धरानः सुनसरीमा कारको ठक्करले एकजनाको मृत्यु भएको छ ।
इटहरी-१२ रिलायन्स फ्याक्ट्री गेटअगाडि कोशी लोकमार्गमा विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्र१–०१–००१च ७६५५ नम्बरको रातो कलरको कारले पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्दै गरेको साइकलयात्री इटहरी-१३ का ६५ वर्षीय रामप्रसाद घिमिरेलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित विराट नरसिङ होम पुरयाइएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालक इटहरी–१२ का ३७ वर्षीय पूर्णबहादुर कार्की फरार रहेको र खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच मोरङको विराटनगरमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पिपलचोकमा को१च ५१९१ नम्बरको कारले मधेस प्रदेश ०१–००४ प २७८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोटरसाइकलका चालक मोरङको बूढीगंगा गाउँपालिका–५ का ४० वर्षीय फेकुलाल सरदारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका निम्ति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँ पुरयाउनासाथ चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।
कारका चालक मोरङै पथरीशनिश्चरे नगरपालिका–१० का ४६ वर्षीय जीवन कटवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।