Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘खसी कप’

हाम्रो कोशी आवाज
असोज ४ २०८३, आइतबार
धरानमा ‘खसी कप’

धरानः ४० प्लस भेट्रान धरानको आयोजनामा धरान–१४ स्थित पिण्डेश्वर खेल मैदानमा जारी ‘खसी कप भेट्रान फुटबल प्रतियोगिता–२०८३’ आयोजना भएको छ ।
शनिबार आयोजित फाइनल खेल विजयपुर फुटबल क्लब धरान–१४ र शुक्रबारे युवा क्लब सुन्दरहरैंचा–१२ मोरङबीच भएको ४० प्लस भेट्रान धरानका अग्रज संयोजक तथा भेट्रान खेलाडी विकास श्रेष्ठले जानकारी दिए ।
निर्धारित ३०–३० मिनेटको खेलमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेपनि निर्धारित समयसम्म गोल हुन सकेन । दोस्रो हाफमा पनि दुवै टोलीले गोलका केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । फाइनलमा विजयपुरले ५ वटा अन टार्गेट र ७ वटा अफ टार्गेट प्रहार गरेको थियो भने शुक्रबारेले २ अन टार्गेट र ३ अफ टार्गेट प्रहार गरेको थियो ।
पेनाल्टी सुटआउटमा विजयपुरका तर्फबाट चार गोल भए भने एक प्रहार मिस भएको थियो । शुक्रबारे युवा क्लबका दुई प्रहार गोलमा परिणत भए भने दुई प्रहार असफल भए । अन्ततः विजयपुरले ४–२ को जित निकाल्दै प्रतियोगिताको उपाधि हात पारयो ।
फाइनल खेलमा विजयपुरका गोलरक्षक जनक सुनुवारले पेनाल्टी सुटआउटमा दुई प्रहार रोक्दै टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे । उनलाई प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक घोषित गरियो। त्यस्तै विजयपुरकै जिमी राई उत्कृष्ट डिफेन्स तथा शुक्रबारे युवा क्लबका देवेन्द्र राई प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । तीनै खेलाडीलाई ट्रफीसहित जनही नगद रु. १ हजार पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार स्काई सप धरानका प्रोप्राइटर सुमन श्रेष्ठले सौजन्य गरेका थिए भने उनकै हातबाट प्रदान अनि गरेका थिए ।
प्रतियोगिताको उपविजेता शुक्रबारे युवा क्लबले नगद रु. १५ हजार सहित कप तथा मेडल प्राप्त गरयो । विजेता विजयपुर फुटबल क्लबले नगद रु. २५ हजारसहित कप तथा मेडल प्राप्त गरेको छ ।
धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धरान–४ का वडा सदस्य राजन राई, पिण्डेश्वर विद्यापीठ धरान–१४ का प्रशासनिक फाँटका प्रमुख भेषराज निरौलाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा हाम्रो धरान भेट्रानका अध्यक्ष अशोक राई, अग्रज खेलाडी अमर गुरुङ, धरान सिटी फुटबल क्लबका अध्यक्ष सागर घिमिरे श्रेष्ठ, ममता चाम्लिङ राई लगायतको उपस्थिति थियो ।
प्रतियोगिता कसरी शुरु भयो र यसको उद्देश्यबारे अग्रज संयोजक वीरेन सुब्बाले जानकारी गराएका थिए । सुब्बाका अनुसार धरान–२ निवासी हाल हङकङमा कार्यरत यम राई जिमीले पिण्डेश्वर खेल मैदानमा पोल सौजन्य गरेपछि प्रतियोगिता आयोजना गर्ने अवधारणा अघि बढेको हो । उनले प्रतियोगिताका लागि प्रथम पुरस्कार उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि दोस्रो पुरस्कार सुन्दर रिकन्डिसन धरान –७ का प्रोपाइटर सुन्दर श्रेष्ठ र कपहरू पूर्व खेलाडी धिरज लामा तथा अन्य सहयोग जुट्दै गएको र पूर्व खेलाडी सागर घिमिरेको मैदान मर्मत तथा प्रतियोगितामा चाहिने भौतिक सहयोग र साथले प्रतियोगिता आयोजना गर्न हौसला मिलेको सुब्बाले बताए ।
प्रमुख अतिथि वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले धरान फुटबलको शहर भएको उल्लेख गर्दै पिण्डेश्वरको पवित्र भूमिमा पूर्वखेलाडीहरूबीच भेट्रान प्रतियोगिता आयोजना हुनु महत्वपूर्ण रहेको बताए । उनले प्रतियोगिता आयोजक ४० प्लस भेट्रान धरानलाई धन्यवाद दिँदै आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पहिलो हाफको खाली समय अवधीमा प्रतियोगिताको अर्को महत्वपूर्ण पक्षका रूपमा आयोजकले ग्रासरुट तहका १२ जना बालबालिकालाई सुनिल गुरुङ, अमित सुब्बा ‘पप्पु’ र विनोद तामाङ ‘कादर’ बाट फुटबल बुट र जर्सी वितरण गरेको थियो । आयोजकका अनुसार साना बालबालिकालाई फुटबलमा आकर्षित गर्ने, हौसला प्रदान गर्ने तथा उनीहरूलाई आवश्यक खेल सामग्री उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। आर्थिक संयोजक अमितले प्रतियोगिताको मुख्य उद्देश्य नै बालबालिकालाई फुटबलप्रति प्रोत्साहित गर्नु रहेको बताए ।
प्रतियोगितामा आर्थिक तथा अन्य सहयोग गर्ने प्रायोजकहरूलाई आयोजक कमिटीका सदस्यहरू विक्रम राई ‘बुक्की’, विक्रम खड्गी, सुनिल गुरुङ, जोनी राई र मुकेश तामाङले धन्यवाद तथा कृतज्ञतापत्र प्रदान गरेका थिए ।
कार्यक्रममा प्रतियोगिता संयोजक विनोद तामाङ ‘कादर’ ज्युले स्वागत मन्तव्य राखेका थिए । प्रतियोगिता समापन अवसरमा कार्यक्रमको सञ्चालन रोहिणी खनालले गरेका थिए ।

प्रकाशित मिति: असोज ४ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend