धरानः किरातेश्वर माध्यमिक विद्यालय धरान-१९ ले २०८३ सालको शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा देउसी-भैलो कार्यक्रम आयोजना गरेको छ।
शनिबार विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा दीपावलीको शुभकामना आदानप्रदानसँगै विद्यालयको आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसी-भैलो कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक डा.योगेन्द्र पालुङ्वाले बताए।
निजी स्रोतमा कार्यरत शिक्षक तथा कर्मचारीलाई तलब व्यवस्थापन गर्न र विद्यालयका अन्य आवश्यक खर्च जुटाउन कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथि धरान-१९ का वडा अध्यक्ष पुर्णबहादुर लिम्बू, पब्लिक माध्यमिक विद्यालय फुस्रेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर कार्की, किरातेश्वर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष देउमान ताप्मादेन लिम्बू, शिक्षक अभिभावक सङ्घका अध्यक्ष रबिना सुब्बा गुरुङलगायतले दीपावलीको शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा भानु स्मृति माध्यमिक विद्यालयका शिक्षक ओम रिमालले गीत प्रस्तुत गरेका थिए भने किरातेश्वर विद्यालयका विद्यार्थीहरूले देउसी–भैलोलगायत विभिन्न गीतमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए।
विद्यालयको कार्यक्रममा उपस्थित अभिभावकहरूले स्वेच्छाले दक्षिणा प्रदान गरी विद्यालयलाई आर्थिक सहयोगसमेत गरेका थिए।
विद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले आयोजित कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध थप आत्मीय बनाउनुका साथै सामुदायिक सहकार्य र सहयोगको सकारात्मक सन्देश दिएको छ।