धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) को पहिलो सोमबार नै भीड लागेको छ । धरान–१४ स्थित पिण्डेश्वर मन्दिरमा यसपटक भीड लागेको हो । धार्मिक पर्यटकीय क्षेत्र प्राचीन हरिद्वार पिण्डेश्वर शिवालयमा साउनको पहिलो सोमबार हजारौं हिन्दू भक्तजनको भीड लागेको हो ।
सदाको वर्षझैं यस वर्षको बोलबम शुरु भएको हो । यसवर्षको बोलबममा पूजा तथा दर्शन गर्ने श्रदालु भक्तजनहरुको पिण्डेश्वर बाबाधाम धरान–१४ मा बिहानैदेखि घुइँचो लागेको छ ।
करिब ४२ वर्ष पहिलेबाट धरानको श्री पिण्डेश्वरमा चतराको कोशीबाट जल ल्याएर चढाउने बोलबम मेलाको परम्परा चलिआएको छ । पहिलो सोमबार नै पिण्डेश्वरमा जल चढाउनको घुइँचो लागेको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास बनेपालीले जानकारी दिए ।
पिण्डेश्वर बाबाधाम मन्दिरमा जल चढाउन भक्तजनहरुले आइतबार नै चतरास्थित सप्तकोशी नदीबाट जल ल्याएर बिहानैदेखि लामबद्ध भइसकेका थिए । नदीको पानी ल्याएर आजबाट पिण्डेश्वर बाबाधाममा चल चढाउने गरिन्छ ।
विगतको वर्षभन्दा यस वर्ष भक्तजन बढ्ने अपेक्षा पिण्डेश्वर बाबाधाम समितिले गरेको छ । यसैलाइै मध्यनजर गरी यस वर्ष विगत वर्षको भन्दा व्यवस्थित बनाउन सुरक्षा प्रवन्धसँगै खानेपानी, शौचालय तथा भक्तजनहरुका लागि प्राथमिक उपचारको व्यवस्था समेत गरिएको उनले बताए ।
गत वर्ष साउन महिनाको चार सोमबारमा ४ लाख भक्तजन आएकोमा यस वर्ष भने ५ लाखको हाराहारीमा भक्तजन आउने अनुमान गरेको समितिले जनाएको छ । साउन महिनाको आइतबार बेलुकादेखि सोमबार जल चढाइनसकेसम्मका लागि पिण्डेश्वर बाबाधाममा सुरक्षा व्यवस्था मजबुत बनाएको प्रहरीले जनाएको छ ।
साउन महिनाको पाँच सोमबार विशेष पूजा आज सोमबार गरिने भएको हुँदा आइतबार र सोमबार सादा पोशाकका प्रहरी र गस्ती प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।
शिवालयमा जलार्पणका लागि आउने हजारौं स्थानीयवासी तथा चतरा बराहक्षेत्रबाट जल लिएर आउने बोलबम भक्तजनको सुविधाका लागि स्वयंसेवकसमेत परिचालन गरिनुका साथै स्वास्थ्य तथा सुरक्षा व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
पिण्डेश्वर बाबा धाममा अधिकांश महिलाको उपस्थित हुने गर्छ । विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्दै र अविवाहिता युवतीले राम्रो पति पाऊँ भन्दै शिवलिंगमा जल चढाउने गर्दछन् ।
सप्तकोसी नदीबाट जल ल्याई पिण्डेश्वर बाबा धाममा रहेको शिवलिंगमा जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । श्रावण महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिन्छ । श्रावण महिनाको सोमबार हिन्दू महिलाले व्रत बस्ने परम्परा रहेको छ ।
