Hamro Koshi Aawaj

बुधबार, कार्तिक १२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा हत्या गरेर शव कार्पेटमा पोको पारेर फाल्ने समातिए

हाम्रो कोशी आवाज
कार्तिक १२ २०८३, बुधबार
सुनसरीमा हत्या गरेर शव कार्पेटमा पोको पारेर फाल्ने समातिए

धरानः प्रहरीले विगत ४० वर्षदेखि विराटनगरमा बस्दै आएका लालजीप्रसाद गुप्ताको हत्या आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ धरान रोडमा ‘लाल व्याट्री एण्ड सन्स टेडर्स’ सञ्चालन गर्दै आएका गुप्तालाई आफ्नै घरमा बोलाएर फलामको पाइपले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले मुख्य अभियुक्तसहित तीनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्रबहादुर खडकाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलन गरी घटनामा संलग्न रहेको आरोपमा विराटनगर महानगरपालिका–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम र शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा दुईजना नाबालकलाई सार्वजनिक गरेको हो । घटनामा संलग्न भनिएका नाबालकमध्ये एक भारतीय र अर्का नेपाली नागरिक हुन् । उनीहरू क्रमशः १३ र १६ वर्षका छन् ।
प्रहरीका अनुसार विराटनगर-६ स्थित माता इलेक्ट्रिकबाट पानी तान्ने मोटरको तार चोरी गरेको भन्दै गुप्ताले आलमबारे बजारमा कुरा फैलाएका थिए । आफूलाई चोरको आरोप लगाएर बदनाम गरेको भन्दै आलम गुप्तासँग रुष्ट बनेका थिए । यही विवादले दुई जनाबीच शत्रुता बढाएको र त्यसैको बदला लिन आलमले गुप्ताको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले हत्या गर्न प्रयोग गरिएको जीआई पाइप थान १, मृतक लालजीप्रसादले प्रयोग गर्ने मोबाइल थान १, शव बोक्नको लागि प्रयोग भएको कार्पेट थान १ समेत बरामद गरेको जनाएको छ । अनुसन्धानअनुसार कात्तिक ६ गते शुक्रबार दिउँसो आलमले गुप्तालाई आफ्नो घरमा बोलाएका थिए । घरमा पुगेपछि दुई जनाबीच विवाद भएको र त्यसक्रममा आलमले फलामको जीआई पाइपले गुप्ताको टाउकोमा प्रहार गरेको प्रहरीको भनाइ छ । प्रहारबाट गुप्ताको मृत्यु भएपछि घटनालाई लुकाउन आलमले दुई नाबालकको सहयोग लिएको हालसम्मको अनुसन्धानबाट खुलेको छ ।
हत्यापछि शवलाई कार्पेटमा पोको पारेर ओसारिएको र सुनसरीको बर्जु गाउँपालिका-२ भीमपुरस्थित केशलिया खोलाको किनारमा फालिएको प्रहरीले जनाएको छ । कार्तिक ८ गते आइतबार बिहान स्थानीयले खोलाको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव भेटिएपछि मोरङ र सुनसरी प्रहरीको संयुक्त टोलीले अनुसन्धान थालेको थियो । तालिमप्राप्त कुकुरको सहयोगमा प्रमाण संकलन गर्दै अघि बढेको प्रहरीले मंगलबार साँझ मुख्य अभियुक्त आलमलाई पक्राउ गरेको हो । चोरीको आरोपबाट शुरु भएको विवादले योजनाबद्धरूपमा हत्या र शव लुकाउने घटनाको रूप लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: कार्तिक १२ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend