धरानः सुनसरीमा ६२ किलो गाँजासहित एक युवा पक्राउ परेका छन् ।
देवानगञ्ज गाउँपालिका वडा नं. ३ स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगञ्ज सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा देवानगञ्जबाट कप्तानगञ्जतर्फ जाँदै गरेको नम्बर प्लेट नभएको मोटरसाइकलमा गाँजा लिएर जाँदै गर्दा युवा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक देवानगञ्ज २ बस्ने २२ वर्षीय नित्यानन्द यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्रबहादुर खडकाले जानकारी दिए । मोटरसाइकलमा लोड गरी लाँदै गरेको लागूऔषध गाँजा ३१.१ किलोग्राम फेला परेको र सो स्थानमा थप चेकजाँच गर्दा सडक छेऊको झाडीबाट थप लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ३१.१४ किलोग्राम गरी जम्मा ६२.२४ किलोग्राम फेला परेको प्रहरीले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।