Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-लेउती सुरुङ मार्गका लागि ५० लाख मात्रै बजेट विनियोजन

हाम्रो कोशी आवाज
असार १८ २०८१, सोमबार
धरान-लेउती सुरुङ मार्गका लागि ५० लाख मात्रै बजेट विनियोजन

धरानः सरकारले आगामी आर्थिक वर्षमा धरान–लेउती सुरुङमार्गको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेट सुरुङमार्ग निर्माणको लागि पर्याप्त भने होइन ।
सरकारले आवमा १४ सुरुङ मार्ग निर्माण गर्न ८१ करोड १४ लाख रुपैयाँ खर्च गर्ने जनाएको छ । यो सँगै धरानको लागि ५० लाख रुपैयाँ मात्रै विनियोजन गरेको हो । आगामी आर्थिक वर्ष २०८१–८२ मार्फत सरकारले १४ वटा सुरुङ मार्गको निर्माण अघि बढाउनका लागि यो परिमाणमा रकम बिनियोजन गरेको हो ।
सुरुङ मार्गको अध्ययन सकिएसँगै बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुशिलबाबु ढकालले जानकारी दिए । ‘अध्ययनबाट निर्माण सम्भव रहेका सुरुङ मार्ग निर्माण गर्न बजेटको स्रोत सुनिश्चितता गरिएको हो ।’ उनले भने ।
उनका अनुसार सम्भाव्यता अध्ययनअनुसार निर्माण गर्न सहज रहेको र लागत खर्च पनि बढी नभएको सुरुङ मार्ग मात्रै प्राथमिकतामा परेको छ । अध्ययनको क्रममा लागत खर्चको हिसाबले कम र छोटो दूरी भएका सुरुङ मार्गलाई मात्रै प्राथमिकतामा दिइएको छ ।
जोगवनी–किमाथांका सडकको दूरी र समयलाई छोट्याउने उद्देश्यले सुनसरीको धरान र धनकुटाको लेउती खोलासम्मको सुरुङ मार्ग निर्माण गर्र्न लागिएको हो ।
सुरुङमार्गको फिजिबिलिटी अध्ययन ‘टीएमएस इआइ माभेन रेस जेभी’ ले गरेको थियो । २०७९ असार अन्तिममा सार्वजनिक भएको फिजिबिलिटी रिपोर्टमा सुरुङमार्ग निर्माण गर्दा १० अर्ब ६३ करोड रुपैयाँ लाग्ने उल्लेख छ ।
धरान–धनकुटा सडक खण्डमा बन्ने सुरुङ माग ३.८६ किमि लामो बन्नेछ । सुरुङमार्गका दुई प्रवेशद्धार भने धरानको खर्दु र लेउतीमा रहने बताइएको छ ।
यसअघि आर्थिक वर्ष ०७९–०८० का लागि धरान–लेउती सुरुङमार्ग निर्माण शीर्षकमा १ करोड रुपैयाँ बजेट प्राप्त भएपनि बजेट नआउँदा डीपीआर अध्ययनको समय अनिश्चित बनेको थियो ।
आर्थिक वर्ष २०७७–७८ को बजेटमार्फत् अर्थमन्त्री विष्णु पौडेलले धरान–लेउती सुरुङ मार्ग निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरेका थिए । बजेटमा सो सुरुङमार्ग निर्माणको विषयलाई प्राथमिकता दिएपनि बजेट विनियोजनको विषयले भने प्राथमिकता पाउन सकेको थिएन ।
धरान लेउती सुरुङमार्गको अध्ययन ‘टीएमएस ईआई माभेन रेस जेभी’ ले गरेको हो ।
धरान–लेउती सुरुङमार्ग निर्माण सम्पन्न भएमा करिब १० मिनेटमा लेउती पुग्न सकिन्छ । हाल बस यात्राबाट करिब डेढ घण्टा समय लाग्छ । सरकारले महत्वका साथ हेरेको यो परियोजनाले धरानको खानेपानी समस्या समाधान हुने बताइएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले भने सुरुङ मार्ग बनाउन नहुने तर्क गर्दै आएका छन् । मेयर साम्पाङले सुरुङको नाममा जलाधार सक्ने कार्य गर्न नहुने तर्क राख्दै आएका छन् ।

प्रकाशित मिति: असार १८ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend