Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रेकर्ड ब्रेक गर्ने अविरल वर्षा भोलिदेखि मत्थर हुने, भोलिदेखि घाम-बादल हुँदै वर्षा कम हुने, सोमबारदेखि मौसम सफा

हाम्रो कोशी आवाज
असोज १२ २०८१, शनिबार
रेकर्ड ब्रेक गर्ने अविरल वर्षा भोलिदेखि मत्थर हुने, भोलिदेखि घाम-बादल हुँदै वर्षा कम हुने, सोमबारदेखि मौसम सफा

धरानः तीन दिनदेखि परिरहेको अविरल वर्षा शनिबार बेलुकादेखि मत्थर हुँदै जाने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिए । ‘आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन शुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो अब हट्दै जान्छ’, उनले भने । भोलिदेखि अहिलेको मौसमी प्रणाली कमजोर हुँदै जाने उनको भनाइ छ ।
केही समयअघिदेखि पानी पर्न कम भएको छ । राति फेरि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति (शनिबार बेलुका ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म) वर्षा भए पनि हिजोआजको जस्तो नहुने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए । राति काठमाडौंसहित कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।
‘मौसममा सुधार हुन्छ । अहिले वर्षा रोकिएको जस्तै छ,’ उनले भने, ‘राति फेरि वर्षाको सम्भावना छ । तर, हिजोअस्तिको जस्तो नहुन सक्छ ।’
गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भेगयता भने वर्षाको सम्भावना छ । लुम्बिनीको पूर्वी भेगदेखि कोशी प्रदेशसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए । शनिबार राति यी प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुनसक्छ ।
आइतबार (भोलि) पनि बिहान, दिउँसोसम्म वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए । आइतबार देशका केही स्थानमा कुनैकुनै बेला घाम पनि लाग्न सक्ने उनले बताए । ‘भोलि मौसममा थप सुधार हुने देखिन्छ । घाम पनि लाग्ने सम्भावना छ,’ उनले भने ।
‘घाम नै लागिरहन्छ भन्ने होइन, घाम–बादल हुने सम्भावना छ,’ उनले भने, ‘बदली (आकाशमा बादल) नै हुन्छ ।’ सोमबार (पर्सि) देखि भने मौसम सफा हुने उनले बताए । हाल देशभर मनसुनी वायुको प्रभाव छ । भारतको मध्य प्रदेश र आसपासको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको महाशाखाले जनाएको छ । शुक्रबार र शनिबारको वर्षासँगै बाढीपहिरोले देशभर जनधनको ठूलो क्षति भएको छ ।

प्रकाशित मिति: असोज १२ २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend