Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयर हर्क साम्पाङले शर्त राखेर कार्यवाहकको जिम्मेवारी वडाध्यक्षलाई दिएपछि बढ्यो विवाद, उपमेयर फायर (भिडियोसहित)

हाम्रो कोशी आवाज
असोज २९ २०८१, मंगलबार
धरानका मेयर हर्क साम्पाङले शर्त राखेर कार्यवाहकको जिम्मेवारी वडाध्यक्षलाई दिएपछि बढ्यो विवाद, उपमेयर फायर (भिडियोसहित)

धरानः धरान उपमहानगरपालिका मेयर हर्कराज राई साम्पाङले उपमहानगरपालिकामा कार्यवाहक मेयरको जिम्मेवारी धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई दिएर हिँडेपछि अहिले विवाद बढ्दै गएको छ ।
यसैबीच दशैं विदापछि कार्यालय लागेपछि समयमै आएर कार्यवाहकको जिम्मेवारी वडाध्यक्ष फागोले लिएका छन् । उनले हाम्रो कोशी आवाजसँग कुरा गर्दै आफूले जिम्मेवारी पाउनु ऐतिहासिक लागेपनि त्यति उत्सुक र खुशीले नभएको बताउँदै विवादले गर्दा आफूलाई केही असर परेको बताएका छन् । ‘ऐतिहासिक तर थोरै विवादित जस्तो पनि छ, मलाई त्यति उत्सुकता र खुशी चाहिँ भा’को चाहिँ होइन । मुखबाट होइन, नाकबाट पानी खाएको जस्तो भएको छ ।’ उनले थपे, ‘म कार्यालय रुग्न नै आएको हुँ, आउने सेवाग्राहीको विचार सुनिदिने भएँ, मैले पनि वडा कार्यालयमा अर्कैलाई कार्यवाहक दिँदा रुँग्ने मात्रै छोडेर आएको हुँ ।’
अक्टोबर १७ तारिखका दिन (बिहीबार) साम्पाङ बेलायत उड्न लागेका हुन् । मेयर साम्पाङले गत असोज २३ गते नै पत्र पठाएर असोज २८ गतेदेखि कार्यवाहक जिम्मेवारी निर्वाह गर्न वडाध्यक्षलाई जिम्मेवारी सुम्पेका थिए ।
मेयर साम्पाङले वडाध्यक्ष फागोलाई यी काम गर्दै नगर्नू भन्दै शर्त राख्दै अधिकार दिएका छन् । मेयर साम्पाङले दैनिक ५ हजारभन्दा बढी आर्थिक सहयोग नगर्ने, कार्यपालिका बैठक बोलाउन नपाइने, कुनै बजेटका योजनाहरू स्वीकृत नगर्ने, कर्मचारीको बढुवा सरुवा नगर्ने लगायतका सर्त राखेर वडाध्यक्ष फागोलाई जिम्मेवारी सुम्पेका थिए । मेयर साम्पाङले वडाअध्यक्षलाई असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्ने गरी कार्यवाहक जिम्मेवारी निर्वाह गर्न पत्र थमाएका थिए । मेयर साम्पाङ कार्तिक १७ गतेमात्रै काठमाडौं आइपुग्नेछन् ।
साम्पाङले उपमेयर अइन्द्रविक्रम बेघा हुँदाहुँदै वडाध्यक्षलाई जिम्मेवारी दिएपछि चौतर्फी आलोचना र विवाद पनि बढ्दै गएको छ । मेयर साम्पाङ र उपमेयर बेघाबीच सम्बन्ध राम्रो नभएको कारण पनि उनलाई जिम्मेवारी नदिइएको हुनसक्ने अर्का वडाध्यक्ष बताउँछन् । कानूनत: नगर प्रमुख वा गाउँपालिका अध्यक्ष ७ दिन वा बढी समय उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा उपस्थित नहुने भएमा उपप्रमुख वा उपाध्यक्षलाई कार्यभार सुम्पने व्यवस्था छ । तर मेयर साम्पाङले वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् । स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यवाहक दिनुपर्ने व्यवस्था छ ।
यसअघि पटक–पटक कार्यपालिका बैठकमा मेयर, उपमेयरबीच द्वन्द्व चल्दै आएको थियो । शुरु शुरुमा हलगोरुका रुपमा चिनिएका मेयर, उपमेयर यही द्वन्द्वका बीच दुवैजना चिढिएका थिए । कार्यपालिका बैठकमै आफूलाई ‘विषालु मनको मान्छे’ भन्दै मेयर साम्पाङले फेसबुकमा लेखेको भन्दै उपमेयर बेघाले फायर बनेका थिए ।
उपमेयर बेघाले यस विषयमा पत्रकार सम्मेलन गर्ने भनेर तयारी पनि गरेका छन् । उनले सबै पत्रकारहरूलाई आज नै कार्यालयमा आउन भनेका छन् ।

प्रकाशित मिति: असोज २९ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend