धरानः धनकुटामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते बनेका छन् ।
धनकुटा–१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा ट्रक र दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
बिहीबार साँझ करिब ५ बजे हिलेबाट धनकुटातर्फ आउँदै गरेको प्र.नं. १–०२–००२ ख ०४७४ नम्बरको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको को१०प ९६८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनापछि विपरीत दिशाबाट आउँदै गरेको को३८प ३०६८ नम्बरको अर्को मोटरसाइकलसमेत दुर्घटनामा परेको थियो ।
दुर्घटनामा को१०प ९६८ नम्बरको मोटरसाइकलमा सवार धनकुटा नगरपालिका–१ निगालेकी करिब ५२ वर्षीया ठोमादेवी ठकुरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलका चालक धनकुटा नगरपालिका–३ निगालेका करिब ५३ वर्षीय गुणराज ठकुरी गम्भीर घाइते भएका छन् । उनलाई उद्धार गरी जिल्ला अस्पताल धनकुटा पठाइएको छ ।
त्यस्तै, अर्को मोटरसाइकलका चालक मोरङको विराटनगर महानगरपालिका–१ निवासी २० वर्षीय रोशन तामाङ सामान्य घाइते भएका छन् । उनको पनि जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारको कमान्डमा २५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले ट्रक चालक धरान उपमहानगरपालिका–२० निवासी ३८ वर्षीय चाङबहादुर तामाङ, ट्रक तथा दुवै मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
उता इलामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
इलाम नगरपालिका वडा नं ८ मसार कि माङकु लिम्बूको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा उनका दाजु सागर लिम्बू घाइते भएका छ्न । बिहीवार साँझ ६ः२० बजे झापास्थित कमल गाउँपालिका ३ सहिद गेट पूर्व–पश्चिम महेन्द्र लोकमार्गमा सवारी दुर्घटना परी बहिनीको मृत्यु भएको हो भने दाजु घाइते भएका हुन् ।