Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका जीवनसहित ठूलो परिमाणमा गाँजा र ब्राउन सुगरसहित समातिए

हाम्रो कोशी आवाज
साउन १३ २०८१, आइतबार
धरानका जीवनसहित ठूलो परिमाणमा गाँजा र ब्राउन सुगरसहित समातिए

धरानः सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीले फरक फरक ठाउँबाट ठूलो परिमाणमा गाँजा र ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
गत साउन १३ गते सुनसरीको बबियाबाट ११५.७ केजी गाँजासहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक काशीराम चौधरीको कमाण्डमा खटिएको संयुक्त टोलीले साँगुरीगढी गाउँपालिका १ बुढीमोरङ बस्ने ३२ वर्षे रामकुमार राई र सोही ठाउँका २२ वर्षे बुद्ध लिम्बूलाई सो परिमाणको गाँजासहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।
इनरुवा नगरपालिका–९ स्थित बबिया चोकबाट प्रदेश नं १–०२–००२च६८८३ नम्बरको टाटा गाडीमा लोड गरी सुनसरीको नाका इलाकातर्फ लैजाँदै गर्दा गाडीसहित ११५.७ केजी गाँजा र २ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।
यसैबीच सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ ढलानरोड स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकही मातहत एफओपि इस्राइल कामतबाट सशस्त्र प्रहरी भुपेन्द्र नेम्वाङको कमाण्डमा खटिएको चेक प्वाईन्ट डिउटी ४ जनाको टोलीले धरान उपमहानगरपालिका १३ बस्ने ४२ वर्षीय जीवन राई र सुनसरी भोक्राहा बस्ने २७ वर्षीर्य महफुज आलमलाई ब्राउन सुगर र ट्याब्लेटसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।
उनीहरु भारतबाट नेपालतर्फ पैदल आउँदै गर्दा शंका लागि चेकजाँच गर्ने क्रममा जीवन राईको साथबाट कालो प्लाष्टिकले बेरेको प्लाष्टिकसहित अन्दाजी ९.४ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ र महफुज आलमको साथबाट कालो प्लाष्टिकले बेरेको प्लाष्टिकसहित अन्दाजी १३ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ, १६ ट्याब्लेट स्पास्मो ८ ट्याब्लेट निट्रोभेट लागूऔषध बरामद गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय सुनसरी बुझाइएको नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।
यस्तै, गत साउन ८ गते दिउँसो सुनसरी देबानगजं गाउँपालिका ५ पालटोल सीमा इलाकामा सशस्त्र प्रहरी.बल, नेपाल बिओपी साहेवगञ्जबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण थापाको कमाण्डमा खटिएको ४ जनाको मोटरसाइकल गस्तीको टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ५० वाइ ३४९७ नम्बरको भारतीय मोटर साइकललाई चेकजाँच गर्दा प्रतिबन्धित ६ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
चेकजाच गर्ने क्रममा मोटरसाइकल चालक फरार भएकोले मोटरसाइकल र प्रतिबन्धित ६ केजी गाँजा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यलय सुनसरी बुझाइएको छ ।
गत साउन ८ गते दिउँसो सुनसरी भोक्राहा नरसिंह गाउँपालिका ८ सोनियाही सीमा ईलाकाबाट ६ केजी गाँजा र साइकल बरामद गरिएको प्रहरीले जनाएको छ । नेपालबाट भारततर्फ जाँदै गरेको अपरिचित ब्यक्तिले साइकलमा राखी लैजाँदै गरेको ६ केजी. प्रतिबन्धित गाँजा सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि.उल्टीबाट सशस्त्र प्रहरी सुरेश लिम्बूको कमाण्डमा खटिएको २ जनाको पैदल गस्ती टोलीले बरामद गरेको हो । साइकल र गाँजा छाडी ब्यक्ति फरार भएकोले सो परिमाणको गाँजा र साइकललाई नियन्त्रणमा लिई बि.ओ.पि.उल्टीमा ल्याइ जिल्ला प्रहरी कार्यलय सुनसरी बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं ४ गण हेडक्वाटर सुनसरी जनाएको छ ।

प्रकाशित मिति: साउन १३ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend