धरानः भोजपुरको षडानन्द नगरपालिका– ९ स्थितबाट पेस्तोलसहित लुटपाटमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत आइतबार सोही स्थानमा रहेको जंगलमा षडानन्द नगरपालिका–२ की ८५ वर्षीया पासाङ ल्हामु शेर्पालाई पेस्तोल देखाई सुनको गरगहना तथा नगद लुटपाट गरी एकजना मानिस फरार भएको भन्ने खबर प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय दिङ्ला र इलाका प्रहरी कार्यालय सापाङबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका ८ बजे सोही जंगलमा टेम्के मैयुङ गाउँपालिका–१ का ३७ वर्षीय सुमित भन्ने सुमन परियारलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका परियारको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएका पेस्तोल १ थान, म्याग्जिन १ थान, ११ राउण्ड गोली, नगद ९ हजार ५० रुपैयाँ तथा सुनका गरगहना समेत बरामद गरेको छ । परियार नेकपा विप्लव समूहबाट नेकपा बहुमद समूह हुँदै हाल वैद्य समूहमा आबद्ध रहेको र २०७६ माघ २१ गते संगठित अपराध, आपराधिक उपद्रव, एनसेल टावर आगजनी, जेसिवी आगजनी, राज्यविरुद्धको कसुर लगायत ५ वटा मुद्दामा कैद सजाय भुक्तान गरि २०८० भदौमा कारगारबाट छुटेको पाइएको प्रहरीले जनाएको छ ।
भोजपुर प्रहरी प्रमुख डीएसपी सुदीपराज पाठकका अनुसार आइतबार बिहान ९ बजेतिर षडानन्द–२ की ५८ वर्षीया किपासाङ ल्हामु शेर्पामाथि हतियारधारी व्यक्तिले लुटपाट गरेका थिए ।
षडानन्द–९ स्थित जुगे जंगलमा हतियार देखाउँदै शेर्पाले लगाएको सुनका गरगहना र नगद लुटेर हतियारधारी अपरिचित पुरुष फरार भएको जानकारी प्रहरीलाई प्राप्त भएको थियो । लुटपाटमा संलग्नको पहिचान र खोजीका लागि डीएसपी पाठकले तत्काल इन्सपेक्टर अधिकारीको नेतृत्वमा टोली परिचालन गरेका थिए । घटनास्थल वरपर खोजी तीव्र बनाएको प्रहरी अन्ततः घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएको हो ।
यसैबीच छुरा प्रहार गरी हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३० बर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा संलग्न रहेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दिक्तेल रुपाकोट मझुवागढी–११ का २२ वर्षीय विकास राई, २० वर्षीय आसन राई र २८ बर्षीय गणेश राई रहेका छन । यही बैशाख १ गते राति ८ बजे आपसी वादविवादको क्रममा धनजीत राईलाई उनीहरुले शरीरको बिभिन्न भागमा छुरा प्रहार गरी फरार भएका थिए । छुरा प्रहारबाट राईको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय खोटाङ र नजिकमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा घटनामा संलग्न रहेका तीनै जनालाई बैशाख ३ गते बिहान दिक्तेल रुपाकोट मझुवागढी–१० स्थितमा लुकीछिपी बसेको अवस्थमा पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।