Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उदयपुरमा ९३ परिवारलाई जग्गाधनी पुर्जा वितरण

हाम्रो कोशी आवाज
कार्तिक २१ २०८३, शनिबार
उदयपुरमा ९३ परिवारलाई जग्गाधनी पुर्जा वितरण

माधव पोख्रेल
उदयपुरका कटारी नगरपालिका, रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाले दुई दिनमा ९३ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेका छन् ।
शुक्रबार कटारी नगरपालिका–१ बेलसोतका १० परिवार र रौतामाई गाउँपालिकाका ५६ परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । यसअघि बिहीबार त्रियुगा नगरपालिका–५ का २७ परिवारलाई पुर्जा वितरण गरिएको थियो ।
कटारी नगरपालिकाको आयोजनामा बेलसोतमा भएको कार्यक्रममा नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले १० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गरेका हुन् । पुर्जा प्राप्त गर्नेमा भूमिहीन दलिततर्फ पदमबहादुर कामी, पृथ्वीबहादुर दमाई र दीपक मुसहर छन् । त्यस्तै, भूमिहीन सुकुम्बासीतर्फ श्यामबहादुर राई, पृथ्वीबहादुर पुलामी, सविताकुमारी वलम्पाकी, विष्णुबहादुर मगर, दिलबहादुर पुलामी, सुनिता कार्की खड्का र कृष्णबहादुर कार्की रहेका छन् ।
पुर्जा वितरण गर्दै नगरप्रमुख श्रेष्ठले आगामी दिनमा नगरपालिकाका अन्य वडामा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पनि जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने योजना रहेको बताए ।
त्यस्तै, रौतामाई गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित मुर्कुची बजारमा भएको कार्यक्रममा ५६ भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई पुर्जा वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष वीरेन्द्रकुमार मगरले आफ्नो कार्यकालमा सुरु गरिएको निरन्तर प्रयासपछि भूमिहीन परिवारले जग्गाधनी पुर्जा पाउन सफल भएको बताए । उनले यस उपलब्धिको खुसी घरघरमा दीप बालेर मनाउन आग्रह गरे ।
यसैगरी, त्रियुगा नगरपालिकाको आयोजना तथा जिल्ला भूमि समस्या समाधान समिति उदयपुरको समन्वयमा २७ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।

प्रकाशित मिति: कार्तिक २१ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend