धरानः धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एशियाकै ठूलो अस्पताल मानिन्छ तर त्यहाँ हुने गरेका चोरी घटना अहिलेसम्म नरोकिँदा सर्वसाधारणले लापरवाहीले हद सीमा नाघेको भन्न समेत थालेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको सुरक्षामा गम्भीर लापरवाही भइरहेको खुल्दै गएको छ । सुरक्षाको जिम्मेवारी निजी कम्पनीलाई दिने गरेपनि बिरामीका कुरूवा सर्वसाधारण र प्रतिष्ठानकै कर्मचारीहरूले सुरक्षित महसुस गर्न सकेका छैनन् । अस्पतालबाट बिरामी कुरुवाको पर्स, मोबाइल चोरी, मोटरसाइकलको पेट्रोल चोरी हुने घटना सामान्य नै हुन् तर मोटरसाइकल समेत चोरी हुन थालेपछि बिरामी कुरूवा आजित बन्न बन्न थालेका छन् ।
शुक्रबार उदयपुरका एक युवा कडकिए के यत्रो नाम कमाएको प्रतिष्ठानको हालत ? धरानमा पत्रकार सम्मेलन नै गर्न आइपुगेका उनले पत्रकारमाझ भने, ‘मेरो त हरायो, हरायो अन्यको नहराओस् र सिसी क्यामेरा जोड्न दबाव दिने उद्देश्यले यो पत्रकार सम्मेलन आयोजना गरेको हुँ ।’
२०७६ फागुन १३ गते प्रतिष्ठानमा उपचार गराउन आएका शरणकुमार चौलागाईको उपचार गराउने क्रममा आफ्नो मोटरसाइकल हराएको र खोज्नका लागि सेक्युरिटी प्रशासनले आलटाल गरेको बताए । आफ्नो स१०प ५१८५ मोटरसाइकल हराएको बताउँदै उनले सेक्युरिटीलाई जानकारी गराउँदा यस्तो त कति हराउँछ हराउँछ भन्ने जवाफले मन पोलेको र पत्रकार सम्मेलन नै आयोजना गरेको बताए ।
बेलका–३ का उनले प्रतिष्ठानमा उपचार गराउन आएकै क्रममा पार्किङमा राखिएको मोटरसाइकल हराएको र सुरक्षा निकायले चासो नदिएको भन्दै पत्रकार सम्मेलन गरेका हुन् । उनले भने, ‘बेलुका राम्रोसँग पार्किङ गरेर राखेको, बिहान हेर्दा छैन । सेक्युरिटीले कसरी सुरक्षा दिएको छ ? हामी कसरी सुरक्षित छौं भनेर ढुक्क हुने ?’ चोरीमा संलग्न अझैसम्म पक्राउ नहुँदा मनोबल बढ्दै गएको उनको भनाइ छ ।
उनले प्रतिष्ठानको सेक्युरिटी गार्डले प्रतिष्ठानको गेट अगाडि रहेको एउटा सीसी क्यामेराले पनि खासै काम गर्न नसकेको भन्दै पन्छिनु हदैसम्मको लापरवाही हो भने । ‘मेरो मोटरसाइकल हरायो, सिसी क्यामेरामा हेर्दा हुन्छ नि सम्म पनि भनें तर ती सेक्युरिटीले तीन चार दिन भयो काम नगरेको भन्दै पन्छिए ।’ उनले भने, ‘यत्रो प्रतिष्ठानभरी सिसी क्यामेरा नहुनु दुःखद् हो ।’
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोटरसाइक चोरीका घटनामा वृद्धि हुँदै गएको छ । विगतदेखि नै मोबाइल, बिरामीका पैसा चोरी हुने प्रतिष्ठानमा केही समयदेखि प्रतिष्ठानभित्र चाबी लगाएर पार्किङमा राखेका मोाटरसाइकल समेत हराउन थालेका छन् । प्रतिष्ठानमा अहिले सर्वसाधारणले सिसी क्यामेरा जोड्न दबाव समेत दिन थालेका छन् । तर प्रतिष्ठानले यस विषयमा केही सोच्न सकेको छैन ।
प्रतिष्ठानमै केहीमहिनाअघि एउटा रोचक चोरी भयो । डाक्टर मौसम राईको स्कुटरको पछाडिको चक्का चोरियो । चक्का चोरी भएपछि चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले विज्ञप्ति नै जारी गरेर विरोध जनायो ।
बारम्बार चोरीका घट्ना दोहोरिँदा समेत अस्पताल प्रशासनले खासै ध्यान दिन नसकेको बिरामी कुरुवाहरूले गुनासो राख्ने गरेका छन् । बिरामी कुरुवाको मात्र होइन त्यहा कार्यरत कर्मचारी, चिकित्सकहरुको समेत सवारी साधन चोरी हुने गरेको छ । यसअघि प्रतिष्ठानबाटै ग१२प १९७९ नम्बरको स्कुटी, को४प २५७६ नम्बरको मोटसाइकल, को१७प २८६१ मोटरसाइकल चोरी भइसकेका छन् । तर ती मोटरसाइकल भेटिए भेटिएनन् अत्तोपत्तो समेत छैन ।
यस सम्बन्धमा प्रतिष्ठानको सुरक्षाको जिम्मेवारी लिइएको भिआइपी सेक्युरेटिी सर्भिसका निर्देशकलाई सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकेन । प्रतिष्ठानमा यसरी चोरीका घटना बढिरहँदा प्रतिष्ठानले पनि केही सोच्ने बेला आएको छ । बेलैमा सिसी क्यामेरा जोड्नुको विकल्प छैन ।