हर्क साम्पाङको लागि रास्वपाकी सरिन र नेकपाका मनोज नै ‘तगारो’
धरानः सुनसरी १ देशभरकै ध्यान खिचेको निर्वाचन क्षेत्र हो । धरान उपमहानगरपालिका मेयर र वडाध्यक्षबाट राजीनामा दिएर संसदीय यात्रामा रहेका हर्कराज राई (साम्पाङ) र वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) को पहिलादेखि नै पाउँदै आएको चर्चा र उनीहरू दुवैजना चुनावी मैदानमा होमिनुले पनि धेरैको ध्यान खिचेको हो भन्न सकिन्छ ।
धरानको दीर्घकालीन पूर्वाधार निर्माणमा उनीहरुको के कति योगदान रहयो भन्नेचाहिँ थप खोजीको विषय हुन सक्छ । आफ्ना मतदाताका कम र सामाजिक सञ्जालमा भावनात्मक समर्थन जुटाएका साम्पाङले नगर प्रमुखको एक कार्यकाल पूरा गर्न चाहेनन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङ र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट मनोजबीच उपमहानगरपालिको कार्यकाल अवधिभर रहेको चर्चा अहिलेसम्म सेलाएको छैन । त्यतिबेला कार्यपालिकामा देखिएको टकराव चुनावी मैदानमा समेत देखिएको छ ।
कार्यपालिका बैठकमा पूर्व मेयर साम्पाङले वडाध्यक्ष भट्टराईलाई भनेका थिए-: यहाँ मैले भनेअनुसार नै हुन्छ, तपाईले भनेअनुसार गर्न अर्को चुनाव जितेर आउनू ल । पूर्व वडाध्यक्ष भट्टराईको जवाफ थियो– हुन्छ त, लु चुनाव लडौं, तपाईंले जहाँ जुन पदमा उठ्नुहुन्छ म त्यहीँ उठेर जितेर देखाइदिन्छु ।’ सँगै चुनाव लडौं भन्ने कुरा भने सेलाएको छैन । यो पनि थप चुनावी मसला नै हो ।
साम्पाङले कार्तिकमै मात्रै पार्टी खोलेका हुन् । वर्षदिन बढी समय छँदै मेयरबाट राजीनामा दिएर चुनावमा होमिएका साम्पाङ ‘म नै प्रधानमन्त्री’ भन्ने दाबीका साथ चुनावी यात्रामा छन् । भट्टराई प्रचण्डले मन्त्री बनाइदिने दावीका साथ चुनावी यात्रामा छन् । चुनावी यात्रामा त होमिए तर सुनसरी १ मा उनीहरू दुवैलाई सहज भने छैन । रास्वपामा बालेन्द्र शाह (बालेन) को प्रवेश, संगठनको हिसाबले दर्बिलो कांग्रेस, एमाले र अन्य २१ जना उम्मेदवारसँग दुवैको प्रतिस्पर्धा हुनेछ । संगठनको हिसाबले यी दुवै उम्मेदवार कमजोर नै हुन् । साम्पाङले तल्लो तहसम्म थोरै संगठन विस्तार गर्न भ्याएका छन् भने २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अशोक राईले १७ हजार ५९ मत ल्याएर जीत निकाल्दा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत प्राप्त गरेका थिए ।

दुवैले ‘म्यान्डेट’ भुले
कतिपय धरानबासीले उनीहरू दुवैजना ५ वर्ष जनताले दिएको ‘म्यान्डेट’ भुलेर चुनावी मैदानमा होमिएको भन्दै असन्तुष्टि पनि जनाइरहेका छन् । ‘५ वर्ष धरानमा बसेर राम्रो काम गर्नू भनेर हामीले मतदान गरेका हौं’, धरान-६ का मतदाता सरिता सुब्बा भन्छिन्, ‘पूरा कार्यकाल काम गरेर नतिजा ननिकाली चुनावमा होमिनु दुःखद् हो ।’ अहिले पनि दुवैजनाले थालेका कतिपय योजनाहरू लथालिङ्ग अवस्थामा छन् ।
चुनावी अंक गणित
सुनसरी १ मा गणितीय हिसाबले हेर्दा कसैलाई सहज भने छैन । किनकि, कांग्रेस, एमाले जस्ता ठूला दलको संगठन दर्बिलो छ । प्रजातन्त्रपछि २०४८ सालमा भएको निर्वाचनमा मनमोहन अधिकारीले जितेदेखि यहाँ एमालेकै वर्चस्व देखिन्छ । २०७९ को चुनावमा रवि लामिछानेको क्रेजले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) ले धरानभरमा त जसपा र एमालेको साझा उम्मेदवार बनेका अशोकलाई आच्छुआच्छु पारेकी थिइन् । जब बराहक्षेत्रको मतगणना शुरु भयो त्यसपछि सरिन पछि पर्दै गएकी थिइन् । उनले १६ हजार ६ सय ६ मत पाएकी थिइन् । यस्तै, राप्रपाका अशोककुमार राईले सात हजार ८८४ र एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्बोले सात हजार ८१२ मत ल्याएका थिए ।
कांग्रेस र एमालेलाई कलहकै डर
फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि एमालेका तर्फबाट टिकाराम माङलेन (लिम्बू), नेपाली कांग्रेसका तर्फबाट सुनसरी १ मा क्षेत्रीय सभापति सुजेन्द्र तामाङ मैदानमा छन् । यस्तै, राप्रपाबाट उद्धव श्रेष्ठ पनि चुनावी मैदानमा छन् ।
समग्रमा हेर्दा अंक गणित र संगठनको हिसाबले यहाँ एमालेको प्रभाव बलियो देखिन्छ तर केही वर्षदेखि एमाले विभाजित छ । यसले पनि चुनावलाई असर गर्दछ । स्थानीय तहको निर्वाचनमा विभाजित एमालेकै मतले साम्पाङले बाजी मारे । दुई भागमा विभाजित एमाले यसपटक पनि विभाजित जस्तै देखिन्छ । यस निर्वाचनमा एमालेले पहिला एउटाले टिकट पायो, उम्मेदवारी दर्ता गराउन पुग्दा अर्कै उम्मेदवार देखिँदा चुनावी गणितमा असर पर्ने देखिएको स्थानीय नेताहरू नै विश्लेषण छ । जेनजी आन्दोलन एमाले सत्तामै रहँदा भएकोले पनि उसको मत केही तल पर्ने देखिएको विश्लेषण हुँदै आएको छ ।
कांग्रेसलाई पनि यसपटक निकै अप्ठयारो पर्ने देखिन्छ । कांग्रेसलाई दलभित्रकै कलहले सताइरहेको अवस्था छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको कांग्रेसले खासगरी यसअघिको संस्थापन पक्ष अर्थात् शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताको साथ खुलेर पाउन सकेको छैन । यसले पनि कांग्रेस कार्यकर्ता निराश देखिन्छन् । देउवालाई नेतृत्वबाट हटाइएको र उम्मेदवारसमेत बन्न नदिइएकोमा कांग्रेस कार्यकर्तामा तीव्र आक्रोश देखिन्छ । कांग्रेस कार्यकर्ता विभाजित मानसिकतामा देखिएका छन्, जसले पार्टीका उम्मेदवारमाथि संकट निम्त्याउन सक्ने देखिएको राजनीतिक विश्लेषक राजेन्द्र शर्मा बताउँछन् ।

साम्पाङको लागि रास्वपाकी सरिन र नेकपाका मनोज ‘तगारो’
नयाँ राजनीतिक दलहरूले पुरानो दलको कमजोरीलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । साम्पाङको लहर देखिएको धरानमा सरिन र पुराना दलबाट नेकपाका मनोज ‘तगारो’ बनेर उभिएका छन् । उनीहरुको पनि क्रेज निकै राम्रो छ । भोट माग्ने शैलीदेखि प्रचारप्रसारमा साम्पाङ जति अगाडि छन्, उनीहरु पनि अगाडि नै छन् ।
रास्वपामा बालेनको प्रवेशपछि सरिन उत्साहित छिन् । साम्पाङसँगै प्रतिस्पर्धा गर्ने भनेर पहिला देखि नै तयारीमा रहेका मनोज पनि कम छैनन् । उनी आफू कार्यपालिका बैठकमा जनताकै कुरा उठाउँदा आफू साम्पाङबाटै विभिन्न नाम राखिदिएर अपमानित भएको भन्दै सहर्ष स्वीकार्दै अघि बढिरहेका छन् । राजनीतिक विश्लेषक शर्मा भन्छन्–मनोज आफैं प्रतिस्पर्धामा छन्, उनी तगारो बन्ने नै भए, अब रह्यो बालेनको कुरा, हरेक सभाहरुमा भाषण गर्दा बालेनको आलोचना र खेदो खन्ने काम गरेको हुनाले बालेन पक्षका मानिस पनि हर्क साम्पाङसँग रिसाएका हुन सक्छन्, त्यसो हुनाले साम्पाङको तार्गेट बालेनविरुद्ध छ । बालेनविरुद्ध लाग्दा उनको मत केही घट्दा बालेनलाई फाइदा पुग्छ । त्यो हुनाले पनि यहाँकी उम्मेदवार सरिन साम्पाङको लागि तगारो नै हुन् ।
श्रम संस्कृति पार्टीका प्रवक्ता सत्य घले पनि यस कुरामा स्वीकार गर्छन् । उनी भन्छन्, ‘हाम्रो मुख्य प्रतिस्पर्धी कांग्रेस, एमाले नै हुन् तर पनि मनोज र सरिन हाम्रा लागि तगारोचाहिँ हुन् ।’
साम्पाङले जसलाई होच्याए, उनैले दिइरहेका छन् कडा टक्कर
साम्पाङ र उनका समर्थकले मनोज र सरिनलाई यसअघि अपमानजनक ढङ्गले व्यवहार गरेको उनीहरुले भित्रभित्रै महसुस गरिरहेका छन् । साम्पाङ र समर्थकले ‘गुइँठे’, ‘ढुकुरे’ भन्दै हियाएका साथै होच्याएपनि मनोज अहिले हर्षित छन् । मनोजले त खुलेरै भनिरहेका छन्- मलाई साम्पाङ र उनका समर्थकले बदनाम गर्न ढुकेर, गुइँठेजस्ता उपनाम दिएर सारो हेप्नुभयो तर पनि मैले उहाँहरुलाई सम्मान गर्दै फूलको वर्षा गराउन चाहिरहेको छु ।
उता सरिनलाई पनि साम्पाङ र समर्थकले तथानाम गाली गर्दै उपनाम नै जोडिदिएका थिए । यस विषयमा उनी भने विषयमा खासै बोल्नै चाहिनन् । उनी भन्छिन्, ‘पहिला जे भयो भयो, त्यतिबेलै भयो, उहाँहरूमा जस्तो संस्कार छ, त्यो अनुसार मानिसले गर्ने हो मैले त्यसलाई त्यतिबेला पनि कानुनअनुसार जान खोजेको थिएँ, तर गइनँ, साँच्चै भन्ने हो भने मैले त्यतिबेला पनि र यतिबेला पनि ठूलो विषय बनाउँदिनँ ।’

मतदाता के भन्छन् ?
मतदाताले आफ्नो अभिमत ‘ब्यालेट’मार्फत जाहेर चाहिरहेका छन् । धरान–११ का स्थानीय सुमिना राई ‘ठूला भनिएका सबै दललाई हामीले हेरिसक्यौं, उनीहरूले पटक–पटक सरकारको नेतृत्व गर्दा पनि हाम्रा लागि केही उपलब्धि भएन । अब नयाँलाई पाँच वर्ष ढुक्कले सरकार चलाउन सक्ने गरी मत दिएको खण्डमा केही हुन्थ्यो कि ! उसले पनि गरेन भने पाँच वर्षपछि फेरि मन बदलौंला नि ।’
बराहक्षेत्रका-२ सविन बस्नेतले देशमा राजनीतिक स्थिरता हुन नसकेकै कारण विकास निर्माणका कामले गति लिन नसकेको बताए । उनले भने, ‘सरकार बनाउने, टिकाउने र ढाल्ने खेलमै दलहरू सधैंभरि व्यस्त हुन्छन्, अनि विकास निर्माणको काम समयमै भयो कि भएन, कस्ता योजना अघि बढाउने र त्यसबाट जनताले कस्तो प्रतिफल पाउँछन् भन्ने लेखाजोखा यिनले कहिले गर्नु ?’ पुरानालाई हेरयौं पटक–पटक नयाँलाई हेरौं यसपटकको स्थितिमा अधिकांश मतदाता पुगेको उनको बुझाइ छ । ‘अब स्थिर र जनताप्रति इमानदार सरकार गठनका लागि जनताले एउटै पार्टीलाई बहुमत पुग्ने गरी जिताउनु पर्छ,’ उनले भने, ‘यिनै पुराना पार्टी फेरि निर्णायक बनेको खण्डमा देशको अवस्थामा के सुधार आउला र ?’
त्रिपक्षीय प्रतिस्पर्धा
सुनसरी १ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । साम्पाङको श्रम संस्कृति पार्टी, बालेनको राष्ट्रिय स्वतन्त्र पार्टी र प्रचण्डको नेपाली कम्युनिष्ट पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको विश्लेषक राजेन्द्र शर्मा बताउँछन् । ‘मैले अहिलेसम्म देख्दाचाहिँ घण्टी, माटो र ताराबीच कडा प्रतिस्पर्धा देखेको छु’, उनी भन्छन्, ‘दुई दिनको मौन अवधिमा कत्तिको चलखेल हुन्छ र त्यसबाट के परिवर्तन आउँछ, होइन भने तीनवटा दलको हाराहारीमा मत संख्या गइरहेको देखिन्छ । बामपन्थीको आधार इलाकामा साम्पाङको राम्रो मत रहेको र सहरको एरिया जहाँ कांग्रेसको आधार इलाका छ, त्यहाँ घण्टी र माटोको मत बढी रहेको पाएँ, यसकारण पनि त्रिपक्षीय प्रतिस्पर्धा छ ।’ उनले चुनाव नतिजा कसको पक्षमा जान्छ यसै भन्न नसकिए यी तीन दलमध्ये एकले जित निकाल्न सक्ने आफ्नो आँकलन रहेको बताए । एमाले र कांग्रेस रक्षात्मक अवस्थामा पुग्दा यी तीन दलबीच प्रतिस्पर्धा देखिएको उनी बताउँछन् ।
धरानमा माधव नेपालका कार्यकर्ता पनि धेरै छन् । जसले यसअघि साम्पाङलाई नै जिताउन भूमिका खेलेको र यो कुरा अहिले पनि साम्पाङ साथै अन्य दलहरूले पनि कम आँकिरहेको हुनाले मनोजको पक्षमा मत खस्ने उनको अनुमान छ । मनोजले आफ्नै उम्मेदवारले यसअघि पाएको मत जोगाउन सके भने उनको पोल्टामा जान सक्ने उनको बुझाइ छ ।
यस्तै, साम्पाङले संगठन विस्तार नगरेपनि उनले गरेका केही योगदानले उनले मत अगाडि बढाउन सक्ने बुझाइ विश्लेषक शर्माको छ । यस्तै, देशैभर बालेनको क्रेज बढेको र एउटा सांसद थप्दा दललाई माथि लैजान सहयोग पुग्ने साथै कोशीको पानी रास्वपाले खुवाउँछु भनेर बालेनले फालेको कार्डले धराने मतदाताको मन जितिरहेको उनको बुझाइ छ । धरानमा खानेपानी सुधारेका हर्कलाई न्याय गर्ने पक्षमा रहेका धेरै मतदाता पनि हर्कले रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनलाई गाली गरेको मन नपराएको उनी बताउँछन् ।
‘न्यूटल’ मत निर्णायक
कसको जित हुने भन्ने फैसला गर्ने जिम्मा चाहिँ फागुन २१ मा सुनसरी १ का मतदातालाई हो । १ लाख ५० हजार ३९३ जना मतदाताको काँधमा छ । सबै जातिको बसोबास रहेको धरानमा राई, लिम्बू, नेवार, क्षेत्री, ब्राहमण, गुरुङ, तामाङ, मगरलगायत जातिको मत निर्णायक हुने देखिन्छ । सुनसरी १ मा पर्ने धरान उपमहानगरपालिकामा मात्रै एक लाख १० हजार ९३९ मतदाता रहेका छन् ।
सुनसरी १ चुनाव थप रोचक हुने नै छ । साम्पाङ राई समुदायबाट उम्मेदवार बन्नुले सबैभन्दा बढी फाइदा पुग्ने उनको बुझाइ छ । यसअघि खानेपानीमा गरेको सुधारकै कारण पनि आफूले जित्नेमा साम्पाङ ढुक्क छन् ।
यस्तै, रास्वपाकी गोमा अघिल्लो पटकको उपविजेता हुनुले पनि केही मतदाताको सहानुभूति रहने आशामा छिन् । रास्वपाका धरान नगरसभापति सुमन श्रेष्ठले बालेनको क्रेज र साम्पाङले कोशीको पानी खुवाउँछु भनेर एजेन्डा पस्किएपनि पूरा नगरेकोले बालेन प्रधानमन्त्री बने त्यो सहजै पूरा हुने भएकोले यतातर्फ मतदाता ढल्किएको बताउँछन् । ‘देशभर रास्वपाको पक्षमा आएको लहरले हामी जित्छौं । यसपटक उहाँलाई पनि मतदाताले राम्ररी चिन्नु भएको छ,’ उनी भन्छन् । पहिला रविको क्रेज, अहिले बालेनको लहरले आफूहरुले चुनाव जित्ने उनले बताए । कारण– बालेनले काठमाडौं महानगरपालिकामा गरेको कामको चर्चा । यसपटक रास्वपाले बहुमत ल्याउँछ, भोट बाँडेर नदिनुहोला भन्दै सरिनले मत मागिसकेकी छिन् ।
यता नेकपाका मनोज समग्र सुनसरी १ को भूगोल र मनलाई जोड्न आफू उम्मेदवार रहेकोले आफूले जित्नेमा ढुक्क रहेको बताउँछन् । सुकुम्बासीको मत निर्णायक हुनसक्ने र सुकुम्बासीले आफूलाई समर्थन गरेकोले पनि आफूले कडा टक्कर दिँदै जीत निकाल्ने पक्षमा रहेको छु भन्छन् ।
कांग्रेस, एमालेकै मतको आशामा साम्पाङ र सरिन
साम्पाङ र सरिन कांग्रेस, एमालेकै मतको पनि आशामा छन् । श्रम संस्कृति पार्टीका प्रवक्ता सत्य घले कांग्रेस, एमालेकै मतले आफूहरूले जित निकाल्ने दावी गर्छछन् भने रास्वपाका सुमन श्रेष्ठ पनि अन्य दलका नेता कार्यकर्ता भएपनि चुपचाप घण्टीमा मत लगाउँछन् भन्ने ढुक्क रहेको बताउँछन् । साम्पाङलाई एमाले, कांग्रेस र माओवादीको ‘कोर भोट’ लाई काट्नु उनका लागि कठिन हुनेछ । सरिन आफूलाई यी दलले चुपचाप मत खसाल्ने दावी गर्छिन् । ‘२०१५ सालमा कांग्रेसमा लहर र दुई तिहाइ दिएजस्तै यसपटक रास्वपामा लहर देखेको छु, यही लहरले सबैलाई बढारिदिन सक्छ ।’ उनी भन्छिन् ।
धरान–१४ का प्रेमप्रसाद पराजुली यो सँगै ‘न्युटल’ मतदाता निर्णायक रहने बताउँछन् । ‘धरानमा दलहरूको मतभन्दा पनि दलमा नलागेका मतदाता नै उल्टोपाल्टो पारिदिन्छन्, त्यो मत नै निर्णायक हुनेछ ।’
पानीः सधैंको चुनावी एजेन्डा, यसपटक पनि सबैको एजेन्डा
धरान नगरबासीका लागि पानी प्रमुख समस्या भएकाले प्रत्येक चुनावमा दलहरुले पानीलाई चुनावी एजेण्डा बनाउने गरेका छन् । ‘सुकुम्बासीलाई धनीपुर्जा दिलाउँछौं भन्ने र पानीको समस्या समाधान गर्ने भन्ने यहाँको चुनावमा भोट माग्ने स्थायी एजेण्डा हुन्’, स्थानीय वर्षा लिम्बू भन्छिन् ।
‘प्रत्येक चुनावमा सबै दलले पानीलाई प्राथमिक मुद्दा बनाउँछन् । यसपटक पनि पानीकै एजेन्डा सबैजसो दलले उठाएका छन् । उनले थपिन् । उनी साम्पाङ आएपछि पानीमा केही सुधार गरेपनि पर्याप्त नरहेको बताउँछिन् । धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा साम्पाङ आएपछि कोकाहलगायत अन्य ठाउँबाट १५ लाख लिटर मात्रै पानी थपिएको बताए । उनले पानीको दीर्घकालीन समस्या हल नभइसकेको बताए । ३ करोड लिटर पानी आवश्यक पर्ने र साम्पाङले थपेको पानीसहित २ करोड लिटर बढी पानी अहिले आइरहेको बताए ।
यसपटक कांग्रेस, एमाले, नेकपाले तमोरको पानी ल्याउने भनिरहेका छन् भने साम्पाङ र रास्वपाले कोशीको पानी ल्याएर समस्याको समाधान गर्ने बताइरहेका छन् ।

कहाँ कति मतदाता ?
सुनसरी १ मा कुल १ लाख ५० हजार ३ सय ९३ मतदाता छन् । निर्वाचन आयोगको विवरणअनुसार यस क्षेत्रमा पुरुष ७२ हजार १८०, महिला ७८ हजार २१२ तथा यौनिक तथा लैंगिक अल्पसंख्यक एकजना मतदाता छन् । धरान र बराहक्षेत्र नगरपालिकाका १, २, ३, ४ र ५ नम्बर वडा सुनसरी १ मा पर्छन् । बराहक्षेत्रको छिमेकी रामधुनी नगरपालिकाका वडा नम्बर ६ र ७ पनि यही निर्वाचन क्षेत्रभित्र छन् ।
कुन वडामा कति मतदाता ?
धरान उपमहानगरपालिका
वडा नम्बर १– ३,३६२
वडा नम्बर २– २,४१७
वडा नम्बर ३– ३,४९८
वडा नम्बर ४– २,६६१
वडा नम्बर ५– ७,६२६
वडा नम्बर ६– ५,६९९
वडा नम्बर ७– २,२८०
वडा नम्बर ८– ८,६९०
वडा नम्बर ९– २,७१५
वडा नम्बर १०– ३,७८८
वडा नम्बर ११– १०,७८८
वडा नम्बर १२– २,९३४
वडा नम्बर १३– ६,८४१
वडा नम्बर १४– ३,२२१
वडा नम्बर १५– १५,७०८
वडा नम्बर १६– ८,८६५
वडा नम्बर १७– १०,२२३
वडा नम्बर १८– २,४७२
वडा नम्बर १९– ४,२४१
वडा नम्बर २०– २,९१०
बराहक्षेत्र नगरपालिका
वडा नम्बर १– ४,५३८
वडा नम्बर २– ५,९२७
वडा नम्बर ३– ६,६८१
वडा नम्बर ४– ४,२६३
वडा नम्बर ५– ६,८३२
रामधुनी नगरपालिका
वडा नम्बर ६– ५,३०३
वडा नम्बर ७– ५,९१०


