धरानः धरान–१६ स्थित सियोन स्कुलमा अब चाइनिज भाषा पढाइ हुने भएको छ । शैक्षिक सत्र २०८१ देखि सो भाषाको पठनपाठन हुने भएको हो ।
बुधबार स्कुल प्राङ्गणमा आयोजित अभिभावक दिवस, एसकेजीका विद्यार्थीको लागि आयोजित दीक्षान्त समारोह तथा नतिजा प्रकाशन कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल तथा डाइरेक्टर खड्गबहादुर थापा मगरले वर्षभरी नै चाइनिज भाषा पठनपाठन गरिने जानकारी दिए । उनले चाइनिज प्रशिक्षक ल्याएर चाइनिज भाषा पठनपाठन गर्न लागिएको जानकारी दिए ।
सियोन स्कुलले गुणस्तरीय शिक्षामा सक्दो जोड दिँदै आएको बताउँदै उनले एकेडेमिक रेकर्ड नै अत्यन्तै महत्वपूर्ण भएकोले यसतर्फ नै स्कुलको जोड रहेको भनाइ राखे । उनले विद्यार्थीलाई थप अब्बल बनाउन अतिरिक्त क्रियाकलापमा जोड दिन प्रशिक्षक नियुक्त गरिने समेत बताए ।
उनले सियोन स्कुलले यसवर्ष उल्लेखनीय प्रगति गरेको बताउँदै विद्यार्थीको नतिजा यस वर्ष धेरै राम्रो रहेको हुनाले पनि स्कुलले प्रगति गर्दै गएको ठानेको बताए । उनले मानसिक, शारीरिक साथै भावनात्मकरुपमा विकासका लागि विद्यार्थीलाई सन्तुलित र गुणस्तरीय शिक्षा प्रदान गर्न हदैसम्मको कोसिस जारी रहेको समेत बताए । उनले अनुभवी शिक्षक, बलियो भौतिक पूर्वाधार, अब्बल अभिभावकको पूर्ण सपोर्टले विद्यालयले प्रगति गर्न सकेको समेत बताए । उनले स्कुलमा डिग्री पास गरेका २४ जनाभन्दा बढी अध्यापकहरु रहेको समेत बताए ।
यसैबीच स्कुलको अभिभावक, दिवस भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा एसकेजीका ५० विद्यार्थी दीक्षित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरीका डिआइजी अञ्जनी पोख्रेल, प्रिन्सिपल तथा डाइरेक्टर थापा मगर, सहायक प्रिन्सिपल राकेश चौधरीले विद्यार्थीलाई दीक्षित गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि डिआइजी पोख्रेलले सियोनको गुणस्तरीय शिक्षाले आफू पनि प्रभावित भएको बताए । उनले सियोन स्कुलले विद्यार्थीको लागि हदैसम्मको प्रयास गरेको भन्दै प्रशंसा समेत गरे ।
कार्यक्रममा धरान उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख गणेशप्रसाद खतिवडा, धरान–१६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलगायतको समेत उपस्थिति थियो ।
कार्यक्रममा विद्यार्थीले गीत, नृत्य, कविता, नाटक साथै कराँते प्रदर्शन गरेर भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रमको सञ्चालन नेपाली विभागका शिक्षक सरोज राईले गरेका थिए ।
विद्यार्थीलाई शैक्षिक, व्यवहारिक र असल चरित्र सिकाउँदै आएको सियोन स्कुलमा कक्षा नर्सरीदेखि कक्षा–१२ सम्म पठनपाठन हुँदै आएको छ । जसअन्तर्गत हाल प्लस टुतर्फ विज्ञान, व्यवस्थापन, कम्प्युटर विज्ञान, होटल म्यानेजमेण्टको पठनपाठन हुँदै आएको छ । सियोन धरानमा उत्कृष्ट मानिएको विद्यालयमध्ये एक हो । विद्यालयको आफ्नै ४ तले भूकम्पप्रतिरोधी भवन रहेको छ ।
विद्यार्थीहरूलाई औपचारिक शिक्षा वा किताबी ज्ञानमात्र नभएर समाजको कुशल नागरिक बनाउन संस्कारको पनि शिक्षा दिने गरेको प्रिन्सिपल तथा डाइरेक्टर थापा मगर बताउँछन् ।
शिक्षकहरूको लगनशीलता र अथक मेहनत विद्यालयको सफलताको कारक मानेको विद्यालयले हरेक दिन शिक्षकहरूसँग विद्यालयमा विद्यार्थीहरूको अध्ययन–अध्यापनमा नयाँ शैली र अनुभवहरूको साटासाट हुनुका साथै प्रतिक्रियासमेत लिने गरेको प्रिन्सिपल थापा मगर बताउँछन् ।
विद्यार्थीहरूलाई यातायातको सुविधाका लागि विद्यालयको आफ्नै ५ वटा बस सञ्चालन, स्वच्छ खानेपानी, ट्रससहितको ग्राउण्ड, बास्केटबल कोर्ट, क्यान्टिन, होस्टल, साइन्स ल्याब, कम्प्युटर ल्याब, पुस्तकालय, अडियो भिजुवल कक्षा, सेमिनार हल, नृत्य कक्षा आदि विद्यालयले सुविधा दिँदै आएको छ ।
शिक्षा क्षेत्रमा अनुभव सङ्गालेका समूहद्वारा सञ्चालित स्कुल २०६२ सालमा स्थापना भएको हो ।
























































