Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको खानेपानी विवादका विषयमा सुनसरी प्रशासनको चासो, ताला खोलेर जिम्मेवारी निभाउन १० दलहरूलाई आग्रह (भिडियोसहित)

हाम्रो कोशी आवाज
साउन २२ २०८१, मंगलबार
धरानको खानेपानी विवादका विषयमा सुनसरी प्रशासनको चासो, ताला खोलेर जिम्मेवारी निभाउन १० दलहरूलाई आग्रह (भिडियोसहित)

धरानः धरानको खानेपानीको विषयलाई लिएर धरानका १० राजनीतिक दलहरुले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले चासो देखाएको छ ।
मंगलबार सुनसरी उद्योग वाणिज्य संघको कार्यालयमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी (सिडियो) रामचन्द्र तिवारीले १० राजनीतिक दलका प्रतिनिधिहरूलाई सुझाउँदै भरसक ताला खोलेर अहिलेको समस्या समाधान गरिदिन आग्रह गरे । ‘आदरणीय मेयर सा’बले कानुनभन्दा बाहिर रहेर कुनै बिल काट्नु हुन्छ भन्ने त लाग्दैन’, उनले खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले मेयर हर्कराज राई साम्पाङलाई ध्यानाकर्षण गराइसकेकोप्रति इङ्गीत गर्दै भने, ‘त्यही भएर तपाईहरु ताला खोलेर आफ्नो जिम्मेवारी निभाइदिनुहोस् । छलफलमा सबैजसो दलका प्रतिनिधिहरु सहभागी थिए । उनले दलहरूलाई वार्तामा सहभागी हुन आग्रह गरे । उनले खानेपानीको धारा जडान, नामसारी, र महसुल वृद्धि गर्ने अधिकार बोर्डको नभएको र शुल्क निर्धारणको सिफारिस खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगको मात्र रहेको समेत बताए ।

यसअघि मेयर साम्पाले खानेपानीमा मूल्य बढाएपछि खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले ध्यानाकर्षण पत्र पठाइसकेको छ । आयोगले महसुल वृद्धिको निर्णय गर्ने अधिकार प्रचलित कानुन सम्मत नभएको जनाउँदै ध्यानाकर्षण गराएको थियो । आयोगले कानुनको बेवास्ता गर्दै गैरकानुनी तबरले खानेपानी शुल्क वृद्धि गरेको समेत जनाएको छ ।
दलहरूले खानेपानीको महसुल तथा शुल्क पुरानै दररेट कायम नभएसम्म खानेपानीको महसुल तथा शुल्क नबुझाउन समेत धरानबासीलाई अपिल समेत गरेका थिए भने खानेपानी महसुल बुझाउने काउन्टरमा ताला समेत लगाइसकेका छन् ।
उता दलहरूले भने आन्दोलनलाई अर्को रुपमा प्रस्तुत गर्ने बताएका छन् । मङ्गलबार नै पत्रकार सम्मेलन गर्दै उनीहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेर आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले मेयर साम्पाङले वार्तामा नबोलाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । वार्तामार्फत समस्याको समाधान गर्न उनीहरुले आग्रह गरेका छन् ।
उता मेयर साम्पाङले तालाबन्दी गर्ने दलहरूको कदमविरूद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन् ।
दायर गरिएको रिटमा धरानको खानेपानी बोर्डको कार्यालयमा राजनीतिक दलहरूले लगाएको तालाबन्दी खोल्न अदालतले अन्तरिम आदेश दिएको छ ।
मंगलबार न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले उत्प्रेषण परमादेश माग भएको निवेदनमा साउन २८ गतेसम्मको लागि खानेपानी बोर्डमा तालाबन्दी नगर्नू–नगराउनू भन्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अदालतले ‘तत्काल ताला खोलेर खानेपानीको नियमित सेवा सञ्चालन गर्न दिनू, खानेपानीको व्यवस्थापन, वितरण एवं सञ्चालनमा कुनै अवरोध नगर्नू, नगराउनू’ भनी विपक्षीहरूको नाममा आदेश जारी गरेको हो । अदालतले अन्तरिम आदेश गर्नेबारे भने साउन २८ गते दुवै पक्षलाई छ्लफलको लागि बोलाएको छ ।
यसअघि नै खानेपानी सरसफाइ सेवा महसुल निर्धारण आयोगले शुल्क नबढाउन र महसुल कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति: साउन २२ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend