Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको तीनकुनेमा प्रहरीमाथि हातपातको प्रयास, छानबिन गर्दै जाँदा बन्दुकको धुलो पुष्टि, तीनजना समातिए

हाम्रो कोशी आवाज
कार्तिक २१ २०८३, शनिबार
धरानको तीनकुनेमा प्रहरीमाथि हातपातको प्रयास, छानबिन गर्दै जाँदा बन्दुकको धुलो पुष्टि, तीनजना समातिए

धरानः धरानको तीनकुनेमा बिष्फोटक पदार्थसहित तीनजना पक्राउ परेका छन् ।
प्रहरीले धरान–स्थित तीनकुने चेकपोस्टमा चेकजाँचका क्रममा मिनी ट्रकबाट विस्फोटक पदार्थ बनाउन प्रयोग हुने ४७ किलो पदार्थ बरामद भएको छ ।
सो पदार्थ परीक्षण गर्दा बारुद (बन्दुकको धुलो/कालो धुलो) बनाउन प्रयोग हुने सामग्री भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईले जानकारी दिए ।
गत कार्तिक १० गते इटहरीबाट धरानतर्फ आउँदै गरेको को२ख १६१८ नम्बरको मिनी ट्रकलाई चेकपोस्टमा प्रहरीले चेकजाँच गरेको थियो । सो क्रममा भन्सार छली ल्याइएका विभिन्न सामानसँगै बोराभित्र प्याकिङ गरी राखिएको पारदर्शी सेतो ठोस पदार्थ ४७ किलो फेला परेको थियो ।
प्रहरीले सो सामान नियन्त्रणमा लिन खोज्दा मिनी ट्रकमा सवार व्यक्तिहरूले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको जनाइएको छ । उनीहरूले प्रहरीले सोधपुछ गर्ने क्रममा उनीहरूले प्रहरीलाई गालीगलौज गर्नुका साथै हातपातको प्रयास गरेको प्रहरीको भनाइ छ । उनीहरूले स्थानीय महिला तथा बालबालिकासमेत त्रसित हुने गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा मोरङका तीन जनालाई नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ छिटाहाका २५ वर्षीय प्रदीपकुमार साह तथा जहदा गाउँपालिका–१ का ४२ वर्षीय भुपेन्द्र राजवंशी र ४२ वर्षीय कार्तिक राजवंशी रहेका छन् ।
बरामद पदार्थ परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला, सामाखुसी काठमाडौं पठाइएको थियो । प्रयोगशालाको परीक्षण प्रतिवेदनमा उक्त पदार्थलाई ‘कम्पोनेन्ट अफ लो एक्स्प्लोसिभ (बन्दुकको धुलो/कालो धुलो) अर्थात् कम शक्तिको विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री भएको उल्लेख गरिएको प्रहरीले जनाएको छ ।  प्रयोगशालाको परीक्षण प्रतिवेदनमा नमुना (एक्जिबिट–१) मा पोटासियम आयन र नाइट्रेट आयन फेला परेको उल्लेख छ ।
यसअघि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकोमा प्रयोगशालाको प्रतिवेदनपछि पक्राउ परेका तीनै जनामाथि विस्फोटक पदार्थसम्बन्धी कसुरमा समेत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक २१ २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend