राष्ट्रिय विभूति एवं किराँत धर्मका महागुरु फाल्गुनन्दको समाधिस्थल उत्खनन गर्ने क्रियाकलाप आपत्तिजनक जनाउँदै उनका अनुयायीहरुको एक समूहले विरोध समेत जनाएको छ ।
किरात धर्म सत्यहाङमा सेवा संघले पाँचथरको सिलौटीस्थित किरात धार्मिकस्थलमा आत्मानन्द लिङदेनको समूहले अनाधिकृतरुपले अतिक्रमण गरेको घटना सहय नहुने पनि सरोकारवालाहरुको चेतावनी छ । संघले अदालतबाट परमादेश जारी भएको अवस्थामा त्यहाँको एक समूहले सरोकारवालाहरुसँग समन्वय र छलफल नगरी एकतर्फी ढङ्गले समाधिस्थल उत्खनन गरेको भन्दा न्यायका लागि अदालत गएको उल्लेख गरेको छ । समाधिस्थल उत्खनन वा अतिक्रमणको घटना प्रचलित संविधान र कानुनविपरीत भएकोले त्यसलाई रोक्नु राज्यको दायित्व भएको पनि जिकिर गरेको छ ।
सिलौटीस्थित महागुरुको समाधिस्थलको अतिक्रमण वा उत्खननविरुद्ध आफूहरु कानुनी उपचारका लागि अदालत गएको पनि संघले जनाएको छ । यसअघि पटक पटक विवाद भई पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङग्रातीको संयोजकत्वमा बनेको समितिको निर्णयलाई कदर गर्न उच्च अदालतले समेत परमादेश जारी गरेको अवस्थामा पनि त्यहाँ सहमति विपरीत निर्माण कार्य भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
सिलौटी वर्षौदेखि किरात धर्म संरक्षण समितिअन्तर्गतको साङसेन हाङसम माङहिम सिलौटी पाँचथरले संरक्षण र व्यवस्थापन गर्दै आएको छ । इलामको चुलाचुलीमा केन्द्रीय कार्यालय रहेको सो संघले गत पुस २५ गते गुरु आत्मानन्दको निर्देशनमा महागुरुको शालिक राख्ने कार्य अघि बढाएकाले यसले त्यहाँको धार्मिकस्थलको पर्यावरणीय अतिक्रमण गरिआएको र त्यसबाट आम किरात धर्मावलम्बीहरुको आस्थामाथि चोट पुरयाएको जारी विज्ञप्तिमा उल्लेख छ ।
महागुरुको समाधिस्थलको विकासमा लागेकोमा विना समन्वय गुरु आत्मानन्दमार्फत जर्वजस्ती ढंगले पुनः शालिक राख्ने कार्य दोहोरिनु चिन्ताको विषय भएको संघका अध्यक्ष ज्ञानोदय लावतीले बताए । सिलौटीमा शालिक राख्ने विषयमा दुई समूहबीच द्वन्द्व मात्र नभएर त्यस कार्यविरुद्ध जिल्ला प्रशासन कार्यालय हुँदै अदालतसम्म उजुरी पुगेको थियो ।
सिलौटी धार्मिक स्थलको संरक्षणमा अगुवाई गर्दै आएका सो क्षेत्रका पूर्व वडाअध्यक्ष समेत रहेका बहादुरसिंह नेम्वाङले अदालतबाट आएको आदेश र जिल्ला प्रशासन र सरोकारवालाबीच भएको सहमतिलाई समेत कार्यान्वयन नहुँदा महागुरुको ऐतिहासिक महत्व राख्ने समाधीस्थल अतिक्रमणमा परेको बताए । उनले भने, ‘जर्वजस्त ढंगले शालिक राख्ने कार्य गरिँदा त्यस क्षेत्रका किरात धर्मावलम्बीहरु क्रसित हुनु परेको छ, यसमा प्रंशासन गम्भीर हुनुपर्छ ।’
नेम्वाङका अनुसार आत्मानन्द गुरु र यस संघबीच केही भिन्नताका कारण पनि सो कुरा बुझाबुझ नहुँदा यो विषय चर्किएर गएको हो । पत्रकार सम्मेलनमा झापाका किरात धर्मालम्वी कैदी मावोले महागुरुको शालिक रहेको स्थलमा किरात धर्मगुरु आत्मानन्द समूहबाट भएको हस्तक्षेपकारी कदम तत्काल रोकिनुपर्ने माग गरे ।


