Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा राजनीतिक दलहरूले खानेपानी बोर्डमा दिए धर्ना र लगाए ताला

हाम्रो कोशी आवाज
साउन २० २०८१, आइतबार
धरानमा राजनीतिक दलहरूले खानेपानी बोर्डमा दिए धर्ना र लगाए ताला

एडिबीको ऋण मिनाहा भएमात्रै शुल्क वृद्धि फिर्ताः मेयर साम्पाङ

धरानः धरान उपमहानगरपालिकाको खानेपानी बोर्डले खानेपानी जडान शुल्क र महसुल वृद्धि गरेको छ । पालिका प्रमुख हर्कराज राई साम्पाङ अध्यक्ष रहेको धरान खानेपानी व्यवस्थापन बोर्डले साउन १ बाट लागू हुनेगरी खानेपानी महसुल र शुल्क वृद्धि गरेको हो ।
धरानमा खानेपानी जडान तथा महसुल बढाइएपछि १० वटा राजनीतिक दलले चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । आइतबार दलहरूले रयालीसहितको धर्ना कार्यक्रम आयोजना गरेका छन् ।
धरान–१ स्थित सिंहदेवी चौकबाट शुरु भएको रयालीसहितका जनता खानेपानी बोर्डमा पुगेर मेयर र खानेपानी बोर्डका निर्देशक बस्ने कार्यालयमा ताला समेत लगाएका छन् । त्यहाँ पुगेर दलका नेताहरुले धर्ना समेत दिएका थिए ।
धर्नापछि आयोजित कोणसभामा बोल्दै कांग्रेसका नगर सभापति श्याम पोख्रेलले साउन ११ गते धरानमा क्रियाशील दलले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्न मागसहित आन्दोलनमा उत्रिएको र जनताको जायज माग भएकोले यस विषयमा मेयर साम्पाङ गम्भीर बन्नुपर्ने बताए । ‘यो निर्णय फिर्ता नभए हामी संघर्षका थप कार्यक्रम घोषणा गर्नेछौं’, सभापति पोख्रेलले भने, ‘जनतामाथि अतिरिक्त भार लाद्ने काम कुनै पनि हालतमा स्वीकार्य हुन्नँ ।’
बोर्ड सञ्चालनमा समस्या भएको भन्दै अध्यक्ष मेयर साम्पाङले खानेपानी जडान होल चेन्ज, नामसारी, मर्मत तथा चेकमा लाग्ने शुल्क र खानेपानीको महसुलमा चर्को वृद्धि गरेपछि विरोधमा उत्रिएको पूर्व सांसद तथा एमालेका नेता जयकुमार राईले बताए । ‘मेयरको एकल निर्णयबाट शुल्क र महसुलमा वृद्धि भएको हो, शुल्क र महसुल वृद्धि अवैज्ञानिक छ ।’ उनले भने ।
ग्राहकले धान्नै नसक्ने गरी एकलौटीरूपमा मूल्यवृद्धि गरिएकाले बाध्य भएर विरोधमा आएको नेकपा माओवादी केन्द्रका नेता चोत्लुङले बताए । धर्ना कार्यक्रममा जनमुक्ति पार्टी नेपालका केन्द्रीय सहसचिव अमर इजम, पत्रकार महेश श्रेष्ठलगायतले पनि बोलेका थिए ।
यसअघि धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित ज्ञापन पत्र दिएका थिए । तर, अल्टिमेटम सकिँदासम्म महसुल वृद्धिको निर्णय फिर्ता नलिएको भन्दै दलहरूले आन्दोलनको घोषणा गरेका थिए । उनीहरुले यसअघि गत साउन १७ गते विभिन्न सरोकारवाला संघसंस्थासँग अन्तरक्रिया, १८ गते सबै वडा कार्यालयहरूमा ध्यानाकर्षणपत्र बुझाउँदै आइतबार धर्ना दिनेजस्ता संघर्षका कार्यक्रम आयोजना गरेका थिए ।
धरान खानेपानी बोर्डका व्यवस्थापक राजु पोखरेलले २०७४ सालदेखि खानेपानीको शुल्क र महसुलमा वृद्धि नभएकाले बताउँदै यस वर्षदेखि केही परिमार्जन गरिएको बताए ।
दलहरुले खानेपानीको मूल्य साविककै मूल्यमा कायम नभएसम्म आन्दोलन जारी रहने बताइरहँदा मेयर साम्पाङले पनि पत्रकार सम्मेलन गर्दै पानीको मूल्य बढाउनु समय सापेक्ष भएको बताएका छन् । विगतमा खानेपानीको नाममा ल्याइएको एडिबीको ऋण तिर्नुपर्ने हुनाले शुल्क वृद्धि गरिएको बताए । उनले एडिबी खानेपानी आयोजनाका लागि लिइएको ५७ करोड १९ लाख रुपैयाँ ऋण मिनाहा भए स्वतः मूल्यवृद्धि फिर्ता लिने बताए । ‘चालु खर्चले मात्रै एडिबीको ऋण तिर्न सकिँदैन, प्रधानमन्त्री, अर्थमन्त्री उहाँहरुको हुनुहुन्छ, यो छुट भए स्वतः मूल्यवृद्धि फिर्ता हुन्छ ।’ उनले भने । उनले अरु प्रोजेक्टका लागि यो ऋण नतिर्दा असर पर्ने हुनाले पनि आफूले यो कदम चालेको बताए । ‘खासमा भन्ने हो भने अर्को प्रोजेक्ट (मानौं कोशीबाट पानी ल्याउने) शुरु गर्दा बाँकी बक्यौता देखाउन मिल्दैन ।’ उनले तर्क गरे । यसअघि उपमेयर अइन्द्रविक्रम बेघासहित वडाध्यक्षहरूले पनि बोर्डका अध्यक्ष साम्पाङलाई ज्ञापनपत्र बुझाएका छन्। उपमेयर बेघा सहित वडा नं। १५ का अध्यक्ष नरेश इवारम, वडा नं। १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई ९मनोज० र वडा नं। १८ का अध्यक्ष नरेन्द्रकुमार राई ९प्रवीण०ले मेयर साम्पाङलाई ज्ञापनपत्र बुझाएका हुन् ।

खासमा कति बढेको हो खानेपानीमा मूल्य ?
खानेपानी जडान होल चेञ्ज, नामसारी, मर्मत तथा चेकमा ९०० प्रतिशतसम्म महसुल वृद्धि भएको छ । धरानमा २०७४/७५ देखि शुल्क वृद्धि नभएको बोर्डले जनाएको छ ।
१/२ इन्चको पाइप जडानमा यसअघि १५ हजार रुपैयाँ शुल्क थियो । साउन १ गतेबाट २० हजार पुगेको छ । ४/३ इन्चको पाइपको शुल्क १० हजारबाट बढेर २५ हजार रुपैयाँ पुगेको छ ।
१ इन्चको पाइपको १५ हजार रुपैयाँ थियो । अहिले बढाएर ५० हजार रुपैयाँ पु¥याइएको छ । १/१/२ इन्च पाइपको धारा जडान शुल्क २० हजार रुपैयाँ थियो । बोर्डले ५५ हजार रुपैयाँ बढाएर ७५ हजार रुपैयाँ तोकेको छ । त्यस्तै २ इन्चको पाइप जडान शुल्क ७५ हजार बढेर १ लाख रुपैयाँ पुगेको छ ।
होल चेन्जको दस्तुर दर पनि वृद्धि भएको छ । १/२ को पाइपको होल चेन्ज दस्तुर २ हजारबाट बढेर ५ हजार रुपैयाँ पुगेको छ ।
४/३ को पाइपको होल चेन्ज शुल्क ३ हजारबाट बढाएर ८ हजार बनाइएको छ । १ इन्चको पाइपमा होल चेन्ज शुल्क ४ हजारबाट बढाएर १० हजार, १–१/२ इन्चको पाइपको होलचेन्ज शुल्क ५ हजारबाट बढाएर १५ हजार र २ इन्चको होलचेन्ज शुल्क ६ हजारबाट बढाएर २० हजार रुपैयाँ पुरयाइएको छ ।
बोर्डले नामसारी शुल्क पनि बढाएको छ । यसअघि १/२ इन्चको मृतकबाट नामसारी गर्दा २०० र स्वामित्वबाट २ हजार रुपैयाँ थियो । यसलाई बढाएर ५ हजार बनाइएको छ ।
नामसारीमा ४/३ इन्चमा ७ हजार ८००, १ इन्चमा ९ हजार ८००, १–१/२ इन्चको धारा नामसारीमा १४ हजार ८०० र २ इन्चको नामसारीमा १९ हजार ८०० सम्म वृद्धि गरिएको छ । यसअघि सबै इन्चको नामसारी शुल्क मृतकबाट २०० र स्वामित्वबाट २ हजार रुपैयाँ थियो ।
पालिकाले मर्मत तथा धारा चेकको शुल्क पनि बढाएको छ । यसअघि सबै इन्चको धारा मर्मत तथा चेक शुल्क ५०० रुपैयाँ थियो । यसलाई बढाएर १० हजारसम्म पु¥याइएको छ । २ इन्च पाइप जडान भएको स्थानमा मर्मत तथा चेकशुल्क १० हजार पुगेको छ । १/२ को १ हजार, ४/३ को २ हजार, १ इन्च र १–१/२ को मर्मत शुल्क ५ हजार बनाइएको छ ।

 

प्रकाशित मिति: साउन २० २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend