Hamro Koshi Aawaj

शनिबार, कार्तिक २८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खुल्यो जग्गाको कित्ताकाट, एक महिनाभित्र भूसेवा सञ्चालन गर्ने तयारी

हाम्रो कोशी आवाज
कार्तिक २७ २०८३, शुक्रबार
खुल्यो जग्गाको कित्ताकाट, एक महिनाभित्र भूसेवा सञ्चालन गर्ने तयारी

विराटनगर: लामो समयदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट खुला भएसँगै विराटनगर महानगरपालिका क्षेत्रभित्रको घरजग्गा कारोबारले पुनः गति लिने भएको छ । भू–उपयोग क्षेत्र वर्गीकरणको प्रक्रिया पूरा गरी महानगरपालिकाले आवश्यक विवरण नापी कार्यालयमा पठाएपछि जग्गाको कित्ताकाटसम्बन्धी काम अघि बढाउने बाटो खुलेको हो ।
महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका १९ वटै वडाको भू–उपयोग क्षेत्र वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदन तयार गरी कार्यान्वयनका लागि नापी कार्यालय, विराटनगरमा पठाइसकेको छ । यससँगै कित्ताकाट खुलाउन आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भएको महानगरपालिकाले जनाएको छ ।
विराटनगर महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले २०८३ कात्तिक २७ गते नापी कार्यालयलाई पत्र पठाउँदै भू–उपयोग क्षेत्र वर्गीकरणको विवरण तथा प्रतिवेदन कार्यान्वयन गर्न अनुरोध गरेको हो । नगर कार्यपालिकाको २०८३ असोज २३ गतेको निर्णयअनुसार भू–उपयोग परिषदबाट स्वीकृत आधार तथा मापदण्डका आधारमा तयार पारिएको विवरण नापी कार्यालयमा पठाइएको हो ।
महानगरपालिकाले वर्गीकरणसम्बन्धी अन्तिम प्रतिवेदनसँगै १९ वटै वडाको विवरण समेटिएको विद्युतीय तथ्यांक फाइल र तथ्यांक भण्डारण प्रणालीसम्बन्धी आवश्यक कागजातसमेत नापी तथा भूमि प्रशासन कार्यालयमा उपलब्ध गराएको छ ।
भू–उपयोग वर्गीकरणको विवरण आधिकारिक रूपमा सम्बन्धित कार्यालयमा पुगेपछि लामो समयदेखि कित्ताकाटको प्रतीक्षामा रहेका जग्गाधनीलाई राहत मिल्ने अपेक्षा गरिएको छ । कित्ताकाट रोकिँदा प्रभावित हुँदै आएको जग्गा किनबेच, अंशबन्डा, जग्गा छुट्याउने तथा अन्य घरजग्गासम्बन्धी कामले अब सहजता पाउने विश्वास गरिएको छ ।
एक महिनाभित्रै भू–सेवा सञ्चालन गर्ने लक्ष्य
कित्ताकाट खुलाउने प्रक्रियासँगै महानगरपालिकाले जग्गासम्बन्धी सेवालाई प्रविधिमैत्री र व्यवस्थित बनाउने तयारीसमेत अघि बढाएको छ । महानगर प्रमुख नागेश कोइरालाले आगामी एक महिनाभित्र भू–सेवा सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक तयारी तीव्र पारिएको बताएका छन् ।
कोइरालाका अनुसार भू–सेवा सञ्चालनमा आएपछि जग्गासम्बन्धी प्रशासनिक कामलाई थप व्यवस्थित, पारदर्शी र छिटोछरितो बनाउन सहयोग पुग्नेछ । सेवाग्राहीले अनावश्यक झन्झट र समय खर्च गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने महानगरको योजना छ ।
‘महानगरपालिकाभित्र भू–उपयोग वर्गीकरणको काम पूरा गरेर आवश्यक विवरण सम्बन्धित कार्यालयमा पठाइसकेका छौँ । अब जग्गाको कित्ताकाटसम्बन्धी कामले गति लिने अपेक्षा गरेका छौं,’ उनले भने, १भू–सेवालाई पनि आगामी एक महिनाभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेका छौँ । सेवाग्राहीले सहज, छिटो र व्यवस्थित सेवा पाउने वातावरण बनाउनु हाम्रो प्राथमिकता हो ।’
प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले भू–सेवा सञ्चालनको तयारी प्रारम्भिक चरणमा रहेको र त्यसका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक काम अघि बढाइएको बताए ।
उनका अनुसार भू–सेवा प्रणाली सञ्चालनमा आएपछि जग्गासम्बन्धी विवरण व्यवस्थापन, सेवा प्रवाह र प्रशासनिक प्रक्रियामा सहजता आउनेछ । यसले सेवाग्राहीको समय बचत गर्नुका साथै सेवा प्रवाहलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन मद्दत गर्नेछ ।
‘भू–सेवा सञ्चालनका लागि आवश्यक तयारी सुरु गरेका छौं । प्राविधिक तथा प्रशासनिक व्यवस्थापनलाई व्यवस्थित गर्दै आगामी एक महिनाभित्र सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ, शर्माले भने, ‘यसबाट जग्गासम्बन्धी कामका लागि सेवाग्राहीले भोग्दै आएका झन्झट कम हुनेछन् र सेवा प्रवाह थप छिटो, सहज तथा प्रभावकारी बन्नेछ ।’
घरजग्गा कारोबारले गति लिने अपेक्षा
विराटनगरका १९ वटै वडाको भू–उपयोग वर्गीकरण पूरा हुनु र कित्ताकाटको प्रक्रिया खुल्नु महानगर क्षेत्रको घरजग्गा क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । कित्ताकाट रोकिँदा जग्गा किनबेच, जग्गा विभाजन तथा अन्य कानुनी प्रक्रियामा समस्या झेल्दै आएका जग्गाधनीलाई यसले राहत दिने महानगरका सूचना अधिकारी अर्जुन थपलियाले बताए ।
कित्ताकाट खुला भएसँगै घरजग्गा कारोबारमा देखिएको प्रशासनिक अवरोध हट्ने र रोकिएका काम क्रमशः अघि बढ्ने विश्वास गरिएको छ । त्यसमाथि एक महिनाभित्र भू–सेवा सञ्चालनमा ल्याउने महानगरको तयारीले जग्गासम्बन्धी सेवा प्रवाहलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।
भू–उपयोग वर्गीकरण, कित्ताकाट खुलाउने प्रक्रिया र प्रविधिमैत्री सेवा सञ्चालनलाई एकैसाथ अघि बढाएर महानगरपालिकाले घरजग्गा प्रशासनलाई व्यवस्थित बनाउने दिशामा महत्त्वपूर्ण कदम चालेको छ ।

प्रकाशित मिति: कार्तिक २७ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend