Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी नदीमा सबै मोटरबोट तत्काल सञ्चालन रोक

हाम्रो कोशी आवाज
कार्तिक १२ २०८३, बिहिबार
कोशी नदीमा सबै मोटरबोट तत्काल सञ्चालन रोक

धरानः सप्तकोशी नदीमा आवश्यक कानुनी व्यवस्था, दर्ता प्रक्रिया र चालकको अनुमतिपत्रबिनै मोटरबोट सञ्चालन हुँदै आएको पाइएको छ।
मोटरबोट सञ्चालनको नियमन, प्राविधिक अवस्था तथा सुरक्षासम्बन्धी विषयमा अध्ययन गर्न सुनसरी प्रशासनले नदीमा सञ्चालन भइरहेका सबै मोटरबोटमाथि तत्कालका लागि रोक लगाएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मोटरबोट सञ्चालनलाई व्यवस्थित र नियमन गर्न तत्कालका लागि प्रतिबन्ध लगाइएको जानकारी दिए।
उनका अनुसार मोटरबोटको अवस्था, प्राविधिक पक्ष र सञ्चालन प्रक्रियाबारे अध्ययन गर्न आवश्यक देखिएकाले यस्तो निर्णय गरिएको हो।
उनले भने, “नदीमा सञ्चालन भइरहेका बोटहरूको नियमन गर्ने उद्देश्यले तत्कालका लागि सञ्चालनमा प्रतिबन्ध लगाइएको हो। मोटरबोटको अवस्था, प्राविधिक पक्ष र अन्य विषयमा अध्ययन गर्न आवश्यक छ।”
गत आइतबार धनकुटा, उदयपुर र सुनसरीको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु भएको थियो भने तीन जना बेपत्ता भएका थिए।
बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका गोताखोर परिचालन गरिएका छन्। तर, समाचार तयार पार्दासम्म उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।
दुर्घटनाको तीन दिनपछि कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले घटनाको छानबिन गर्न प्रदेश सचिव आशमान तामाङको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो।
कानुनी अन्योलमा मोटरबोट सञ्चालन
सप्तकोसी नदीमा मोटरबोट सञ्चालनका लागि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनीहरू संलग्न रहे पनि सञ्चालन अनुमति, नियमन, अनुगमन र चालकको अनुमतिपत्रसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा अन्योल देखिएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार सप्तकोसीमा मोटरबोट सञ्चालनलाई नियमन गर्ने अधिकार सङ्घीय सरकार वा प्रदेश सरकारमध्ये कसको क्षेत्राधिकारमा पर्ने भन्ने विषयसमेत स्पष्ट छैन।
“यो विषय पानीजहाजसम्बन्धी कानुनबाट नियमन हुनुपर्ने हो। तर, हामीसँग यसलाई स्पष्ट रूपमा नियमन गर्ने कानुनी व्यवस्था छैन। यसको नियमन सङ्घले गर्ने हो कि प्रदेशले भन्ने विषयमा पनि अन्योल छ,” उनले भने।
कानुनी स्पष्टता नहुँदा व्यवसायीहरूले आ-आफ्नै तरिकाले मोटरबोट सञ्चालन गर्दै आएको उनको भनाइ छ। केही कम्पनीले स्थानीय तहमा दर्ता भएर करसमेत तिर्दै आएको आफूले सुनेको उनले बताए।
पर्यटन कार्यालयमा समेत दर्ता हुने गरेको सुनिए पनि दर्ता प्रक्रिया र करसम्बन्धी व्यवस्थाबारे स्पष्ट जानकारी नभएको उनले उल्लेख गरे।
२० भन्दा बढी मोटरबोट सञ्चालनमा
व्यवसायीहरूका अनुसार सप्तकोसी नदीमा २० वटाभन्दा बढी मोटरबोट सञ्चालनमा छन्। नदीको चतरादेखि भोजपुरको सिम्लेसम्म करिब १० किलोमिटर क्षेत्रमा यात्रु तथा पर्यटक ओसारपसार हुँदै आएको छ।
त्यस्तै, दक्षिणतर्फ बोरा वन क्षेत्रमा करिब पाँच किलोमिटर दूरीमा पनि जलयातायात सञ्चालन हुने गरेको छ।
यसका अतिरिक्त नदीका विभिन्न क्षेत्रमा पर्यटक घुमाउनसमेत मोटरबोट प्रयोग हुँदै आएका छन्। सप्तकोसीबाहेक नारायणी नदीलगायत अन्य नदीमा पनि यस्ता बोट सञ्चालन हुँदै आएका छन्।
चालकको अनुमतिपत्रसमेत छैन
सप्तकोसी नदीमा मोटरबोट सञ्चालन गर्ने चालकका लागि समेत अनुमतिपत्रको स्पष्ट व्यवस्था हुन नसकेको व्यवसायीहरूले बताएका छन्।
केही चालकसँग विदेशमा काम गरेको अनुभव भए पनि अधिकांश चालक सहचालकका रूपमा काम गर्दै अनुभवका आधारमा चालक बनेको उनीहरूको भनाइ छ।
नदी तथा पोखरीमा मोटरबोट चलाउने चालकको अनुमतिपत्र कहाँबाट र कसरी प्राप्त गर्ने भन्ने विषयमै अन्योल रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।
मोटरबोट सञ्चालनको अनुमति, चालकको योग्यता, प्राविधिक परीक्षण तथा सुरक्षा मापदण्डसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा जलयातायातको सुरक्षा र नियमन चुनौतीपूर्ण बनेको देखिन्छ।
यसअघि पनि भएका छन् दुर्घटना
सप्तकोसी नदीमा यसअघि पनि मोटरबोट दुर्घटना भएका छन्। २०६७ साल भदौ २७ गते ‘सुन्नीमा’ जेटबोट दुर्घटना हुँदा बेपत्ता भएका रमेश कार्कीको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन।
त्यस्तै, २०८० कात्तिक १६ गते मोटरबोट पल्टिएको घटनामा सशस्त्र प्रहरीका गोताखोरको प्रदर्शनको रिपोर्टिङ गर्न पुगेका पाँच जना पत्रकार घाइते भएका थिए।
पटक-पटक दुर्घटना भइरहँदा पनि मोटरबोट सञ्चालनको प्रभावकारी नियमन, चालकको अनुमतिपत्र र सुरक्षा मापदण्ड सुनिश्चित हुन नसकेको विषय अहिले फेरि चर्चामा आएको छ।
पछिल्लो दुर्घटनापछि प्रशासनले लगाएको प्रतिबन्धले सप्तकोसीमा सञ्चालन हुँदै आएको जलयातायातलाई व्यवस्थित बनाउन आवश्यक कानुनी तथा प्राविधिक सुधारको बहसलाई थप महत्त्व दिएको छ।

प्रकाशित मिति: कार्तिक १२ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend