Hamro Koshi Aawaj

शनिबार, कार्तिक २८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१२ करोड १३ लाख गैरकानुनी लाभ लिएको आरोपमा नवीनकिशोर शर्मा समातिए

हाम्रो कोशी आवाज
कार्तिक २७ २०८३, शुक्रबार
१२ करोड १३ लाख गैरकानुनी लाभ लिएको आरोपमा नवीनकिशोर शर्मा समातिए

धरानः दूग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक हानी पुरयाई गैरकानुनी लाभ लिएको आरोपमा भइरहेको अनुसन्धानका क्रममा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीनकिशोर शर्मा पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४५ वर्षीय शर्मालाई कार्तिक २७ गते ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको जनाएको छ । सर्लाहीको रामनगर गाउँपालिका–३ स्थायी घर भएका शर्मा हाल ललितपुर महानगरपालिका–२५, भैंसेपाटीमा बस्दै आएका थिए ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको हो । उनीमाथि आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
सरकारी स्वामित्वको डीडीसीका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीको संलग्नतामा गैरकानुनी आर्थिक लाभ लिई संस्थानलाई गम्भीर हानी पुरयाइएको उजुरीपछि अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ ।
सीआईबीका अनुसार तत्कालीन महाप्रबन्धक, प्रशासनिक उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीले पूर्वनियोजित योजना र मिलेमतोमा विभिन्न समूह खडा गरी संस्थानलाई प्रत्यक्ष आर्थिक हानि पुरयाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
सो प्रकरणमा १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ गैरकानुनी लाभ लिइएको प्रहरीको दाबी छ । यो समग्र प्रकरणमा उल्लेख गरिएको रकम हो; शर्माले व्यक्तिगत रूपमा कति रकम लाभ लिएको आरोप छ भन्ने विवरण पछिल्लो विज्ञप्तिमा खुलाइएको छैन ।
यसै प्रकरणमा सीआईबीले कात्तिक १३ गते तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जना पक्राउ परेको विवरण सार्वजनिक गरेको थियो। सीआईबीको आधिकारिक वेबसाइटमा पनि उक्त मितिको पक्राउसम्बन्धी सूचना प्रकाशित छ ।
त्यसबेला पक्राउ पर्ने अन्य व्यक्तिमा विजयकुमार यादव, मनहरी शर्मा, रामकेवल राय, जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारी थिए । उनीहरू विभिन्न चिस्यान केन्द्र, दुग्ध वितरण आयोजना तथा धुलो दूध कारखानामा कार्यरत वा यसअघि जिम्मेवारी सम्हालेका कर्मचारी रहेको समाचार सार्वजनिक भएको थियो ।
विजयकुमार यादव तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज, मनहरी शर्मा तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इन्चार्ज र रामकेवल राय तत्कालीन चनौली चिस्यान केन्द्रका इन्चार्ज रहेको विवरणमा उल्लेख थियो। त्यस्तै, जितेन्द्रकुमार यादव हेटौँडास्थित बागमती धुलो दूध कारखाना तथा अन्य पक्राउ परेका कर्मचारी नवलपुर, गरुडा र माडी चिस्यान केन्द्रसँग सम्बन्धित थिए ।
प्रहरीले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको आपराधिक विश्वासघातसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: कार्तिक २७ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend