Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बजेट प्रस्तुत, प्राथमिकतामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास, कृषि, पर्यटन

हाम्रो कोशी आवाज
साउन ६ २०८१, आइतबार
धरानको बजेट प्रस्तुत, प्राथमिकतामा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास, कृषि, पर्यटन

धरानः धरान उपमहानगरपालिकाको १५ औं नगरसभामा १ अर्ब ७२ करोड ५३ लाख ८३ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत भएको छ ।
उपमेयर अइन्द्रविक्रम बेघाले सो बराबरको बजेट प्रस्तुत गरेका हुन् । प्रदेश नं १ का सांसदहरू विजय राई, रमेश बस्नेत र सरला कायस्थको उपस्थितिमा उपमेयर बेघाले आव २०८१–०८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् ।
आगामी वर्षको आन्तरिक आयतर्फ ४२ करोड ९७ लाख ६ हजार, संघीय सरकार समानीकरण अनुदानबाट ३० करोड ५२ लाख, सशर्त अनुदानबाट ५० करोड ३३ लाख ८३ हजार, विशेष अनुदानबाट ३ करोड २० लाख र समपुरक अनुदानबाट ६ करोडसहित ९० करोड ५ लाख ८ हजार रुपैयाँ बजेट अनुमान गरिएको छ ।
यस्तै, प्रदेश सरकारबाट समानीकरण अनुदानबाट २ करोड १ लाख ९२ हजार, सशर्त अनुदानबाट १ करोड २५ लाख, समपुरक अनुदानबाट २ करोडसहित प्रदेश सरकारबाट जम्मा ५ करोड २६ लाख ९२ हजार, संघीय राजस्व बाँडफाँटबाट २० करोड १३ लाख १२ हजार र प्रदेश राजस्व बाँडफाँटबाट १४ करोड १० लाख ९० हजार बजेट प्रस्तुत भएको छ ।
व्ययतर्फ चालु आर्थिक वर्षमा व्ययतर्फ संशोधनसहित १ अर्ब ७२ करोड ५३ लाख ८३ हजार कुल अनुमान गरिएकोमा जेष्ठ मसान्तसम्म यथार्थ खर्च रु. ९७ करोड ५० लाख ७६ हजार २ सय ८४ रुपैया १४ पैसा भई लक्ष्यको ५६.५१% मात्र वित्तीय प्रगति भएको छ उल्लेख छ । त्यसमध्ये चालुतर्फ ६७ करोड ३९ लाख ९८ हजार ८ सय २२ रुपैयाँ ४४ पैसा (अनुमानको ६५.०३%), पुँजीगततर्फ २८ करोड ४६ लाख १९ हजार ३ सय ७५ रुपैयाँ ७९ पैसा (४३.४६%) र वित्तीय व्यवस्थातर्फ रु. १ करोड ६४ लाख ५८ हजार ८५ रुपैयाँ ९१ पैसा (अनुमानको ४८.३१४) वित्तीय प्रगति भएको जनाइएको छ ।
कार्यक्रममा मेयर भिजन कार्यक्रममा ५ करोड, उपमेयर भिजन कार्यक्रममा ३ करोड रुपैयाँ विनियोजन भएको जानकारी दिइएको थियो भने मेयर कोषमा १ करोड ८० लाख, उपमेयर कोषमा ७५ लाख रुपैयाँ विनियोजन गरिएको जनाइएको छ ।
बजेट कार्यक्रममा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास, कृषि, पर्यटन र विपद व्यवस्थापनलाई उपमहानगरले प्राथमिकतामा राखेको छ ।
कुल विनियोजित बजेटमध्ये चालु, पुँजीगत र वित्तीय व्यवस्थापन समेतको लागि कुल जम्मा १ अर्ब ८९ करोड ४३ लाख, ४८ हजार २ सय ८० रुपैयाँ विनियोजन गरिएको छ ।
आवको लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजश्वका स्रोतबाट ४८करोड ४१ लाख, ३८ हजार २ सय ८०, संघीय सरकार अनुदानबाट ८९ करोड १९ लाख, प्रदेश सरकार अनुदानबाट ६ करोड ४० लाख ६४ हजार, संघीय राजश्व बाँडफाँटबाट रु २१ करोड ३४ लाख, प्रदेश राजश्व बाँडफाँटबाट २४ करोड ८ लाख ५० हजार प्राप्त हुने अनुमान समेत गरिएको छ ।
कार्यक्रममा मेयर हर्कराज राई साम्पाङले वडा सदस्यहरुले उठाएका खानेपानी महसुल वृद्धि, कर वृद्धि, सुरुङ मार्गलाई प्राथमिकता, कोकाह परियोजनामा स्वाँराबासीलाई ७ लाख मात्रै बजेट छुट्याइएको लगायत यावत प्रश्नहरुको जवाफ दिएका थिए । उनले समयक्रमअनुसार कर वृद्धि, खानेपानीको महसुल वृद्धि गर्नुपरेको तर्क समेत गरेका थिए ।
यसअघि दुईपटक नगरसभा बैठक बस्न नसक्दा धरानको बजेट अन्योलमा परेको थियो । विशेषतः कर्मचारीको विषयमा मेयर, उपमेयर र वडाध्यक्षहरुबीच विवाद चुलिँदा नगरसभा बस्न नसकेको हो । करारमा रहेका कर्मचारीहरूको म्याद थप गर्ने कि नगर्ने भन्ने विवादले नगरसभा हुन नसकेको हो । यसअघि बसेको कार्यपालिका बैठकले करार र अस्थायी कर्मचारी हटाउने सहमति बनेको थियो ।
यसअघि असार १० गते सैनिक भवनमा नगरसभा शुरु नै नभई विवाद उत्पन्न भएको थियो । पछिल्लोपटक गत असार ३१ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडोटरियम हलमा सभा बस्ने भनिएपनि उक्त बैठकमा पनि विवाद हुँदा बैठक बस्न सकिएको थिएन ।
असारभित्र नगरसभाबाट बजेट, नीति तथा कार्यक्रम पास हुन नसकेपछि धरानमा अत्यावश्यक सेवाबाहेक सबै शीर्षकको खर्च रोकिएको थियो ।

प्रकाशित मिति: साउन ६ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend