धरानः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले भाटभटेनीमा अनुगमन गरेको छ ।
इटहरीस्थित भाटभटेनी सुपर स्टोरबाट किनेको स्पेनी ब्रान्ड ‘पास्कुअल’ को दहीमा म्याद सकिन तीन महिनाभन्दा बढी बाँकी छँदै ढुसी भेटिएको उजुरीपछि सोमबार साँझ स्टोर पुगेको टोलीले बिक्री कक्षबाट हटाएर राखिएको दहीको नमूना प्रयोगशाला परीक्षणका लागि लगेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको नेतृत्वमा भएको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका खाद्य निरिक्षकद्धय उज्ज्वल कोइराला र प्रमोद बुढाथोकी पनि सहभागी थिए ।
कार्यालय प्रमुख पुष्पलाल राईले नमुना परीक्षणपछि दही उपभोग गर्न सुरक्षित छ कि छैन भन्ने यकिन हुने बताए । इटहरी–५ का धर्मेन्द्र कुलुङले सोमबार बिहान तिहारका लागि उक्त दही किनेका थिए । घरमा कप खोल्दा ढुसी देखेपछि उनले भाटभटेनीलाई जानकारी गराउनुका साथै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरमा उजुरी दिएका थिए ।
उजुरीपछि कार्यालय प्रमुख राईले तिहारको बिदाकै दिन भाटभटेनीलाई उक्त दही फिर्ता लिन निर्देशन दिएका थिए । त्यसपछि इटहरी शाखाकी प्रबन्धक माया मगरले बिक्री कक्षमा राखिएको दही हटाएर छुट्टै राखेकी थिइन् । कपको ढकनीमा उत्पादन मिति २१ मार्च २०२६ र म्याद सकिने मिति २० फेब्रुअरी २०२७ छापिएको छ । राईले म्याद नसकिँदै दहीमा ढुसी देखिनुलाई गम्भीर लापरबाही भन्दै घटनाको छानबिनपछि आयातकर्तामाथि कारबाही अघि बढाइने बताए । उनका अनुसार आयातकर्ताले सोही ब्याचको दही जहाँजहाँ पठाएको छ, ती सबै बिक्री केन्द्रबाट फिर्ता ल्याएर नष्ट गर्नुपर्छ ।
भाटभटेनीका प्रमुख व्यवस्थापक विनोद भट्टराईले १८ वर्षदेखि उक्त कम्पनीका उत्पादन बिक्री गर्दै आएको र यस्तो समस्या पहिलोपटक देखिएको बताए । एउटा कपमा ढुसी देखिएको जानकारीपछि भाटभटेनीले उक्त कम्पनीका उत्पादनको बिक्री रोकेको उनको भनाइ छ ।
कम्पनीका बजार प्रमुख परशुराम नेपालले भाटभटेनीका सबै शाखालाई उक्त दहीको बिक्री रोक्न र मौज्दात फिर्ता पठाउन भनिसकेको बताए । नेपालले तापक्रम नमिलेका कारण समस्या आएको हुन सक्ने अनुमान गरे । आफू तिहारको बिदामा रहेको र घटनाबारे बुझेर थप जानकारी दिने उनले बताए ।
लेबलअनुसार आरुको स्वाद भएको कम चिल्लो यो दही १२० ग्रामको कपमा बिक्री हुन्छ र यसको अधिकतम खुद्रा मूल्य १७५ रुपैयाँ हो । दही जमाएपछि पाश्चुरीकरण गरिएको र कप खोलेपछि फ्रिजमा राखेर २४ घण्टाभित्र उपभोग गर्नुपर्ने लेबलमा उल्लेख छ ।
राईका अनुसार दहीजस्ता बढी चिस्यान भएका खानेकुरामा ढुसी सतहभन्दा भित्रसम्म फैलिन सक्छ र त्यससँगै टक्सिन पनि बढ्न सक्छ । त्यसैले ढुसी देखिएको भाग हटाएर बाँकी दही खानु हुँदैन ।
ऐनको दफा ४० को खण्ड (घ) अन्तर्गत दूषित खाद्य पदार्थ आयात वा बिक्री गरेको कसुर ठहर भए दफा ४२ बमोजिम पाँच वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्छ । यस घटनामा कुन कानुनी प्रावधान लागू हुन्छ भन्ने छानबिनपछि टुङ्गो लाग्नेछ । धरान, इटहरीलगायत देशैभरी शाखा कार्यालय रहेको भाटभटेनीले सामाजिक उत्तरदायित्व पूरा नगर्ने गरेको गुनासो पनि बढ्दै आएको छ । नाफा मात्रै कमाउने तर स्थानीयस्तरमा केही सामाजिक उत्तरदायित्व पूरा नगर्ने गरेको स्थानीयबासीको गुनासो बढ्दै गएको छ । धरान आइपुगेका सञ्चालक मीन गुरुङले नाफाको केही प्रतिशत धरानबासीको विकास, निर्माण खर्चिने बताएपनि हालसम्म धरानको विकास, निर्माणमा केही नगर्ने गरेको गुनासो वर्षौदेखि उठ्दै आएको छ ।