धरानः मनसुन सुरु भएयता बाढीपहिरोमा परी १३४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत २८ जेठदेखि बिहीबारसम्म देशभर बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३८ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको छ ।
साथै, काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३५ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४८ जना घाइते भएका छन् ।
काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ७१ जनाको उद्धार गरिएको छ ।
बाढीपहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना र कर्णाली प्रदेशमा १ जना जना गरी ७ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यो अवधिमा बाढीका कारण १ सय ८४ घर डुबानमा परेका छन् । २ सय ३७ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६ सय ३ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ३० घरपरिवार विस्थापित भएका छन् ।