Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका भूगर्भविद् मुकेश इटहरीमा मोटरसाइकल चढेर गएदेखि फर्किएनन्, कुशको शव बनाएर अन्त्येष्टि

हाम्रो कोशी आवाज
कार्तिक २३ २०८३, सोमबार
धरानका भूगर्भविद् मुकेश इटहरीमा मोटरसाइकल चढेर गएदेखि फर्किएनन्, कुशको शव बनाएर अन्त्येष्टि

धरानः रसुवाको भोटेकोशी नदीमा आएको महाप्रलयकारी बाढीमा परी बेपत्ता भएका धरानका इन्जिनियरिङ भूगर्भविद् मुकेश नेपालको कुशको शव बनाएर अन्त्येष्टि गरिने भएको छ ।
गएको भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका नेपाल त्रिशुली ३ बी हाइड्रोपावरमा भूगर्वविद्का रुपमा कार्यरत थिए । उनको सुनसरीको बराहक्षेत्र चतरास्थित कोशी नदीको आर्यघाटमा कुशको शव बनाएर अन्त्येष्टि गरिएको पीडित परिवार अर्थात् मुकेशका ठूलोबुबा बुद्धिप्रसाद नेपालले जानकारी दिए ।
इटहरीमा मोटरसाइकल किनेर काममा लागेका मुकेश हालसम्म फर्किएका छैनन् । इटहरीमा ८ लाख रुपैयाँको मोटरसाइकल चढेर काममा पुगेको र त्यहाँदेखि हालसम्म पनि नफर्किएएको परिवारजनले बताएका छन् ।
बेपत्ता भएदेखि नै खोजी कार्य गरिएपनि लामो समयसम्म उनको अवस्था पत्ता नलागेपछि धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको पीडित परिवारले बताएका छन् । ‘यतिका महिना कुरियो, घरपरिवार, धर्म, समाजका कुरा पनि मान्नुपर्ने रहेछ । धार्मिक परम्पराअनुसार काजक्रिया नगरे मृतआत्मा भड्कन्छ भन्छन् । एक मनले मुकेश अझै जीवितै छन् कि भन्ने जस्तो लाग्छ । टुप्लुक्क घर आउँछन् कि भन्ने लाग्छ । तर यसरी कतिन्जेल कुर्ने । परिवार, समाजको दबाव भयो । मन भारी बनाएर उनको अन्तिम संस्कार गरियो,’ ठूलोबुबा बुद्धिप्रसादले पीडा पोखे ।
बेपत्ता भएदेखि लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन । सम्पर्कबिहीन बनेपछि आफन्त र छिमेकी खोजीमा जुटे र जीवितै भेटिने आशामा घटनास्थलसम्म पुगे । बाढीको ताण्डवपछिको भयावह दृश्य देख्दा उनीहरूले यात्रुहरूको सास पाउने आश मारेका थिए तरपनि उनीहरूले राज्यका निकायलाई आफन्त खोजिदिन हारगुहार गरिरहे । सयौं नागरिक बेपत्ता भएकाले उनीहरूको गुहार फिक्का बन्यो । आफूहरू घटनास्थलदेखि अन्य ठाउँमा पनि मुकेशको खोजीका लागि पुगेको तर फेला पार्न नसकेको उनले बताए । ‘हाइड्रोपावरमै पनि पुग्यौं, कफी बनाएर दिने युवती पनि रहेछिन्, उनको भनाइ पनि सुनियो तर मुकेश खानेबस्ने क्याम्प थियो छैन, मेसिन थियो छैन, पसल घर थियो, पुरिएको छ, जेसिबीको चक्कामात्रै देखिएको छ’, घटनास्थलमा समेत पुगेका ठूलोबुबा बुद्धिप्रसाद भन्छन् ।
हराएका आफन्तको जीवन पाउने आशा गुमाउँदै गएका बेला प्रहरीले सार्वजनिक गरेका शवका फोटोकै पंक्तिमा समेत मुकेश देखा नपरेको पीडित परिवारले बताएका छन् । शवको अन्त्येष्टि गरिएपनि राज्यसँग भने अझै आशा नै रहेको परिवारजनले बताएका छन् । ‘राज्यसँग हामीले सास भएपनि लाश भएपनि मागिरहेका छौं’, बुद्धिप्रसादले भने, ‘तर हामीले डिएनए पनि दियौं, राज्यले रिपोर्ट दिएको छैन ।’ राज्यले पीडितलाई दिने राहत पनि हालसम्म वितरण गर्न नसकेको उनी बताउँछन् ।

प्रकाशित मिति: कार्तिक २३ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend