धरानः १० राजनीतिक दलहरूले धरानका खानेपानी महसुल बुझाउने काउन्टरमा पनि ताला लगाएका छन् ।
सोमबार वडा कार्यालयहरुमा भएको खानेपानी महसुल काउन्टरमै पुगेर ताला लगाएका हुन् । धरान–८, १५, १६, १७ नम्बर वडामा भएका काउन्टरहरूमा तालाबन्दी गरिएको नेकपा एमालेका नगर अध्यक्ष हर्कजंग एभेङले जानकारी दिए । वृद्धि भएको शुल्क फिर्ता नलिई ताला खोल्ने चेष्टा गरे त्यसपछि आउने परिस्थितिको सामना गर्न तयार हुन मेयर साम्पाङलाई ठाडो चेतावनी दिँदै दलहरूले आन्दोलन चर्काउँदै लगेका छन् । ‘बढेको शुल्क फिर्ता नलिएसम्म ताला खोलिँदैन’, नेपाली कांग्रेस नगर सभापति श्याम पोख्रेलले थपे, ‘अझै थप सशक्त आन्दोलनका कार्यक्रम समेत ल्याउने जानकारी दिन्छु ।’
दलहरूले खानेपानीको महसुल तथा शुल्क पुरानै दररेट कायम नभएसम्म खानेपानीको महसुल तथा शुल्क नबुझाउन समेत धरानबासीलाई अपिल समेत गरेका छन् । कसैको राय, सल्लाह र परामर्शबिना आफूखुशी अत्याधिक एकैपटक महसुल वृद्धि गरेको भन्दै १० राजनीतिक दलहरू केहीदिनदेखि आन्दोलित छन् ।
मेयर साम्पाङले पनि फेसबुक लाइभमा आउँदै दलहरूले तमासा देखाएको आरोप लगाउँदै दलहरूले नै सम्झौता गरेको एडिबी ऋण मिनाहाको योजना लिएर आए मूल्यवृद्धि फिर्ता लिन सकिने बताएका छन् । ‘राजनीतिक दलहरुले धरानलाई बोकाएको एडिबीको ऋण ५७ करोड १९ लाख रुपैयाँ मिनाहा गरिदिने भए एक मिनेटमा महसुल वृद्धि फिर्ता लिन्छु ।’ उनले भनेका छन् ।
दलहरूले भने धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउने, विभिन्न सरोकारवाला संघसंस्थासँग अन्तरक्रिया, सबै वडा कार्यालयहरूमा ध्यानाकर्षणपत्र बुझाउँदै खानेपानी बोर्डको कार्यालयमा धर्ना कार्यक्रमपछि महसुल काउन्टरमा ताला लगाएका हुन् ।
खानेपानी जडान होल चेञ्ज, नामसारी, मर्मत तथा चेकमा ९०० प्रतिशतसम्म महसुल वृद्धि भएको र यसले जनतालाई भारपर्ने देखिन्छ ।




