विराटनगरः मोरडको बुढीगंगा गाउँपालिका ४ मा रहेको मनमोहन पोलिटेक्निक प्राविधिक शिक्षामा सधै अब्बल हुँदै आएको छ ।
गुणस्तरीय पठनपाठन गराएर दक्ष जनशक्ति उत्पादन गर्न सफल भएपछि सरकारबाट चार पटक पुरस्कृत भइसकेको मनमोहन पोलिटेक्निक प्राविधिक शिक्षाका लागि देशकै अब्बल शिक्षालय बनिरहन सफल भएको हो ।
यो शिक्षालय २०७३ र २०७४ मा प्रदेश भरिको र २०७५ र २०८० मा देशरिकै उत्कृष्ट शिक्षालयका रुपमा पुरस्कृत भइसकेको छ । औजार उपकरणले मात्र नभै भौतिक पूर्वाधारले सम्पन्न यो शिक्षालयमा प्रविधिक शिक्षाका लागि विद्यार्थीहरुलाई आवश्यक पर्ने सबै खाले आधुनिक प्रयोगशाला र लाइब्रेरी छन् । अनुभवी दक्ष शिक्षकहरु भएको यो शिक्षालयमा गुणस्तरीय पढाइ हुने भएकोले भर्ना हुन हरेक वर्ष विद्यार्थीको ओइरो लाग्ने गरेको छ । प्राचार्य सुदीप अधिकारीका अनुसार २६४ सिटमा भर्ना हुन हरेक वर्ष एक हजार जना भन्दा बढी विद्यार्थीले आवेदन दिने गरेका छन् ।
२०६५ मा स्थापना भएको मनमोहन पोलिटेक्निकले अहिलेसम्म २५ सय जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरिसकेको छ । उत्पादन भएका जनशक्ति व्यवहारिकरुपमा दक्ष भएकोले प्रायः सबैले राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय बजारमा पनि पाइसकेका छन् । कोही थप उच्च प्राविधिक शिक्षा पढेर विज्ञ बनिसकेका छन् । मनमोहन पोलिमा दिक्षित भएकाहरुले मात्र नभएर नभएकाहरुले पनि रोजगार पाउने गरेका छन् । दीक्षित नभएकाहरु दिगो हुने भएकोले उनीहरुलाई रोजगार दिन उद्योगहरुले प्राथमिकता दिने गरेका छन् ।

देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा सञ्चालन भइरहेको मनमोहन पोलिटेक्निकमा विद्यार्थीहरु आफै कमाएर पढ्ने ‘अर्न टु लर्न’ कार्यक्रम पनि छ । यसबाहेक यो शिक्षालयले दलित, सीमान्तकृत र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति पनि दिँदै आएको छ । भारत सकारसँग २०६२ मा सम्झौता भई २०६५ देखि प्राविधिक विषयमा पठनपाठन शुरु गरेको यो शिक्षालयमा २०६८ देखि इलेक्ट्रिक्स मेकानिक, सिभिल र इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक्स, आर्किटेक्चर, इन्फमेसन टेक्निोलोजी, अटोमोबाइल्स आदि ७ वटा विषयमा डिप्लोमा तहमा पढाइ हुँदै आएको छ । यहाँ दुई वर्षे डिप्लोमा तहको औद्योगिक मेकानिकल कोर्ष पनि पढाई हुन्छ । यसबाहेक यो शिक्षालयमा स्थानीय र स्वीस सरकारको सहयोगमा विल्डिड, मोटरसाइकल, लाइट भेहिकल, कम्प्युटर हार्डवेयर र नेटवर्किड, एसी मर्मत, टाइल मार्वल फिटिड, विल्डर, पेन्टिङ आदि १२ विषयको मेकानिक तालिम पनि सञ्चालन हुँदै आएको छ ।
अति न्यून खर्चमा विवद्यार्थीहरुलाई कोर्ष गराईरहेको मनमोहनले हरेक वर्ष ४ जनालाई निःशुल्क २० जनालाई सहुलियतमा र ३० जनालाई आफै कमाएर पढ्ने गरी निःशुल्क पढाउँदै आएको छ । चार जना विद्यार्थी पूर्व अध्यक्ष भरतमोहनका छोरी र श्रीमतीले प्रदान गर्ने छात्रवृत्तिमा पढने गरेका छन् । ३० जनाले शिक्षालयकै १० बिगाहा जमिनमा खेती गरेको आम्दानीबाट पढ्दै आएका छन् । हरेक संकायमा ४२ जना विद्यार्थी हरेक वर्ष भर्ना गर्दै आएको मनमोहनमा हरेक वर्ष १ सय ९२ जना विद्यार्थीले इन्जिनियरिङ विषय पढने गर्ने गरेका छन् । यसबाहेक हरेक वर्ष ५ सय विद्यार्थीहरुले एक हप्तादेखि एक वर्षे छोटो अवधिको विभिन्न निःशुल्क तालिमहरु पनि लिँदै आएका छन् ।

तीन पटक सरकारबाट उत्कृष्ट प्राविधिक शिक्षालय भनेर पुरस्कृत भइसकेको मनमोहन पोलिटेक्निकले सैद्धान्तिकभन्दा बढी व्यावहारिक शिक्षामा जोड दिने गरेको छ । यहाँबाट दीक्षित हुने विद्यार्थीहरु प्राविधिक अनुसन्धानमा पनि दक्ष हुनेगरेका छन । पढिसकेपछि देशभरि जहाँपनि तुरुन्तै रोजगारी पाउन सकिने भएकोले मनमोहन पोलिटेक्निकमा पढ्न विद्यार्थीहरु सधै आर्कषित हुने गरेका छन् । प्राचार्य अधिकारी आफनो शिक्षायप्रति गर्व गर्दै भन्छन्, ‘भौतिक पूर्वाधारले मात्र नभएर पाठयक्रमले पनि अरु भन्दा सक्षम र सम्पन्न छौं, यसैले हामी अरु शिक्षालय भन्दा अब्बल र अहिलेसम्म देशकै उत्कृष्ट शिक्षालय बनिरहन सफल भएका हौं ।’