Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

केटी जिस्क्याएको निहुँमा कैंची प्रहार गर्दा युवाको मृत्यु, चारजना समातिए

हाम्रो कोशी आवाज
असार २६ २०८१, मंगलबार
केटी जिस्क्याएको निहुँमा कैंची प्रहार गर्दा युवाको मृत्यु, चारजना समातिए

धरानः विराटनगरमा गएराती भएको हत्याको घटना केटी जिस्क्याएको निहुँमा भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार कटहरी गाउँपालिका १ का २१ वर्षीय युवक करण कामतको हत्या भएको हो । हत्यामा संलग्न ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सोनु गिरी, दावा शेर्पा, सञ्जय पुरी र एक जना नाबालक छन् । पक्राउ परेका सञ्जय भोजपुरका हुन् भने शेर्पा ताप्लेजुङका हुन् । उनीहरू विराटनगरमै डेरा गरी बस्छन् । ​​ अन्य दुई जनाको घर भने विराटनगरमा भएको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका– २ स्थित नेपाल टेलिकमको कार्यालय नजिकै कैँचीले प्रहार गरेर कामतको हत्या गरेको प्रहरीको भनाइ छ ।
‘कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले भने, ‘गम्भीर अवस्थामा भेटिएका कामतको उपचारका क्रममा मृत्यु भएको छ ।’
घटनामा परी कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् । घाइतेमध्ये रायको अवस्था गम्भीर छ । दुवै जनाको नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ । रायको कोखा र ढाडमा चोट देखिएको छ भने मण्डलको पाखुरा र ढाडमा चोट लागेको छ ।
बाटोमा हिँडिरहेको बेलामा केटी जिस्क्याएको विषयमा विवाद हुँदा घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । ‘घटना भएको स्थानमा आइतबार पक्राउ परेका एक जनाका आफन्त केटीसँग गफ गरेर बसेका रहेछन्,’ डीएसपी बस्नेतले भने, ‘कामत समूहका केटाले केटीलाई जिस्क्याएछन् । त्यही विषयमा झगडा भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’ कामत त्यो घट्नामा भए नभएको यकिन भने नभएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार नै दुई समूहबिच भनाभन भएको थियो । पछि हत्या गर्ने योजनासहित चार जनाको समूह आएको देखिएको प्रहरीले जनाएको छ । ‘सोमबार कामतसहितको केटाहरूलाई देख्ने बित्तिकै हिजो जिस्क्याउने यिनीहरू नै हुन् भनेर एक्कासि आक्रमण गरेका रहेछन्,’ बस्नेतले भने ।

प्रकाशित मिति: असार २६ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend