धरानः लैंगिक हिंसा र मानव बेचबिखन विरुद्धको कोशी प्रदेशस्तरीय अभियानमूलक कार्यक्रम २०८० को समीक्षा गोष्ठी सम्पन्न भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटगरको सभाहलमा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिकरुपमा समुदघाटन गरे ।
कार्यक्रममा प्रमुख अतिथि खापुङले निरन्तरुपमा प्रहरीले सञ्चालन गर्दै आइरहेको यो अभियानले मुलुकलाई नै सकारात्मक दिशातर्फ लैजाने बताउँदै कार्यक्रम सफल बनाउन प्रत्यक्ष सहयोग पुरयाउने हुने कोशी प्रदेश सरकार तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयलाई हार्दिक आभार व्यक्त गरे । उनले लैंगिक समानता घरबाटै सुरु गरौ, लैंगिक हिंसा अन्त्य गरौ भन्दै कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न अग्रसर रहेका कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका युनिटहरुलाई विशेष धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले कोशी प्रदेश सामजिक विकास मन्त्रालय तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय र सहकार्यमा सञ्चालन भएको लैंगिक हिंसा र मानव बेचबिखनविरुद्धको प्रदेश स्तरीय अभियानमा प्रदेश प्रहरी कार्यलयले प्रदेशका १४ वटै जिल्लालाई समेटेर गरेको उत्कृष्ट कार्यको प्रशंसा गरे ।
लैंगिक हिंसा र मानव बेचबिखनविरुद्धको समीक्षा गोष्ठी कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जमुनाकुमारी बस्नेतले समग्ररुपमा कोशी प्रदेशका जिल्लाहरुमा प्रहरीद्वारा गरिएका लैंगिक हिंसाविरुद्धका विभिन्न सचेतनामूलक कार्यक्रमहरुको बारेमा प्रस्तुतिकरण र समीक्षा गर्नु भएको थियो भने सामाजिक मन्त्रालय कोशी प्रदेशको तर्फबाट सामाजिक मन्त्रालयका प्रतिनिधि रोशना कोईरालाले लैंगिक हिंसा र मानव बेचबिखनविरुद्धको अभियानको बारेमा प्रस्तुतिकरण गरेका थिए । यसैगरी जिल्ला प्रहरी कार्यालयहरुबाट आएका लैंगिक फोकल अफिसरहरु समेतले आ–आफ्नो जिल्लामा भएका लैंगिक हिंसा र प्रहरीद्वारा गरिएका सचेतनामूलक कार्यक्रमको विवरणसहितको प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा एबिसी नेपाल कोशी प्रदेशकी अध्यक्ष श्रीमती विष्णु शर्मा पन्त, पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष तारा आचार्य समेतले आ–आफ्नो भनाई व्यक्त गरे ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु तथा प्रहरी कर्मचारीहरुका साथै जिल्ला प्रहरी कार्यालयहरुको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, सामुदायिक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

