धरानः मोरङको सुन्दरहरैंचा नगरपालिका-९ का ४९ वर्षीय कृषि फार्म सञ्चालक सहदेव बजगाईंको हत्यामा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धरान-१२ स्थित बलभ्रद्रेश्वर मन्दिर अरुणोदय धर्मशालाको गेस्ट हाउसबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ हाटखोलाका ३६ वर्षीय छिरिङ भनिने सुनिल तामाङ र उनकी श्रीमती प्रनिसा पाँचकोटी रहेका छन् ।
श्रीमान–श्रीमती नै मृतक बजगाईंको कृषि फार्मका कर्मचारी हुन् । उनीहरूको साथबाट मृतकको मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । उनीहरूले हत्या गरेको स्वीकार गरेको एसपी कार्कीले बताए ।
‘उनीहरूलाई हामीले बिहीबार राति नियन्त्रणमा लिएका हौं,’ एसपी कार्कीले भने, ‘बयानका क्रममा हत्या स्वीकार गरेका छन् । अरू अनुसन्धानका क्रममा खुल्दै जानेछ ।’
ती दम्पतीले एक महिना अगाडिदेखि बजगाईंको फार्ममा काम गर्दै आएका थिए । आफ्नै कर्मचारीले बिहीबार बिहान उनीहरू विभत्स हत्या गरेर फरार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । बजगाईंको शव बिहीबार १० बजे आफ्नै कुखुरा फार्मभित्र भेटिएको थियो । गत जेठ १० गतेबाट फार्ममा तामाङ दम्पत्ति नै काम गर्ने गर्थे ।
फार्म भएको स्थान सुन्दरहरैंचा १ कुमरगाउँमा पर्दछ । बजगाईंको घर विराटचोकमा हो । घरदेखि फार्म करिब तीन किलोमिटर दक्षिणमा पर्छ । प्रहरीका अनुसार बिहीबार बिहान साढे ७ बजे मर्निङ वाक गर्दै बजगाईं फार्ममा जान्छु भनेर घरबाट हिँडेका थिए । कुखुरा किन्न आउने मानिसले बजगाईंको रगताम्मे भएको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
धरानबाट पक्राउ गरेर उनीहरूलाई थप अनुसन्धान एवम् कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । कार्कीका अनुसार फार्मका सञ्चालकले काम गरेको पैसा नदिने र गालीगलौज गर्दै तुच्छ व्यवहार गर्ने गरेका कारण सहन नसकेर हत्या गरेको दम्पतीले स्वीकार गरेका छन् । प्रहरीका अनुसार घटनामा बन्चरो र दाउ प्रहार गरेर बजगाईंको हत्या भएका थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



