Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेयर साम्पाङले ‘काखी च्यापेर’ जिम्मा दिएका कार्यवाहक मेयर फागो हिँडेपछि धरान उपमहानगरपालिका मेयरबिहीन (भिडियोसहित)

हाम्रो कोशी आवाज
कार्तिक ५ २०८१, सोमबार
मेयर साम्पाङले ‘काखी च्यापेर’ जिम्मा दिएका कार्यवाहक मेयर फागो हिँडेपछि धरान उपमहानगरपालिका मेयरबिहीन (भिडियोसहित)

धरानः धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले गैरकानुनीरूपमा ‘काखी च्याप्दै’ वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका वडाध्यक्ष लोकेन्द्रकुमार फागो आज पनि केही समय कार्यालय आएका छन् । बिहान ११ बजे कार्यालय आइपुगेका उनी दिउँसो साढे ४ बजेसम्म कार्यालयमै थिए । केही समयपछि अदालतको पत्र पाएपछि उनी अदालतको पत्र बुझेर अन्ततः मेयरको कार्यकक्षबाट बाहिरिएका छन् ।
उनले अदालतको आदेश नमान्दै नगरपालिका छिरेर काम समेत गरेका थिए । उनले त्यहाँ बसेर दुईवटा तोक आदेश दिएको मेयर साम्पाङको सचिवालयले जनाएको छ । कार्यवाहक पाएका फागोले भने जनताको काम नगरी नहुनले हुनाले तोक आदेश दिएर पठाएको बताए । मेयर साम्पाङले फागोलाई कार्यवाहक दिएको विषयमा परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिँदै कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा उच्च अदालतले रोक लगाएको थियो ।
उच्च अदालत विराटनगरका न्यायाधीश ध्रुवराज नन्दको इजलासले मेयर साम्पाङको सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । उच्च अदालत विराटनगरले धरानका उपमेयर आइन्द्र विक्रम बेघाले दायर गरेको रिटको आइतबार सुनुवाइ गर्दै सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । अदालतको यो निर्णयसँगै कार्यवाहक मेयर फागोको कार्यवाहक पद स्वतः खारेज भएपछि धरान उपमहानगरपालिका अब मेयरबिहीन बनेको छ ।
सो प्रकरणमा उच्चले विपक्षीलाई कारण देखाऊ आदेशसमेत जारी भएको थियो । सो मुद्दाको अर्को सुनुवाई भोलि अर्थात् कार्तिक ६ गते हुनेछ । उत्प्रेषणयुक्त परमादेश माग्दै अदालत गएका उपमेयर बेघाको रिटमाथि आइतबार सुनुवाइ गर्दै अदालतले बुधबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
‘म छलफलका लागि पुग्छु’, पत्रकारहरुमाझ उनले भने, ‘अदालतको सम्मान गर्दै आजदेखि म विदा भएको छुँ ।’ उनले बुधबार अदालतले दिने निर्णयलाई अक्षरस पालना साथै सम्मान जाने समेत बताए ।
उनले आफूलाई मेयर साम्पाङले दिएको जिम्मेवारीलाई यतिन्जेल पूरा गरेको बताउँदै आफूले कानुन के कसो हो सो बारेमा पार्टी नेतृत्व, अन्य वडाध्यक्षहरू र उपमेयर बेघासँग पनि केही छलफल नै नगरी सिधै आएको समेत बताए । ‘म लप्पनछप्पन जाँन्दिनँ, मेयर साम्पाङले जे जिम्मेवारी दिनूभयो, सोही पूरा गरेको मात्रै हुँ ।’ उनले भनेका छन् । (भिडियो सुनौं)
स्थानीय सरकार सञ्चालन ऐन दफा १६ उपदफा ४ (क) को (१२) लाई लत्याउँदै गैर जिम्मेवारी कार्य गरेको उल्लेख गर्दै रिट दायर गरेका थिए । मेयर साम्पाङले उपप्रमुख हुँदाहुँदै ११ वडाध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी दिनु गलत भएको भन्दै कानुनी उपचारमा अदालतसम्म पुगेका थिए ।
नगर प्रमुख वा गाउँपालिका अध्यक्ष ७ दिन वा बढी समय उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिकामा उपस्थित नहुने भएमा उपप्रमुख वा उपाध्यक्षलाई कार्यभार सुम्पने कानुनी व्यवस्था छ । स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उप प्रमुखलाई कार्यवाहक दिनुपर्ने संविधानमा उल्लेख छ ।
तर मेयर साम्पाङले भने कानुनविपरीत वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएर आफू बेलायत पुगेका थिए । साम्पाङ २ नोभेम्बरमा स्वदेश फर्कनेछन् ।
मेयर साम्पाङले वडाध्यक्षलाई असोज २८ गतेबाट बेलायतबाट नफर्कुन्जेल ५ वटा शर्त राखेर अधिकार प्रत्यायोजन गरेका थिए । मेयर हर्क साम्पाङले वडाध्यक्षलाई कार्यवाहक दिएको पत्रमा विभिन्न ५ सर्त उल्लेख गरिएको थिए ।
मेयर साम्पाङले भने आफूलाई सहज हुने व्यक्तिलाई जिम्मेवारी दिएको बताएका थिए । उपमेयर बेघाले भने आफूलाई कार्यवाहक नदिइ अन्यायमा पारी ‘विष्ट्याएर’ हिँडेको प्रतिक्रिया दिएका छन् । ‘व्यक्तिगत रिस होला तर त्यसो गर्नु हुँदैन थियो ।’ उनले भनेका छन् । मेयर साम्पाङ र कार्यवाहक पाएका वडाध्यक्ष पारिवारिक नाता पर्ने थिए । फागो, मेयर साम्पाङको मामाससुरा हुन् ।
अवैधानिकरूपमा वडाध्यक्ष फागोलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएपछि धरानमा पाँच राजनीतिक दलले आपत्ति जनाएका थिए भने नेपाली काङ्ग्रेस भने मौन देखिएको थियो ।

प्रकाशित मिति: कार्तिक ५ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend