धरानः भदौ १० गते नेपाल–तिब्बत सीमा क्षेत्रको लेहेन्दे खोलामा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ ।
त्रिशूली नदीको प्रमुख सहायक नदीमा आएको बाढीले सर्वसाधारणको जनजीवन मात्र अस्तव्यस्त पारेको छैन, राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानिने बैंकिङ क्षेत्रलाई समेत ठूलो धक्का दिएको छ ।
पछिल्लो प्राप्त विवरण अनुसार रसुवा र नुवाकोटका विभिन्न स्थानमा सञ्चालित ११ वटा वाणिज्य बैंकका १६ वटा शाखा कार्यालय बाढीले पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
बाढीमा परि विभिन्न बैंकमा कार्यरत २७ जना कर्मचारी हालसम्म बेपत्ता छन् । यस्तै काठमाडौंबाट गोसाइकुण्ड भ्रमणमा गएका मुक्तिनाथ विकास बैंकका २ कर्मचारी र लघुवित्तका समेत ६ जना कर्मचारी गरी ३१ जना कर्मचारी उक्त बाढीपछि सम्पर्कमा नभएको बैंकहरूले जनाएका छन् ।
सम्पर्कमा नभएका आफ्ना कर्मचारीको फोटो र नामसहित उद्धार तथा खोजीका लागि बैंकहरूले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत समेत आह्वान गरेका छन् ।
बाढीले क्षति पुगेका बाहेकका रसुवा र नुवाकोट शाखाबाट विपत्तिको समयमा पनि सेवा सुचारु गरिसकेको नेपाल बैंकर्स संघका अध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला बताउँछन् ।
बाढीका कारण विद्युत् नहुँदा अवरुद्ध भएको सेवा विद्युत् सुचारु भएसँगै सुरु भइसकेको अध्यक्ष कोइरालाले बताए । नुवाकोटकै विदुर लगायतका क्षेत्रमा रहेका शाखाहरूका साथै रसुवा सदरमुकाम धुन्चेमा रहेका शाखाहरूबाट सेवा सुरु गरिसकेको अध्यक्ष कोइरालाले बताए ।
वाणिज्य बैंकहरू बाहेक नुवाकोटमा रहेको ज्योति विकास बैंकको एउटा शाखा पूर्ण रूपमा क्षति भएको छ । लघुवित्ततर्फ ३ वटा संस्थाका ६ जना कर्मचारी अझै पनि सम्पर्कमा नआएको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले बताए ।
स्वावलम्बन लघुवित्तको बेत्रावती शाखाका २ जना, एनएमबि लघुवित्तको बेत्रावती शाखाका २ जना र सामुदायिक लघुवित्तको बेत्रावती शाखाका २ जना कर्मचारीहरू अझै पनि सम्पर्कमा नरहेको अध्यक्ष यादवले बताए ।
यी तीनवटै लघुवित्तका साथै छिमेक लघुवित्तको रसुवाको धौबुङ शाखा, निर्धन उत्थान लघुवित्तको रसुवाको कालिकास्थान शाखा, हिमालयन लघुवित्तको देवीघाट शाखा, विन नेपाल लघुवित्तको स्याफ्रुबेसी शाखा तथा बेत्रावती शाखा, सम्पदा लघुवित्तको बेत्रावती शाखा र एनआइसी एशियाको बेत्रावती शाखा पूर्ण रूपमा क्षति भएको अध्यक्ष यादवले बताए । अन्य क्षतिको विवरण भने संकलन भइरहेको उनले बताए ।
वाणिज्य बैंकहरूमा माछापुच्छ्रे बैंकको टिमुरे शाखाका ५ जना, ग्लोबल आइएमई बैंकको टिमुरे शाखाका १ जना र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्याफ्रुबेसी, टिमुरे शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टरका गरी ७ जना कर्मचारी बेपत्ता भएका छन् ।
प्रभु बैंकका ५ जना, एनएमबि बैंकका ४ जना (३ स्टाफ र १ सुरक्षागार्ड), सानिमा बैंकका २ जना, लक्ष्मी सनराइज बैंकका २ जना र हिमालयन बैंकका १ जना कर्मचारी सम्पर्कमा आएका छैनन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका विभिन्न शाखामा कार्यरत १२ जना कर्मचारी घाइते भएका छन् भने कृषि विकास बैंकको त्रिशूली शाखामा एक जना घाइते भएका छन् ।
बाढी प्रभावित क्षेत्रका बैंक शाखाहरूमा ठूलो परिमाणमा सर्वसाधारणको निक्षेप र कर्जा लगानी रहेको देखिएको छ । प्राप्त तथ्यांक अनुसार क्षतिग्रस्त १६ वटा शाखाहरूमा ७३ हजार २७५ वटा निक्षेप खाता सञ्चालनमा थिए । यी खाताहरूमा कुल ३ अर्ब ९८ करोड ८४ लाख १९ हजार रुपैयाँ निक्षेप रहेको थियो ।
कर्जातर्फ, २ हजार २८ वटा ऋण खातामार्फत २ अर्ब ३३ करोड १३ लाख ३३ हजार रुपैयाँ लगानी भएको देखिन्छ । बाढीले शाखाका कागजात र डिजिटल रेकर्डिङ सिस्टममा समेत क्षति पुर्याएको भए पनि सफ्टवेयरमा सबै विवरण सुरक्षित हुने बैंकर्स संघका अध्यक्ष कोइराला बताउँछन् ।
प्रारम्भिक अनुमान अनुसार बैंकहरूको कुल भौतिक क्षति ५५ करोड १६ लाख २८ हजार रुपैयाँ बराबरको रहेको छ । यसमध्ये सबैभन्दा बढी नोक्सानी कृषि विकास बैंकको त्रिशूली शाखामा भएको छ । आफ्नै भवनमा रहेको यो शाखा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा करिब ५० करोड रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ । उक्त शाखामा रहेका ६४ वटा लकरहरू समेत बाढीले बगाएको वा क्षतिग्रस्त भएको छ ।
बैंकहरूको भल्टमा रहेको नगद समेत बाढीले बगाएको छ । १५ वटा शाखाको भल्टमा रहेको कुल १५ करोड २ लाख १० हजार रुपैयाँ नगद बाढीमा परेको छ । यस्तै, ७ वटा बैंकका एटीएमको अवस्था अज्ञात छ, जसमा १ करोड ७ लाख ५६ हजार ५ सय रुपैयाँ नगद लोड गरिएको थियो ।
कृषि विकास बैंकको त्रिशूली शाखा पूर्ण क्षति भएको छ । जसको ५० करोड अनुमानित नोक्सानी भएको र शाखाका ६४ वटा लकर क्षतिग्रस्त भएका छन् । बैंकको एटीएममा समेत ५ लाख ६५ हजार रुपैयाँ लोड रहेको खुलेको छ । यस्तै भल्टमा १ करोड ७१ लाख २१ हजार रुपैयाँ र क्यास काउन्टरमा ४२ लाख रुपैयाँ रहेकोमा सबै बाढीमा परेको स्रोतले जनाएको छ ।
सिटिजन्स बैंकको देवीघाट शाखा पूर्ण क्षति हुँदा एटीएममा रहेको ६ लाख १५ हजार ५०० रुपैयाँ, भल्टको १ करोड ९ लाख ८ हजार र क्यास काउन्टरको ४४ लाख ७४ हजार रुपैयाँ तथा अन्य क्षति १ करोड २० लाख रुपैयाँ रहेको छ ।
ग्लोबल आइएमई बैंकको टिमुरे शाखा पूर्ण क्षति हुँदा ५ कर्मचारी बेपत्ता भएका छन् भने ६८ लाख नगद भल्टमा रहेकोमा बाढीले बगाएको हो ।
हिमालयन बैंकको बेत्रावती शाखा पूर्ण क्षति हुँदा १ कर्मचारी बेपत्ता भएको र एटीएममा रहेको ३५ लाख ४९ हजार ५०० रुपैयाँ, भल्टको २ करोड ८९ लाख ६० हजार रुपैयाँ तथा अन्य क्षति ५७ लाख ९१ हजार रहेको छ ।
लक्ष्मी सनराइज बैंकको टिमुरे शाखा पूर्ण क्षति हुँदा २ जना कर्मचारी बेपत्ता छन् भने भल्टसँगै ७५ लाख १८ हजार १६१ रुपैयाँ बगेको छ । त्यस्तै प्रारम्भिक विवरण अनुसार अन्य क्षति ८६ लाख रुपैयाँ रहेको छ ।
माछापुच्छ्रे बैंकको टिमुरे शाखा पूर्ण क्षति हुँदा ५ कर्मचारी बेपत्ता छन् । बैंकको भल्टमा रहेको ४५ लाख ९ हजार रुपैयाँ र अन्य क्षति ५७ लाख ४४ हजार रहेको छ । नबिल बैंकको टिमुरे शाखा पूर्ण क्षति हुँदा भल्टमा रहेको ३० लाख ६२ हजार रुपैयाँ र अन्य क्षति ४८ लाख २२ हजार रुपैयाँ बराबरको छ ।
एनआईसी एशिया बैंकका बेत्रावती, स्याफ्रुबेसी र त्रिशूली शाखामा क्षति पुगेको छ । त्रिशूली बाहेक अन्य शाखा पूर्ण क्षति हुँदा कुल ७० लाखभन्दा बढीको नोक्सानी जनाइएको छ । त्यस्तै बैंकको बेत्रावती शाखामा एटीएममा रहेको ८ लाख २६ हजार ५०० रुपैयाँ, स्याफ्रुबेसी शाखाको एटीएममा रहेको १३ लाख ९३ हजार रुपैयाँ र त्रिशूली शाखाको एटीएममा रहेको २५ लाख ९० हजार रुपैयाँ एटीएमसँगै बाढीमा बगेको हो । यस्तै बैंकको बेत्रावती शाखाको भल्टमा १ करोड २० लाख ६९ हजार रुपैयाँ, स्याफ्रुबेसी शाखाको भल्टमा ६० लाख २७ हजार र त्रिशूली शाखाको भल्टमा ६९ लाख ९६ हजार रुपैयाँ रहेकोमा बाढीमा शाखासँगै भल्ट पनि बगेको हो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका टिमुरे र स्याफ्रुबेसी शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टर पूर्ण क्षति हुँदा ७ कर्मचारी बेपत्ता र १२ जना घाइते छन् । बैंकको स्याफ्रुबेसी शाखाको एटीएममा ५ लाख २३ हजार रहेकोमा बाढीमा एटीएम पनि बगेको हो । बैंकको टिमुरे शाखाको भल्टमा ५५ लाख ११ हजार रुपैयाँ र स्याफ्रुबेसी शाखाको भल्टमा २ करोड २० लाख २९ हजार रुपैयाँ तथा मैलुङ एक्सटेन्सन काउन्टरको भल्टमा रहेको ७९ लाख ३२ हजार समेत शाखासँगै भल्ट पनि बाढीले लगेको हो ।
सानिमा बैंकको टिमुरे शाखा पूर्ण क्षति हुँदा २ कर्मचारी बेपत्ता छन् । बैंकको शाखामा ४८ लाख ३८ हजार नोक्सानी भएको छ । त्यस्तै एटीएममा ६ लाख ९४ हजार र भल्टमा ३३ लाख २७ हजार रहेकोमा समेत उक्त बाढीमा बगेको हो ।
एनएमबि बैंक टिमुरे शाखाका ४ जना कर्मचारी सम्पर्कमा छैनन् । यस्तै बैंकको शाखाको भल्टमा रहेको ७३ लाख ४२ हजार र अन्य क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ ।
प्रभु बैंक टिमुरे शाखा पूर्ण क्षति हुँदा ५ जना कर्मचारी सम्पर्कमा छैनन् । बैंकले अन्य विवरण संकलनको क्रममा रहेको जनाएको छ ।
यी शाखा कार्यालयबाट २ अर्ब ३३ करोड कर्जा लगानी भएको भनिए पनि सबैभन्दा ठूलो लगानी उक्त क्षेत्रका हाइड्रोपावरमा रहेको र ती हाइड्रोपावरमा क्षति पुग्दा बैंकहरूको लगानी पनि जोखिममा परेको छ ।
बाढी प्रभावित क्षेत्रमा बैंकहरूको लगानी रहेका १३ वटा जलविद्युत् आयोजनाहरू (६७५ मेगावाट क्षमताका) समेत चपेटामा परेका छन् । यी आयोजनाहरूमा बैंकहरूले सहवित्तीयकरणमार्फत अर्बौँ रुपैयाँ लगानी गरेका छन् । आयोजनाहरूमा पुगेको क्षतिका कारण बैंकहरूको निष्क्रिय कर्जा बढ्ने जोखिम देखिएको छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाका अनुसार, अहिले सबै बैंकहरू आफ्ना कर्मचारीको खोजी र उद्धारमा केन्द्रित छन् । ‘रसुवा र नुवाकोटमा भएको क्षति निकै गम्भीर छ । हामी विवरण संकलन गरिरहेका छौं, सोमबारसम्म क्षतिको पूर्ण र आधिकारिक प्रारम्भिक विवरण तयार हुनेछ,’ उनले भने ।
बाढीले १६ शाखाको भल्ट, क्यास काउन्टर र एटीएममा रहेको करिब १७ करोड रुपैयाँ नगद बाढीले बगाएको हो ।