धरानः धरान-५ आँपटार चोकका साजन मेवाहाङ राई करिब दुई वर्षअघि श्रीमतीको मृत्यु भएपछि बिरत्तिएर काठमाडौं हान्निएका थिए । १२ र ६ वर्षका दुई छोरा लिएर काठमाडौं पुगेका उनी त्यहीँ जसोतसो ज्याला मजदुरी गरेर उनीहरूलाई पढाउने र हुर्काउने काम गरिरहेका थिए । तर अब यी दुई बालकका बुवा साजन कहिल्यै फर्किने छैनन् ।
जेन–जी आन्दोलनको क्रममा उनको गोली लागेर मृत्यु भइसकेको छ । आन्दोलनमा अहिले ७२ जनाको ज्यान गइसकेको छ । जसमध्ये सुरक्षाकर्मीले अन्धाधुन्ध गोली हान्दा उनी पनि मृत्युको समाचार बनेका थिए ।
मङ्गलबार सरकारले आन्दोलनमा मारिएकाहरूको काठमाडौंमा नगर परिक्रमासहित शवयात्रापछि साजनको शव परिवारलाई जिम्मा लगाएको छ । त्यस क्रममा धरानको भानुचोकमा पनि श्रद्धाञ्जलीसभाको आयोजना भएको थियो । नगर परिक्रमापछि उनको पनि अन्त्येष्टी गरिने परिवारजनले जनाएका छन् । भानुचोकमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले शवमा राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मान दिएका थिए । जेन–जी प्रदर्शनका क्रममा गत भदौ २३ गते प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो ।
‘आन्दोलनको पहिलो दिन रमित हेर्न पुगेका साजन त्यो दिन नै १९ जनाको मृत्यु भएको समाचार बाहिरिइसकेपछि दोस्रो दिन पनि जान्छु भन्दै घरबाट हिँडेका थिए,’ भतिज भरतले भने, ‘दोस्रो काका निकै उत्तेजित हुनुहुन्थ्यो, कलिला छोराछोरीलाई गोली हान्ने भन्दै निकै आक्रोशित पनि थिए, दुर्भाग्य भन्नुपर्छ, आन्दोलनमा नेपाली झन्डा बोकेर पुगेका काकाको दोस्रोदिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली छातीमै लाग्यो, सडकमै ढले । र जेनजी आन्दोलनको सहिद हुनुपरयो ।’
देश नै भ्रष्टाचारमुक्त बनाउने एजेण्डा बोकेको यो आन्दोलनबारे थाहा पाएका उनले आन्दोलन कस्तो हुने हो भन्नेबारेमा पत्तै नपाएको उनी बताउँछन् । ‘खासमा एजेन्डा राम्रो लागेर नै १९ जना मारिएको रिस उनमा पनि थियो ।’ उनले भने ।
साजन आन्दोलनको अग्रपंक्तिमै ठिमीमा प्रदर्शन गरिरहेको बेला प्रदर्शनकै क्रममा प्रहरीले गोली चलाउँदा साजनको छातीमा गोली लागेको थियो । सडकमा ढलेका साजनलाई उठाएर कोरियन अस्पतालमा साथीहरुले लगेका थिए । त्यहाँ पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।
४२ वर्षीय साजनकी श्रीमती २२ महिना अघि नै अप्रिय घटनाले बितेकी थिइन् । जेनजी आन्दोलनमा साजनको ज्यान गएपछि आफन्तको संरक्षणमा रहेका ती दुई नाबालकको अहिले बिचल्नी भएको भतिज भरत राईले बताए । उनका अनुसार अहिले यी दुई बालकको लागि सहयोगको याचना गरिरहेका छौं । कोष खडा गरेर यी दुई नाबालकको लालनपालनमा लागिरहेको उनले जानकारी दिए ।
ती अबोध छोराले अहिलेसम्म बुबालाई के भएको हो सम्म थाहा नभएको आफन्तले बताएका छन् । संखुवासभाका उनी सामान्य परिवारका थिए । ‘काकाको आर्थिक अवस्था कमजोर थियो । काठमाडौंमा ज्याला मजदुरी गर्दै छोरा पाल्दै, पढाउँदै हुनुहुन्थ्यो, राज्यले यिनीहरुलाई टुहुरो बनाइदियो ।’ उनी थप्छन् । अब यी नानीबाबुहरूको लालनपालन र पढाउन समस्या हुने उनी बताउँछन् ।
‘राज्यले सहिद परिवारलाई १५ लाख रुपैयाँ दिने भनेको छ तर त्यो कहिले आउने हो टुङ्गो छैन, अहिले के गरौं कसो गरौं भइरहेका छौं ।’ शिक्षक समेत रहेका आफन्त विश्वरसिंह राईले भने । अहिले उनीहरुको लागि बैंक खाता खोलेर सहयोग अभियान चलाइएको र हाल १ लाख रुपैयाँ संकलन पनि भइसकेको उनले बताए । उनले ९८६१३८२०५ मा सम्पर्क गरी सहयोग गरिदिन हुन पनि आग्रह गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले जेन–जी प्रदर्शनमा मारिएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र मृतक परिवारलाई खर्चसमेत गरी १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो । असोज १ गते राष्ट्रिय शोक दिवसको घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।



