Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सोलुखुम्बुको थामेमा लेदोसहितको पहिरोले १४ घर बगायो, हिमताल विस्फोट भएको प्रारम्भिक अध्ययन

हाम्रो कोशी आवाज
साउन ३२ २०८१, शुक्रबार
सोलुखुम्बुको थामेमा लेदोसहितको पहिरोले १४ घर बगायो, हिमताल विस्फोट भएको प्रारम्भिक अध्ययन

धरानः सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामे वस्तीमा आएको लेदो सहितको बाढीले १४ वटा घर बगाएको गाउँपालिकाले जनाएको छ।
शुक्रबार साँझ विज्ञप्ति प्रकाशित गरी गाउँपालिकाले ‘उक्त वस्तीमा अचानक आएको बाढीबाट हालसम्म १ विद्यालय होस्टल, १ क्लिनिक, ५ वटा होटल र ७ वटा घरसहित १४ वटा भवनहरु पूर्ण रुपमा बगेका छन् भने अन्य घरमा समेत बाढी पसी धनमालको व्यापक क्षति भएको’ बताएको छ। बाढीको बहाव क्षेत्रका अन्य भौतिक संरचनाहरूमा समेत व्यापक क्षति पुगेको गाउँपालिकाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक अध्ययन गरेको छ । प्रारम्भिक अध्ययन गर्दा सो क्षेत्रमा सो थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठूला गरी ६ वटा हिमताल/हिमपोखरीहरू रहेको महाशाखाले जनाएको छ ।
“निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरूमध्ये कुनै हिमताल विस्फोट भएको हुन सक्ने देखिन्छ,” महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त क्षेत्रको नजिक रहेको फोर्से केन्द्रमा विगत सात दिनमा कुल ६५ मि.मि. वर्षा मापन भएको महाशाखाले जनाएको छ । “गत साउन २५ (अगष्ट ९) गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भएको (९.७ वाट ११.० डिग्री सेल्सियस) देखिन्छ र साउन ३१ (अगष्ट १५) गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस पुगेको देखिन्छ,” विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले स्थानीय सरकार, स्थानीय प्रशासन र स्थानीय वासीको सहयोगमा उद्वार कार्य भइरहेको भन्दै खराब मौसमका कारण गाउँपालिकाका सबै जनप्रतिनिधी एवं कर्मचारी यथासमयमा उक्त बस्तीमा पुग्न नसकिएको र भोलि बिहानैदेखि उद्वार तथा राहत कार्यमा सम्पूर्ण जनप्रतिनिधी तथा कर्मचारी खटिने बताएका छन्।
गाउँपालिकाले सो स्थानमा गर्नुपर्ने थप उद्वार, राहत तथा पुनःस्थापनाको लागि संघीय सरकार, प्रदेश सरकार एवं गैर सरकारी संघ संस्थाबाट थप सहयोग र सहकार्यको अपेक्षा गरेको जनाएको छ।
थप सतर्कता अपनाऔँ : बाढी पूर्वानुमान महाशाखा
यस्तै, जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले सो क्षेत्रमा शनिबार विहानसम्म थप सकर्तता अपनाउन आग्रह गरेको छ।
शुक्रबार दिउँसो करिब १ः३० बजे थामेखोला एक्कासी बाढी आएको घट्नाको प्रारम्भिक अध्ययन गर्दा सो थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा साना ठूला गरी ६ वटा हिमताल÷हिमपोखरीहरू रहेको देखिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उक्त क्षेत्रको नजिक रहेको फोर्से केन्द्रमा विगत ७ दिनमा कुल ६५ मि.मि. वर्षा मापन भएको, साउन २५ (अगष्ट ९) गते देखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धी भएको (९.७ बाट ११.० डिग्रि सेल्सियस) देखिन्छ र साउन ३१ (अगष्ट १५) गतेको अधिकतम तापक्रम १५.९ डिग्रि सेल्सियस पुगेको देखिन्छ।
विभागले भनेको छ, ‘अतः माथि उल्लेख भएबमोजिमका विभिन्न प्रारम्भिक जानकारीबाट निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको कारण वा अन्य कुनै कारणले थामे खोला जलाधारमा रहेका विभिन्न हिमतालहरू मध्य कुनै हिमताल बिष्फोट भएको हुन सक्ने देखिन्छ।’
विभागले दूधकोशी जलाधारको सोलुखुम्बुदेखि खोटाङ र ओखलढुङ्गासम्मका तटीय क्षेत्रमा रहने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन दिउँसो २ः३० बजेबाट करिब १ लाख ४२ हजार एसएमएस् मार्फत पूर्वसूचना समेत प्रवाह गराईसकिएको जानकारी दिँदै घटनाको सम्बन्धमा विभागले थप अध्ययन गरी जनाएको छ।

प्रकाशित मिति: साउन ३२ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend